काठमाडौं। आगामी चैत २३ देखि सुरु हुने चौथो 'मन्जुश्री ट्रेल रेस'को तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक 'मन्जुश्री ट्रेल रेस'ले पत्रकार सम्मेलन गर्दै रेसको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो। रेसका अध्यक्ष सुवाश थापाले विगतमा जस्तै मञ्जुश्री ट्रेल रेसको नयाँ संस्करण आयोजना हुन गइरहेको बताए। यस संस्करणको रेसका लागि नेपालसहित १६ मुलुकका २ सय ७० धावकले आफ्नो नाम दर्ता गराइसकेको उनले जानकारी दिए। जसमध्ये नेपालबाट मात्रै २ सय ३२ धावकले नाम दर्ता गराएका छन्। एसिया ट्रेल मास्टर्सजस्ता विदेशी निकायहरूमार्फत थप ५० देखि १०० जना खेलाडी सहभागी हुने उनको भनाइ छ। दर्ता मिति अप्रिल १ सम्मका लागि छ। सो समयसम्ममा अझै धेरै धावकहरू सहभागी हुने सम्भावना देखिएको उनले बताए।
यो संस्करणलाई एसिया ट्रेल मास्टर्ससँगको सम्झौता भए पश्चात यसको छनोट खेलका रुपमा समेत मान्यता प्राप्त भएको अध्यक्ष थापा बताउँछन। एसिया ट्रेल मास्टर्स हङकङमा कुआइ स्पोट्र्स प्रमोशन लिमिटेडद्वारा व्यवस्थित एसियामा ट्रेल दौडको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो। एसिया ट्रेल मास्टर्स पारदर्शी र सजिलो पोइन्ट प्रणालीमा आधारित वार्षिक च्याम्पियनसिप कार्यक्रम पनि हो। यसका साथै ग्रान्डमास्टर क्वेस्टमार्फत सबै वर्गका धावकहरूलाई समान अवसर दिइन्छ। आयोजकका अनुसार यस रेसअन्तर्गत प्रत्येक सिजन एटिएम फाइनलसँगै समाप्त हुन्छ जसमा अन्तिम विजेतालाई सम्मान गरिन्छ। स्थापनाको आठौँ वर्षमा १२ देखि १५ वटा सम्म एसियाली मुलुकहरूमा ३० खेलको आयोजना हुनेछ। यसमध्येका थाइल्याण्ड, मलेसिया, जापान, भियतनाम र हङकङमा हुने रेस मुख्य रेस हुन्।
सन् २०२३ मा सञ्चालन गरिएको तेस्रो मञ्जुश्री ट्रेल रेसमा ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना प्रतियोगीले भाग लिएका थिए।
मञ्जुश्री ट्रेल रेस भने सबैभन्दा लामो दौडका रुपमा काठमाडौं उपत्यका वरिपरिका सातवटा प्रमुख चुचुराहरू जामाचो, शिवपुरी, नगरकोट, फूल्चोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरि हुँदै १०० माइल दुरी पुरा गर्दा १२ हजार ६९५ मिटरको उचाइसमेत हासिल हुनेछ।
धावकहरू जंगल, खोला, खेत र केही गाउँहरू हुँदै दौडन्छन। लगभग ७० प्रतिशत दौड वनजंगल र गोरेटो बाटोमा हुनेछ। अप्रिल ५ अर्थात चैत २३ गते बिहान ८ बजे इचंगुनारायणस्थित एक्ले रुख (सिंगल ट्री)बाट सय माइलको दौड सुरु हुनेछ। त्यस्तै सोही दिन राति ८ बजे एक सय किलोमिटरको दौड झुलेबाट, चैत २४ गते बिहान ७ बजे ५० किलोमिटरको दौड बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आबद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस चैत २४ गते बिहान ८ बजे फर्पिङको डोल्लुबाट सुरु हुँदैछ। यो ट्रेलमाण्डुको ५ स्टेज रेसको फाइनल खेल हो। यसमा १०० जना धावक सहभागी हुँदैछन्। त्यसैगरी चैत २४ गते कालुपाण्डे डाँडाबाट १० किमिको रेस सुरू भइ एक्लो रुख (सिंगल ट्री)मै सकिने उनले बताए।
अध्यक्ष थापाका अनुसार सामाजिक कर्तव्य वहन गरेर तथा रेसलाई अझ समावेशी बनाउन अप्रिल ६ मा २ किलोमिटरको विशेष रेससमेत आयोजना हुँदै छ। जसमा भिन्न रुपले सबल बालबालिकाहरूको रेस पनि आयोजना हुनेछ। नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सो रेसको आयोजना हुन लागेको हो। यसमा २० खेलाडी सहभागी हुँदैछन। यो जम्मा १०० माइल लामो दौड नेपालकै सबैभन्दा लामो तथा ठुलो संख्यामा सहभागिता रहने दौड पनि हो। यसमा धावकहरूलाई सहज बनाउन जम्मा १९ वटा चेक प्वाईन्ट उपलब्ध गराइएको हुन्छ, जहाँ उनीहरूलाई आवश्यक पर्ने खानेकुरा, पानी तथा आधारभूत औषधिको पनि व्यवस्था गरिएको हुन्छ। त्यस्तै तीन स्थानमा केही समय आराम गर्न बासस्थानको पनि व्यवस्था गरिएको छ। इमर्जेन्सी अवस्थालाई मध्यनजर राखी सबै चेक प्वाईन्टहरूमा आधारभूत तालिम प्राप्त मेडिकल टिम राखिनुको साथै एम्बुलेन्स तथा अस्पतालहरूसँग पनि समन्वय गरिएको अध्यक्ष थापाले जानकारी दिए।
विश्व चर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रूटको परिकल्पना गरेका थिए। त्यसपश्चात उनीहरूले सन १०१६ मा यो रूट छिचोले। जिमी ओस्त्रोम, राज प्रधान, नारायण आचार्यलगायतले पटकपटक गरी ट्रेलको वैकल्पिक रूटहरूसहित नक्सांकन गरेका थिए। पछिल्लो समयमा ट्रेलमाण्डु र मञ्जुश्री ट्रेल रेसले संस्थागत रुपमै यो ट्रेललाई अझ परिस्कृत गर्दै मार्किङ तथा जिपि यस नङसांकन गरिएको अध्यक्ष थापाले जानकारी दिए। विभिन्न चरणमा विभिन्न व्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रूट पूर्णरूपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो। अध्यक्ष थापाका अनुसार, १ सय ७० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन्। सय किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन्।
५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन्। त्यस्तै ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेसअन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन्। साथै यस संस्करणमा थपिएको नयाँ विशेष आयाम तथा खेलाडीहरूका लागि प्रोत्साहन मञ्जुश्री ट्रेल रेसका १०० माइल, १०० किमि र ५० किमिका खेलको पाँचौं स्थानभित्र आउने खेलाडीले स्वत: एसिया ट्रेल मास्टर्समा क्वालिफाइ हुनेछन्। राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत हालै गठन भएको नेपाल एडभेञ्चर रनिङ महासंघबाट पनि यो रेसलाई विशेष रुपमा हेरिएको तथा सहयोग प्राप्त भएको छ।