काठमाडौं। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ नेताहरुले होलीको शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वाससहित होलीको शुभकामना दिएका छन्। उनले होली पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्ने बताएका छन्।
‘पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई-मधेसमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा (होलीपर्व)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,' शुभकामनामा उनले भनेका छन्, ‘होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण नेपालीहरूमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछु।’
त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले होलीले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वाससहित होलीको शुभकामना दिएका छन्। होलीले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने राष्ट्रपति पौडेलले शुभकामनामा उल्लेख गरेका छन्। यस पर्वले समाजका विकृति, विसंगति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने राष्ट्रपति पौडेलले बताएका छन्।
त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले आपसी समझदारी, सद्भाव, समरसता, मैत्रीभाव, अपनत्वभाव र समानताको प्रतीकका रूपमा रहेको होली पर्वले शालिनता, परस्पर मेलमिलाप र आत्मीयता अभिवृद्धि गर्ने अवसर दिएको भन्दै होलीको शुभकामना व्यक्त गरेका छन्। बहुआयामिक महत्त्व बोकेको यस पर्वका ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई नयाँ पिँढीमा हस्तान्तरण गर्ने र यसका सकारात्मकतालाई अंगीकार गर्दै यसलाई जीवन्त बनाउन आवश्यक रहेको उनले शुभकामनामा उल्लेख गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हिमाल, पहाड र तराईमा हर्षोल्लासका साथ मनाइने होली पर्वले पारस्परिक एकता र सामाजिक सद्भाव कायम राखेको बताउँदै होलीको शुभकामना व्यक्त गरेका छन्।
सभापति देउवाले अन्यायमाथि न्यायको सन्देश दिने फागुलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएका छन्। 'फागुपर्वमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपले विविधतापूर्ण रहेको छ, यही विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको छ, फागुपर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो', सभापति देउवाले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परम्परागत रूपमा मनाइने चाडपर्वले मौलिक संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै होलीको शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष नेपालले फागुपूर्णिमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण नेपाली समाजमा सबै जाति, समुदायका मौलिक विशेषता बोकेका पर्व, संस्कृतिको जगेर्नाबाट समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताएका छन्। सामाजिक एकता अभिवृद्धि, राष्ट्रिय एकतालाई बलियो बनाउने यस्ता पर्वले परम्परागत मौलिक पक्षका साथै राष्ट्रको गौरव बढाउने भन्दै उनले सबै समुदायका सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।