काठमाडौं। तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको मिलनबिन्दु तीनजुरे–मिल्के–जल्जले क्षेत्रमा राष्ट्रिय लालिगुराँस पार्क बन्ने भएको छ। २८ प्रकारका गुराँस पाइने तिनजुरेमा राष्ट्रिय लालिगुराँस पार्क निर्माणका लागि प्रक्रिया अघि बढेको हो। तीनजुरेको ३० किलोमिटर बढी क्षेत्रफलमा गुँराससहित अन्य फूलहरु फैलिएका छन्। उक्त स्थान स्थानीय क्षेत्रमा प्रचलित भएपछि राष्ट्रिय रुपमा प्रचारप्रसार हुन सकेको छैन। प्रचारप्रसारको अभावले पर्याप्त पर्यटक भित्रिन सकेका छैनन्।
तेह्रथुमको लालिगुँरास नगरपालिकाले २०७९ बाट ‘गुँरास पार्क’ बनाउन सुरु गरे पनि प्राविधिक अध्ययन, अनुसन्धान विनै सुरु गरिएको पार्क निर्माणले तिव्रता पाएको छैन। तेह्रथुमबाट सांसद बनेकी सीता गुरुङ २०७९ चैत १७ मा सहरी विकास मन्त्री बनिन्। त्यसपछि उनले आफ्नो निर्वाचन क्षेत्रसँगै देशलाई चिनाउने गरी तिनजुरे क्षेत्रमा राष्ट्रिय स्तरको लालिगुँरास पार्क बनाउने कार्यलाई संघ सरकारबाटै प्राथमिकता दिन थालेकी थिइन्।
३ जिल्लालाई समेटेर पार्क बनाउन गुरुयोजना बनाउन लगिएको छ। गुरुयोजनामा धार्मिक, सांस्कृतिक तथा पर्यटकीयलगायत पक्षलाई ख्याल गरिने नयाँ सहर आयोजनाका निर्देशक अधिकारीले बताए।
तर, अहिले गुरुङ मन्त्री पदबाट हटिसकेकी छन्। यद्यपि सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको नयाँ सहर आयोजना समन्वय कार्यालयले पार्कको अध्ययन अघि बढाउन लागेको छ। नयाँ सहर कार्यालयका आयोजना निर्देशक एकराज अधिकारीका अनुसार राष्ट्रिय पार्क बनाउन परामर्शदाता छनोट र गुरुयोजना तयारी हुँदैछ। प्राविधिक रुपमा पनि उपयुक्त देखिएकाले परामर्शदाता छनोट गरेर पार्क निर्माणलाई प्राथमिकता दिने निर्देशक अधिकारी बताउँछन्।
परामर्शदाता र गुरुयोजना तयारीको काम २०८१ असारसम्म सम्पन्न गर्ने नयाँ सहर आयोजना कार्यालय लागिरहेको छ। तेह्रथुमको लालिगुँरास नगरपालिकाले गत वर्षबाट ‘गुराँस पार्क’ निर्माण सुरु गरेको छ। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा तिनजुरे क्षेत्र परेपछि नगरपालिकाले पार्क निर्माण सुरु गरेको नगरपालिका वडा नम्बर ७ का अध्यक्ष एवं नगर प्रवक्ता देवेन्द्र खड्का बताउँछन्।
तिनजुरेमा आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकको घुँइचो लाग्छ। साथै चाइनीज र युरोपेली देशका पर्यटक पनि ‘ट्रेकिङ’ जाने स्थलका रुपमा तिनजुरे क्षेत्र प्रख्यात छ। नगरले आफ्नै लगानीमा नगर क्षेत्र भित्र मात्रै पार्क निर्माण गर्दैछ। तर, नयाँ सहर आयोजनाले ३ जिल्लालाई समेटेर राष्ट्रियस्तरको पार्क बनाउन लागेको हो।
गत वर्ष नगारपालिकाले आफ्नो मात्रै बजेट प्रयोग गरेकामा चालू आर्थिक वर्ष संघ सरकारको नयाँ सहर कार्यालयले १ करोड रुपैयाँ बजेट दिएको प्रवक्ता खड्काले बताए। ५ वर्षभित्र पार्कमा आधारभूत काम सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ। ‘हामीले आफ्नै लगागनीमा पार्क बनाउन लागेका छौं यसमा संघले सहयोग गरेको छ, प्रदेश सरकारसँग मागे पनि बजेट पाएका छैनौं,’ प्रवक्ता खड्काले भने, ‘देशकै लागि महत्त्पवूर्ण पर्यटकीय स्थल बन्ने ठाउँलाई संघले अघि बढाउँदा हामी सहयोग गर्न तयार छौं।’
नगरपालिकाले पार्क बनाउन सुरु गरे पनि प्राविधिक अध्ययन नगरेको प्रवक्ता खड्काको भनाइ छ। ‘हामीले प्राविधिक अध्ययन नगरी पर्यटक आगमनलाई मध्यनजर गरेर पार्क बनाउँदै छौं, संघीय सरकारले अध्ययन गरेर अघि बढ्यो भने राम्रो हुन्छ’ उनले भने।
कस्तो बन्छ पार्क?
३ जिल्लालाई समेटेर पार्क बनाउन गुरुयोजना बनाउन लगिएको छ। गुरुयोजनामा धार्मिक, सांस्कृतिक तथा पर्यटकीयलगायत पक्षलाई ख्याल गरिने नयाँ सहर आयोजनाका निर्देशक अधिकारीले बताए। ‘कुनै पहिचान वा केही प्रजाति संरक्षण गर्न निश्चित क्षेत्र नै तोक्नुपर्छ। समग्र पक्षलाई समेटेर गुरुयोजना तयार गर्छौं,’ निर्देशक अधिकारीले भने। गुरुयोजना तयार गर्न चालू वर्ष कार्यालयले २० लाख रुपैयाँ बढी बजेट राखेको छ।
त्यस्तै पार्क बनाउने लगानीकर्ता खोज्न सहरी मन्त्रालयले वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रस्ताव पठाएको छ। मन्त्रालयले लगानी बोर्ड नेपालमा सम्मेलनमा आयोजना राख्न प्रस्ताव गरेको हो। प्रस्तावित राष्ट्रिय लालिगुँरास पार्क बनाउन ६ मिलियन (६० लाख) रुपैयाँ लाग्ने मन्त्रालयको भनाइ छ।
यद्यपि गुरुयोजना तयारपछि विस्तृत परियोजना प्रतिवेदन (डिरिआर) बनाएपछि मात्रै लागत रकमको यकिन विवरण प्राप्त हुनेछ।