काठमाडौं। नेपाल पर्यटन बोर्डले भारतीय सीमा क्षेत्र (क्रस बोर्डर टुरिजम्)मा नेपालको पर्यटन प्रवर्द्धन गर्न पश्चिम बंगालका पर्यटन व्यवसायीसँग छलफल गरेको छ।
छलफलमा क्रस बोर्डर पर्यटन प्रवर्द्धनमा जोड दिन सके यसबाट दुवै देशले फाइदा लिन सक्ने व्यवसायी तथा बोर्ड अधिकारी बताए।
८औं बंगाल ट्राभल मार्ट (बिटीएम–२०२४) को प्रचार–प्रसार तथा नेपाली व्यवसायीसंग अन्तरक्रियाका लागि नेपाल आएको सिलिगुडीस्थित इस्टर्न हिमालय ट्राभल्स एन्ड टुर एसोसिएसन (इथवा) का पदाधिकारीसँग बुधबार बोर्डमा अन्तरक्रिया आयोजना गरिएको हो।
इथवाको आयोजनामा सेप्टेम्बर १४ देखि १५ तारिखसम्म सिलिगुडीमा ८औं बंगाल ट्राभल मार्ट (बिटीएम–२०२४) हुँदै छ।
छलफलमा बोर्डका प्रबन्धक सूर्य थपलियाले पश्चिम बंगाल र खासगरी दार्जिलिङ, सिक्किमलगायत क्षेत्रबाट पूर्वी नेपालमा घुम्न आउने तथा नेपालबाट त्यता जाने पर्यटकको संख्या बढिरहेको सन्दर्भमा थप प्रचार–प्रसार र सहजीकरण गर्न सके तेस्रो मुलकका पर्यटकबाट दुवै देश लाभान्वित हुने बताए।
बोर्डका अर्का प्रबन्धक सुमन घिमिरेले नेपालले क्रस बोर्डर पर्यटनलाई जोड दिँदै नेपाल–भारत सीमा क्षेत्रमा विभिन्न मार्ट आयोजना गरिँदै आएको जानकारी दिए।
इस्टर्न हिमालय ट्राभल्स एन्ड टुर एसोसिएसन (इथवा) का अध्यक्ष देवाशीष मिश्राले क्रस बोर्डर पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै तेस्रो मुलुकका पर्यटकबाट लाभ लिन दुवै देशबीचका सीमा क्षेत्रमा अध्यागमन सुविधा अपरिहार्य रहेकामा जोड दिए।
इथवाका महासचिव सन्दीपन घोषले सिलिगुडीमा आयोजना हुन लागेको बंगाल ट्रार्भल मार्ट (बिटीएम–२०२४) मा नेपालको सहभागिताले नेपालको पर्यटन पवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पश्चिम बंगालको टोलीले काठमाडौं वरपरका चन्द्रागिरि, नगरकोट तथा पोखरा, चितवनलगायत पर्यटकीय स्थल भ्रमण तथा ती स्थानमा व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको इथवा साहसिक पर्यटन संयोजक डा. दाबा शेर्पाले जानकारी दिए।
गत वर्ष नेपालको कोसी प्रदेश नाटा र भारत पश्चिम बंगालको पर्यटन गन्तव्यको एकैसाथ प्रचार र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल र भारतका पर्यटन व्यवसायीबीच झापामा सम्झौतामा हस्ताक्षरसमेत भएको थियो। सोहीअनुरुप बोर्डको पहलमा भारतीय पर्यटन व्यवसायीको टोली नेपाल आएको हो।