काठमाडौं। हाल ७३ प्रतिशत जनसंख्याले शुद्ध खानेपानी सुविधा नपाएको तथ्यांक खानेपानी तथा सरसफाइ मन्त्रालयले सार्वजनिक गरेको छ। कुल जनसंख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानी पहुँच पुगेको मन्त्रालयको तथ्यांकले देखाएको हो।
खानेपानीका स्रोत बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिमा बढी प्रदूषित हुने भएकाले जनस्वास्थ्यमा असर पुगेको मन्त्रालयको भनाइ छ। सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्यांकीका कारण पानीको स्रोतमै आइरनलगायत खनिजको कमी रहेको बताइएको छ।
जनचेतना अभावका कारण पानी शुद्धीकरण नगरी पिउने, फिल्टर नगर्नेलगायत कारणले जनस्वास्थ्यमा गम्भीर असर पुगेको चिकित्सकले बताउँदै आएका छन्।
‘गुणस्तरीय खानेपानीको पहुँच वृद्धि गर्न मन्त्रालयले प्रयास गरिरहेको छ। १२० वर्षदेखि बिछ्याइएका खानेपानीका पाइपलाइनबाट पानी वितरण गरिने भएकाले पानीको स्रोत नै प्रदूषित हुँदा गुणस्तरीय पानी वितरणमा समस्या देखिएको छ’, मन्त्रालयका उप–सचिव मधु तिमल्सेनाले भने।
मेलम्ची खानेपानी आयोजनाको पानी विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप नै रहेकाले ढुक्क भएर पिउँदा हुने उनले बताए।जमिनमुनिको पानीमा आइरन बढी हुने भएकाले परीक्षण गरेर मात्रै पिउनुपर्ने सुझाव उनको छ।
गुणस्तरका हिसाबले नयाँ खानेपानी आयोजनामा भन्दा पुराना आयोजनामा आइरन बढी हुने गरेको परीक्षणका क्रममा थाहा लागेको उनले जानकारी दिए।
दूषित पानी प्रयोगकै कारण पखाला, बान्ता, आउँ, हैजा, कमलपित्त, टाइफाइडलगायत रोग संक्रमण देखा पर्नुका साथै हेपाटाइटिस ‘ए’ र ‘ई’को जोखिम बढी हुने चिकित्सक बताउँछन्।
दूषित पानीका कारण जनस्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन सक्ने भएकाले यसबारे सचेत भई पानी शुद्धीकरण गरेर वा उमालेर मात्र पिउनुपर्ने सरुवा रोगविद् डा. शेरबहादुर पुनको सुझाव छ।
‘दूषित पानी जहिले पनि समस्याका रुपमा देखिन्छ। दूषित पानीकै कारण पखाला, हैजा तथा ज्वरो आउने समस्या देखा पर्दछ’, उनले भने, ‘२० वर्षअघि पनि प्रदूषित पानीका कारण मानिसको हैजा लागेर मृत्यु हुने गर्दथ्यो । अहिले पनि दूषित पानीका कारण मानिसले ज्यान गुमाउनु परेको छ।’
स्थानीय स्तरमा दूषित पानीबाट हुने स्वास्थ्य समस्याबारे जनचेतना जगाउने, पानी शुद्धीकरणका जानकारी दिनेलगायत कार्यक्रम चलाउनुपर्ने उनको धारणा छ। बाढीपहिरोजस्ता मनसुनजन्य विपत्तिमा पानी बढी दूषित हुने पुनले जानकारी दिए।
‘दूषित पानी प्रयोग गर्दा ‘फिब्रियो कलेरा’ नामक कीटाणुका कारण हैजा हुन्छ। हैजा भए शरीरको पानी र लवण अत्यधिक मात्रामा दिसाको माध्यमबाट शरीरबाहिर जाँदा शरीरका अधिकांश अंगले काम गर्न सक्दैनन्। यसरी शरीरमा पानीको कमी हुँदा मानिसको ज्यानै जान सक्छ’, पुनले भने।
जनगणना २०७८ अनुसार कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये खानेपानीको मुख्य स्रोतका रुपमा धारा÷पाइप (घर परिसरभित्र) प्रयोग गर्ने ३४.६ प्रतिशत र धारा÷पाइप (घरपरिसर बाहिर) २२. ४ प्रतिशत, ट्युबवेल/हातेपम्प २९.८ प्रतिशत, ढाकिएको इनार/कुवा १.५ प्रतिशत छन्। यसैगरी मूल धारा ३.९ प्रतिशत र जार÷बोतलको पानी प्रयोग गर्ने ४.६ प्रतिशत परिवार छन्।
संविधानले मौलिक हकका रुपमा स्वच्छ खानेपानी सबैले पाउनुपर्ने व्यवस्था गरेकाले हक प्रभावकारी कार्यान्वयन नभएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ अध्यक्ष राजेन्द्र अर्यालले बताए। उनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमै गुणस्तरीय खानेपानीको पहुँचसम्बन्धी कार्यक्रमलाई प्रथामिकता दिन सुझाए।