काटमाडौं। आज (आइतबार) होली पर्व अर्थात् फागुपुर्णिमा। विशेषगरी नेपाल र भारतमा एकअर्कालाई रङ दलेर मनाइन्छ। पछिल्लो समय विश्वव्यापीकरणका कारण अन्य देशमा समेत यो पर्व मनाइँदै आएको छ। अमेरिका, क्यानडालगायत मुलुकमा रहेका नेपाली तथा भारतीय मूलका नागरिकले होली पर्वलाई थोरै भए पनि महत्त्व दिएको पाइन्छ। साथै नेपाल आएका विदेशी पर्यटकले समेत यो पर्व रमाइलोका साथ मनाउने गरेका छन्।
नेपालमा होली पर्व दुई दिन मनाइन्छ। पहाडी क्षेत्रमा ‘फाल्गुन शुक्ल चतुदर्शी र तराई क्षेत्रमा ‘फल्गुन शुक्ल पूर्णिमा’को दिन मनाइन्छ। उक्त दुई दिनमा नेपालमा करिब २५ करोड रुपैयाँ बराबर चलायमान हुने गरेको व्यापारीहरु बताउँछन्। होलीमा मुख्यगरी रङ, टिशर्ट, लोला, प्लास्टिकलगायत सामानको कारोबार हुने गरेको छ। त्यसबाहेक मिठो खाने, रमाइलो गर्नेलगायतमा हुने खर्च जोड्दा २५ करोड रुपैयाँ आन्तरकि रुपमा एक व्यक्तिबाट अर्को व्यक्तिको हातमा पुग्ने व्यवसायी बताउँछन्।
होलीमा मुख्यगरी रङ, टिशर्ट, लोला, प्लास्टिकलगायत सामानको कारोबार हुने गरेको छ। त्यसबाहेक मिठो खाने, रमाइलो गर्नेलगायतमा हुने खर्च जोड्दा २५ करोड रुपैयाँ आन्तरकि रुपमा एक व्यक्तिबाट अर्को व्यक्तिको हातमा पुग्ने व्यवसायी बताउँछन्।
नेपालमा होलीको टिशर्ट मात्र १० करोड रुपैयाँभन्दा धेरैको बिक्री हुने नेपाल राष्ट्रिय व्यापार संघका अध्यक्ष खेमलाल खराल बताउँछन्। ‘होलीको टिशर्ट नेपाली उत्पादन हो। विराटनगरका उद्योगबाट कपडा आउँछ र भोटेबहालतिरका उद्योगहरुमा बन्छ,’ उनले भने। खरालका अनुसार होलीको टिशर्ट सिलाउन तथा प्रिन्ट गर्न १/२ महिना अघिदेखि नै सुरु गरिन्छ।
टिशर्टको कपडाको गुणस्तर, सिलाउन तथा प्रिन्ट गर्न लागेको लागतअनुसार बजार मूल्य तोकिन्छ। खरालका अनुसार ७० रुपैयाँदेखि ४/५ सय रुपैयाँसम्मकै टिशर्ट पनि बजारमा छन्। नेपालभर होलीको दुई दिनमा ६ देखि ७ लाख टिशर्ट बिक्री हुने अनुमान खरालको छ। ‘एउटा टिशर्टको न्यूनतम मूल्य १ सय ५० रुपैयाँ राख्दा पनि करिब १० करोड ५० लाखको टिसर्ट बिक्री हुन्छ,’ उनले भने। यो पर्वले केही महिनाका लागि भए पनि राम्रो रोजगारी सिर्जना गरेको उनको भनाइ छ।
होलीकै लागि बजारमा १५ सय रुपैयाँसम्म पर्ने वाटरगन (पिच्कारी) उपलब्ध रहेका खेलौना सप्लायर्सका नवीन पन्नाचन बताउँछन्। ‘सामान्य १००/२०० देखि १२/१५ सय रुपैयाँसम्मका वाटरगन पाइन्छन्,’ उनले भने, ‘यो अधिकांश बच्चाहरुले मात्र प्रयोग गर्ने हुनाले धेरै बिक्री हुँदैन। सबै गरेर २/४ करोडको बिक्री त हुन्छ होला,’ उनले भने।
होलीमा प्लास्टिक, बेलुन र रङलगायत पनि बिक्री हुन्छ। प्लास्टिक, रङ र बेलुन बिक्री पनि ५ देखि ७ करोड रुपैयाँको हुने अनुमान व्यापारीहरुको छ। समग्रमा दुई दिनमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब २५ करोड रुपैयाँको कारोबार हुने व्यवसायीको अनुमान छ।