काठमाडौं। ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी १११ शाखामार्फत एकैसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
बैंकले ग्लोेबल मनी विक २०२४ अवसर पारेर देशव्यापी रुपमा आयोजित वित्तीय साक्षरता कार्यक्रममा १४ हजार बढी कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवती सहभागी थिए।
बैंकले आफ्ना ३५४ वटै शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवरद्धन कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयमा सहभागीलाई जानकारी गराइएको बैंकले जनाएको छ।
बैंकले हाल ३५४ शाखा, ३७९ एटिएम, २७७ शाखारहित इकाइ, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।