काठमाडौं । सतुंगलका किरण थापाले कलङ्की–नागढुङ्गा सडक पिच भएपछि सहज रुपमा यात्रा गर्न पाउँदा खुशी भएको बताए । ‘विगतमा सडकमा धूलो, हिलो र खाल्डाखुल्डीले निकै सास्ती हुन्थ्योे’ उनले भने, ‘अहिले सडक पिच हुँदैछ । पहिलाकोभन्दा केही सहज भएको छ ।
सडक फराकिलो बनेपछि पहिलेजस्तो जाम पनि कम हुँदै गएको अर्का स्थानीय सुनिल केसी बताउँछन् । ‘पहिले पहिले त नागढुङ्गाबाट कलङ्की आइपुग्दा जामले एक/डेढ घण्टा लाग्थ्यो’ अहिले अहिले जाम कम हुँदै छ, छोटो समयमै खुलिहाल्छ । २०/२५ मिनेटमै कलङकी पुग्न सकिन्छ ।’
थापा र केसीजस्तै चन्द्रागिरी नगरपालिकाका कलङ्की–नागढुङ्गा सडक आसपासका स्थानीयहरुले अहिले ढिलै भएपनि नागढुङ्गा सडक बनेपछि राहत महसुस गरेका छन् । राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने ‘लाइफ लाइन’को रुपमा रहेको यस सडकको स्वरुप बदलिँदै गएको छ ।
अहिले सडकको कालोपत्रे, ढलान र फिनिसिङको काम धमाधम भइरहेको छ । दायाँ र बायाँ गरी ११/११ मिटर चौडा हुने गरी यो सडक विस्तार भइरहेको छ । अहिले सडक विस्तारको अधिकांश काम सकिएको कलङ्की–नागढुङ्गा सडक निर्माण आयोजना प्रमुख अर्जुन अर्यालले बताए ।
उनले करिब ९०० मिटरमा पिच गर्ने काम बाँकी रहेको बताए । थानकोट चेक पोष्टमा ४०० मिटर पिच गर्ने काम अलकत्राको अभावले रोकिएको उनले बताए । अलकत्रा आएपछि दुइदिनभित्र उक्त खण्ड पिच गरिने उनको भनाई छ ।
त्यस्तै, सतुंगल र सीजी एरियामा खाल्डाखुल्डी पुर्ने र ढलानको काम भइरहेको उनले बताए । कुल १२.५ किलोमिटर सडक निर्माण चारओटा कम्पनीले जेभीमा ठेक्का लिएर गरिरहेका छन् ।
बज्रगुरु विरुवा सीएम, शर्मा/शैलुङ जेभी, लुम्विनी/शैलुङ जेभी, शर्मा/शैलुङ जेभीले चार खण्डमा काम गरिरहेका छन् । चारओटा कम्पनीले १ अर्ब ६४ करोडको ठेक्का सम्झौता पाएका थिए । हालसम्म सडक निर्माणमा सवा १ अर्ब खर्च भइसकेको छ ।
असार मसान्तभित्रै कलङ्की–नागढुङ्गा सडक विस्तार गर्ने सडक विभागको लक्ष्य छ । वर्षा सिजन सुरु भएकाले सडक कालेपत्रे र अन्य काम गर्न अप्ठ्यारो हुने र केही समय बढी लाग्ने अर्यालले बताए । आगामी दसैंभित्र सडक निर्माणको सवै काम पूरा हुने प्रमुख अर्यालले बताए । ‘दसैंसम्म सडकको सवैजसो काम सकिन्छ’ उनले भने, ‘त्यसपछि अहिले भएको जस्तो जाम हुँदैन् ।’
अहिले दैनिक सडक ढलान, फिनिसिङको काम तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ । सडक विस्तार र निर्माणमा ९० प्रतिशत प्रगति भएको छ ।
लामो समयदेखि सडक विस्तार गर्न खनिएका सडकका कारण घाम लाग्दा धूलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका कलङ्की–नागढुङ्गा सडक खण्ड आसपासका बासिन्दा सडक पिच हुन लागेसँगै धूलो हिलोबाट मुक्त हुने विश्वासमा छन् ।
विक्रम सम्बत २०३३ सालमा सडक विस्तारका लागि मुआब्जा वितरण गरिएको भएपनि सरकारले पुनः ३/३ मिटर सडक फाराकिलो गर्ने भनेपछि विभिन्न विवादका कारण सडक विस्तार कार्य अवरोध हुँदै आएको थियो ।
तस्बिरः नाजिया श्रेष्ठ