काठमाडौं। विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा सहभागी हुन नेपाल आउने भएका छन्।
विश्व बैंकका उपाध्यक्षत्रय रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनसँग बिहीबार राति भएको भर्चुअल बैठकमा अर्थमन्त्री वर्षमान पुनले रेजरलाई लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेका थिए।
औपचारिक रुपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै मन्त्री पुनले लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रुपमा पनि निम्तो दिएका हुन्।
जवाफमा रेजरले निमन्त्रणाका लागि धन्यवाद दिँदै लगानी सम्मेलनमा सहभागी हुने बताए। उनले अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत लगानी सम्मेलनमा आउन प्रोत्साहित गर्ने वचन दिए।
‘मलाई निमन्त्रणा गर्नुभएकोमा धन्यवाद दिन्छु र काठमाडौंमा भेट्ने वाचा गर्छु’, मन्त्री पुनसँग रेजरले भने। उपाध्यक्ष रेजरले लगानी सम्मेलनका क्रममा नेपालका अधिकारीसँग हुने औपचारिक एवं अनौपचारिक भेटमा नेपाल र विश्व बैंकबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताए।
अर्थमन्त्रीले नेपालले वैदेशिक लगानीसहित निजी क्षेत्रको भूमिका र पुँजी परिचालनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे।उनले लगानी सम्मेलनका लागि आवश्यक कानुनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी दिए। सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको र विश्व बैंकसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
तेस्रो लगानी सम्मेलन आगामी २०८१ वैशाख ९ र १० मा काठमाडौंमा हुँदै छ।