काठमाडौं। नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई स्वागत तथा बधाइ दिएको छ। आज पर्यटन मन्त्रालयका सचिव तथा बोर्ड अध्यक्ष डा. दीपक काफ्ले तथा निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले मन्त्री तामाङलाई स्वागत गरेका हुन्।
कार्यक्रममा मन्त्री तामाङले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सुधार गर्न मन्त्रालय तयार रहेको बताउँदै बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवर्द्धनका काम गर्न आग्रह गरे।
पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीतिअनुुरुप क्रमशः काम गर्दै अघि बढ्ने उल्लेख गर्दै मन्त्री तामाङले मन्त्रालयले रचनात्मक कार्यका लागि सरोकारवालासँग सहकार्य गरेरै अघि बढ्ने बताए।
‘केही नीतिगत विषय छन्। त्यसलाई क्रमशः सुधार गर्दै लगिनेछ। रिक्त बोर्ड सदस्य नियुक्तिदेखि कार्यकारी प्रमुखको छनोटलगायतका सबै काम प्रक्रियामा छन्। सबै काम छिट्टै टुंगिन्छन्’, उनले भने।
मन्त्रालयका सचिव तथा बोर्ड अध्यक्ष काफ्लले पर्यटन प्रवर्द्धनका लागि बोर्डलाई थप चलायमान बनाउन आवश्यक रहेकामा जोड दिए। उनले सबैले आफ्नो जिम्मेवारी सही रुपमा वहन गरे संस्थागत उद्देश्य तथा लक्ष्य हासिल गर्न सकिने बताए।
बोर्डका कार्यकारी सदस्य मदन आचार्यले पर्यटनमा निजी क्षेत्रको अर्बौं लगानी भइसकेको अवस्थामा निजी क्षेत्रमैत्री कानुन र सोहीअनुरुपको सहकार्य आवश्यक भएको धारणा व्यक्त गरे।
बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले पर्यटन विकासका निम्ति गठित बोर्डको अवधारणा, भइरहेका गतिविधि तथा भावी कार्यक्रमबारे जानकारी दिँदै विदेशका आयोजना गरिने विभिन्न कार्यक्रम कार्यविधि नहँुदा प्रभावित भएकाले सहजीकरण गरिदिन मन्त्री तथा सचिवसँग आग्रह गरे।