काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उदयपुर र हेटौंडा सिमेन्ट उद्योगको घाटा न्यूनीकरण हुने गरी जतिसक्दो चाँडो निर्णय गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले उदयपुर र हेटौंडा सिमेन्टको गुणस्तर तथा बजारीकरणमा कुनै कमी नभए पनि त्यसले बेहोर्नुपरेको घाटाबारे अध्ययन गरेर निर्णयमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘गुणस्तर, बजारीकरण र प्रविधिमा कुनै समस्या छैन तर यी दुई सिमेन्ट उद्योगको वर्तमान अवस्था निराशाजनकै छ। यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। यथास्थितिमै यी उद्योगलाई राखिराख्नु हुँदैन। सरकारले छिट्टै निर्णय गर्नेछ’, उनले भने।
सरकारले सञ्चालन गरेका उद्योगलाई थप बलियो बनाउँदै बिदेसिएको जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने मन्त्री भण्डरीको भनाइ छ। सरकारले समृद्ध नेपालको आकांक्षा पूरा गर्ने गरी दु्रत गतिमा काम गरिरहेको उनले बताए।
बैठकमा समिति सदस्य लालप्रसाद साँवा लिम्बूले सरकारले घाटामा रहेका दुई सिमेन्ट उद्योग सञ्चालन गरेर नाफामा लैजान योजनासहित अगाडि बढ्नुपर्ने सुझाव दिए।
सांसद रमा कोइराला पौड्यालले निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योग फस्टाउँदै जाने तर सरकारले सञ्चालन गरेका सिमेन्ट उद्योग घाटामा जानुको कारण सरकारले गम्भीर समीक्षा गर्नुपर्ने बताइन्। सरकारले सञ्चालन गरेका उद्योग बन्द हुनु नहुने उनको धारणा छ।
‘उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको वर्तमान अवस्थाको विश्लेषण र भावी कार्यदिशा’ विषयमा अध्ययन गर्न गठित समितिले सरकारी स्वामित्वकाअ हेटौंडा र उदयपुर सिमेन्ट उद्योग दुवैलाई गाभेर नयाँ रुपमा सञ्चालन गर्न सकिने विषय विगतको बजेट वक्तव्यमा पनि उल्लेख भएको जनाउँदै त्यस सम्बन्धमा अध्ययन कार्य अघि बढाउन सुझाव दिएको छ।