काठमाडौं। पछिल्लो समय कफी कल्चर बढ्दो छ। महत्त्वपूर्ण भेटघाट होस् वा समय व्यतीत गर्न होस्। लोकप्रिय र सबैको रोजाइमा अहिले कफी बनिसकेको छ।
केही वर्षअघिसम्म काठमाडौं, पोखरासहित पर्यटकीय क्षेत्रमा मात्र बग्रेल्ती देखिने कफी सप अहिले गल्लीगल्लीमा भेटिन थालेका छन्। अहिले चियासँगै कफी पारखीको संख्यामा समेत बढोत्तरी भएको छ। यसलै नेपालमा कफी प्रयोग बढ्दो छ। विस्तार हुँदो छ।
जताततै कफी सप देखिरहँदा नेपालमा वर्षको कति कफी खपत हुन्छ भन्ने धेरैलाई चासो रहन सक्छ।
नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीका अनुसार गत वर्ष करिब २५ सय मेट्रिक टन कफी नेपालभित्र खपत भएको छ। यो भनेको २५ लाख केजी हो। ‘ठ्याक्कै तथ्यांक हामीसँग छैन,’ अध्यक्ष अधिकारीले भने, ‘राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र हामीले निकालेको अनुमानित तथ्यांकअनुसार वार्षिक २१ देखि २५ सय मेट्रिक टन कफी खपत भइरहेको छ।’
१७ सय मेट्रिक टन कफीमा विदेशको भर
नेपालमा कफी माग बढिरहेका बेला उत्पादन भने खुम्चिदै गएको छ। कफी खपत बढ्दै गए पनि हालसम्म वार्षिक करिब ४ सय मेट्रिक टन मात्रै उत्पादन हुँदै आएको छ। यसरी हेर्दा बजारमा खपत हुने कफीमध्ये २१०० मेट्रिक टन कफी विदेशबाट निर्यात भइरहेको छ।
बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक २०७९/८० मा ३९४ मेट्रिक टन मात्र कफी उत्पादन भएको छ। ३ हजार ६५५ हेक्टर क्षेत्रफलमा कफी खेती भएको छ। यो वर्ष ५० मेट्रिक टन कफी उत्पादन वृद्धि हुने प्रक्षेपण छ। चैत अन्तिमसम्म कफी टिप्ने समय भएकाले पनि यो आर्थिक वर्षको तथ्यांक आइनसकेको बोर्डले जनाएको छ।
आर्थिक वर्ष २०७९/८० मा ३२ करोड ५८ लाख ६६ हजार रुपैयाँको कफी आयात भएको छ। आव २०७८/७९ भन्दा गत आवमा १९ करोड ८३ लाख रुपैयाँ बढी कफी आयात भएको छ।
बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराई नेपालमा कफी आयातका साथै निर्यात पनि भइरहेको बताउँछन्। आर्थिक वर्ष २०७९/८० मा १३ करोड ४ लाख ७७ मेट्रिक टन निर्यात भएको र आव २०७८/७९ मा ११ करोड ७० लाख मूल्य बराबरको कफी निर्यात भएको उनले जानकारी दिए।
भट्टराईका अनुसार नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलरमा बिक्री हुँदै आएको छ। आर्थिक वर्ष २०७१/७२ मा २३ सय ८१ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदा ४६३ मेट्रिक टन ग्रीनविन कफी उत्पादन भएको थियो।
बोर्डका अनुसार अहिले गुल्मी, पाल्पा, अर्घाखाँची, काभ्रे, ललितपुर, तनहुँ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वतलगायत करिब ३२ जिल्लामा कफीको व्यावसायिक खेती हुँदै आएको छ।
अमेरिका, जर्मन र कोरियाबाट उच्च माग
संघ अध्यक्ष अधिकारीका अनुसार नेपाली कफी माग विदेशमा अत्यधिक रहेको छ। तर, मागअनुसार पु¥याउन सकिएको छैन। नेपालमा उत्पादित अधिकांश कफी अहिले अमेरिका, जर्मन, दक्षिण कोरिया, जापानलगायत मुलुकमा निर्यात हुँदै आएको छ। तर, मागअनुसार कफी पठाउन नसकिएको अध्यक्ष अधिकारीले बताए।
नेपालको एक केजी ग्रीनविन कफी न्यूनतम १५ डलरदेखि ५० डलरसम्म बिक्री हुँदै आएको छ। ८ सयदेखि १६ सय मिटर उचाइमा कफी फल्छ। विसं १९९५ मा गुल्मीको आँपचौरबाट नेपालमा कफी खेती सुरु भएको थियो।
यस्तो छ कफीको न्यूनतम मूल्य
बोर्डले आर्थक वर्ष २०७९/८० का लागि कृषक स्तरमा उत्पादित काँचो कफिीको न्यूनतम सहमत मूल्य निर्धारण गरेको छ। सहमत मूल्यअनुसार फ्रेस चेरी कफी ग्रेड ’ए‘को प्रतिकेजी ८५, फ्रेस चेरी कफी ग्रेड ’बी‘को ८५, पार्चमेन्ट कफी ग्रेड ’ए‘को ४७५, ग्रेड ’बी‘को ४२०, ड्राई चेरी कफी ग्रेड ’ए‘को १७० र ग्रेड ’बी‘को ११४ रुपैयाँ छ।