काठमाडौं। दोलखाका सुदर्शन शिवाकोटीलाई बच्चा बेला कपडा किन्न जाँदा पसलको वास्ना खुबै मनपथ्र्यो। उबेला कपडादेखि खाद्यान्न पाउने पसल पुग्दा उनले भविष्यमा व्यापार गर्ने र पछि उद्योग नै चलाउने अठोटसहितको संकल्प लिन्थे। पसल साहूका सुकिला कपडा, पैसा राख्ने गल्लालगायतले पनि उनलाई व्यापारप्रति लालायित बनाएको थियो।
सुदर्शनको व्यापार गर्ने संकल्प अहिले पूरा भएको छ। काठमाडौंको मैतीदेवीमा उनको ब्याग उद्योग र पसल छ। उनले त्यहाँ २०/२२ जनालाई रोजगारीसमेत दिएका छन्। करिब ५ करोड पुँजीको उद्योगमा स्कुल ब्याग, ल्यापटप ब्याग, कलेज ब्याग, ट्रेकिङ ब्याग उत्पादन हुने गरेको छ। उनी अमेरिकन टुरिस्टर र सफारी सुटकेसको आधिकारिक बिक्रेतासमेत हुन्।
सुरुआती समयदेखि नै उनका माइला भाइले उद्योग सञ्चालनमा सघाइरहेका छन् भने २०६३ देखि कान्छा भाइले भारतको नयाँ दिल्लीमा पनि ब्याग उद्योग सञ्चालन गरिरहेका छन्। उनीहरूको नयाँ दिल्लीको उद्योगमा ७०/८० जनालाई रोजगारी दिँदै आएका छन्। नयाँ दिल्लीको ब्याग उद्योगमा नेपालीसहित भारतीयसमेतले रोजगारी पाइरहेको सुदर्शन बताउँछन्।
सुदर्शनले ब्याग उद्योग तथा व्यापारमा पाएको यो सफलताका पछाडि संघर्षका पहाड पनि छन्। उनले उद्योग, व्यापारमा जति सफलता पाएका छन्। त्योभन्दा सयौं गुणा संर्घषलाई बेहोरेका छन्/भोगेका छन्।
२०४८ मा एसएलसी दिएपछि नतिजा प्रकाशित हुँदा गणितमा फेल भएपछि उनी ट्युसन पढ्न दोलखाबाट काठमाडौं हान्निए। ३ महिना ट्युसन पढेपछि दोलखा गएर कम्पार्ट दिए र उत्तीर्ण पनि भए। त्यसपछि सुदर्शनले उच्चशिक्षा अध्ययन र केही व्यवसाय गर्ने सोचसहित कर्मभूमि काठमाडौंलाई बनाउने अठोट लिए र राजधानी आए।
काठमाडौं त आए तर काम के गर्ने। उनीसँग व्यवसाय गर्ने पैसा थिएन। पढाइलाई निरन्तरता दिनुपर्ने थियो। घरव्यवहार पनि सुदर्शनकै काँधमा थियो। ‘त्यतिबेला गाउँका साथीभाइले ब्याग बेच्ने काम गर्थे। मैले पनि त्यही काम गर्ने निर्णय गरें,’ उनले भने।
उनका लागि व्यापार नौलो भने थिएन। १२ वर्षको उमेरदेखि नै दोलखा बजारबाट सुर्ती, चुरोट, बिँडी, साबुनलगायत सामान ल्याएर घरको सन्दुकमा राखेर बेच्थे, सुदर्शन। सन्दुक व्यापारले नाफा दिएसँगै गाउँबाट सस्तोमा कुखुरा किनेर दोलखा भीमसेन मन्दिर दर्शनमा आउनेलाई महँगोमा बेच्न थाले।
सानैमा आमाको निधन भएको र आफ्ना चार भाइबहिनाको जिम्मेवारी पूरा गर्नुपर्ने अभिभाराका कारण उनले व्यापारलाई निरन्तरता दिए। कहिले घाटा बेहोर, कहिले नाफा। सुदर्शनलाई सन्दुक व्यापार अनुभवका कारण पनि काठमाडौंको ब्याग व्यवसाय र उद्योग सञ्चालन गर्न केही सहज भयो।
‘म न्युरोडको कैलाश ब्याग इन्डस्ट्रीबाट ब्याग लिन्थें। गल्ली–गल्ली डुलाएर बेच्थें र नाफा राखेर कम्पनीको पैसा तिर्थें। यसरी डुल्दा सायद उपत्यकामा म नहिँडेको कुनै गल्ली छैनन् होला,’ उनले विगत सम्झिए।
यो बेला उनले आरआर क्याम्पसमा आईए पढ्दै पनि थिए।
‘डल्लुमा कोठा लिएर हामी ५÷६ जना सँगै बस्थ्यौं भने सबैले ब्याग बेच्ने काम गथ्र्यौं। हामी २/२ जनाको टिम बनाएर ब्याग बेच्न हिँड्थ्यौं। क्याम्पसमा रात्रि कक्षा भएकाले क्यान्टिनमा ब्याग राखेर पढ्न जान्थें। कक्षा सकिएपछि राती पुनः ब्याग बोकेर हिँड्दै डल्लु फर्किन्थें,’ उनले क्यापिटल नेपालसँग भने।
उनीहरू व्यापारका सिलसिलामा उपत्यका मात्र नभई बाहिर पनि जान्थे। व्यापारका लागि बाहिर जाने उनीहरूको गन्तव्य काठमाडौंदेखि मुग्लिनसम्म हुने गथ्र्यो। कहिलेकाहीँ बीच बाटोमा अडिएर पनि ब्याग बेच्थे।
उनीहरू मुग्लिनसम्म सार्वजनिक यातायातमा जान्थे। कुनै बेला त मुग्लिनबाटै हिँडेर नागढुंगासम्म ब्याग बेचेको स्मरण गर्छन्, सुदर्शन। नौबिसेमा कुनै होटलमा एक दिन बसेर त्यहाँबाट थानकोटसम्म ब्याग बेच्दै आउँथे। सुदर्शनले व्यापारमा सक्रिय भए पनि पढाइ भने छाडेनन्।
दिनभरि ब्याग बेच्न डुलेपछि बेलुका सीधै आरआर क्याम्पस दौडिन्थे र क्यान्टिनमा सामान थन्काएर कक्षा लिन्थे। ब्याग बेच्न गाडी चढेर पोखरासम्म पनि पुगेको अनुभव उनीसँग छ। २०५१ तिर सुदर्शन साथीहरूसहित ब्याग बेच्नकै लागि पोखरा गए। सबै ब्याग बेच्दा उनीहरूलाई ४÷४ हजार फाइदा भयो। दसैंपछि पोखरा गएका उनीहरूलाई अर्को बिजनेस आइडिया फुरेछ।
‘नाफाको पैसाले तिहारका लागि बिमिरो किनेर काठमाडौं लगेर बेच्ने सोच्यौं। ८ हजारको बिमिरो किनेर काठमाडौं ल्याइपुर्याउँदा सबै बिमिरोका भेट्न भाँचिएका रहेछन्। भेट्नु नभएको बिमिरो पूजामा नचल्ने। हामी दुवैको पैसा डुब्यो,’ उनले भने।
करिब ४ वर्ष सडकमा डुल्दै ब्यापार गरेपछि उनलाई खुट्टा दुख्ने समस्या आयो। त्यसपछि उनले व्यापार छाडेर ब्यागको होलसेल मार्केटिङ जागिर थाले। यसबाट उनले होलसेल व्यापारको अनुभव हासिल गरे। ‘आफैंले व्यापार गरेभन्दा जागिरमा कमाइ कम भए पनि मैले त्यसबाट धेरै कुरा सिक्ने अवसर पाएँ। मैले होलसेल मार्केटिङमा करिब १ वर्ष काम गरें,’ उनले भने।
ब्यागको रिटेलदेखि होलसेल बजार राम्रोसँग बुझेपछि आफैंले ब्याग उत्पादन गर्ने योजना बनाए, सुदर्शनले। योजना त बनाए तर लगानी गर्ने पर्याप्त पँुजी थिए। उनले आफ्नो योजना बुबालाई सुनाए। ‘बुबासँग पैसा रहेछ। मलाई ५२ हजार रुपैयाँ हातमै दिनुभयो। त्यसपछि म र भाइ मिलेर बागबजारमा २ वटा कोठा लियौं। २ जना कालिगढ र २ वटा मेसिन किनेर २०६५ देखि शिवाकोटी ब्याग उद्योग सञ्चालनमा ल्याएका हौं’, उनले उद्योग खोल्दाको बेलिविस्तार लगाए।
दाजुभाइ उत्पादन तथा बिक्रीमा दिन रात खटिन्थे। कालिगढसँगै बस्थे। उनको उद्योगले खुद्रा र होलसेल दुवै व्यापारीलाई सामान बिक्री गर्दै आएको छ। सुदर्शन दाजुभाइको व्यापार दिनप्रतिदिन उचालिँदै गयो। ब्यागको माग देशभरबाट आउन थाल्यो। यो सफलता देखेर उनका कान्छा भाइले शिवाकोटी ब्याग उद्योगलाई भारतमा पनि विस्तार गर्ने योजना बनाए र नयाँ दिल्लीमा उद्योग खोले।
शिवाकोटी ब्याग उद्योगका पुराना कालिगढ अझै पनि उनीहरूको लागि आउट सोर्सिङको काममा जोडिइरहेका छन्। अहिले उनी आफ्नो प्रगतिमा सन्तुष्ट छन्। त्योभन्दा बढी रोजगारी सिर्जना गर्नुलाई सफलता ठान्छन्। ‘२/४ पैसा कमाएँ। २÷४ जनालाई रोजगारी दिएँ। त्यो नै मेरा लागि सफल उद्यम हो। त्यो बेला म विदेश गएको भए आफंैले मात्र कमाउँथें होला। नेपालमै संघर्ष गरेर धेरै जनालाई गरिखाने बाटो दिएको छु। यसमा सन्तुष्ट छु। यही नै मेरो प्रगति हो,’ उनले भने।