काठमाडौं। बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उद्योगी विनोद चौधरीसँग बयान लिएको छ।
सीआईबीले बयान लिएपछि कांग्रेसका सांसदसमेत रहेका उद्योगी चौधरीले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा राजनीतिक स्टन्ट गरिएको आरोप लगाएका छन्। सीआईबीलाई बयान दिएपछि सांसद चौधरीले आफूमाथि राजनीतीकरण गरिएको पत्रकारसँग बताए।
‘उद्यमलाई राजनीतीकरण गर्ने, उद्यमीलाई राजनीतीकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतीकरण गर्ने कुरा प्रस्टसँग देखियो,’ चौधरीले भने।
उद्यमी र निजी क्षेत्रलाई राजनीतिक स्टन्टका गतिविधिबाट टाढा राख्नुपर्ने सुझाव उनले दिए।
उनले भने, ‘सीआईबी कार्यालयमा उभिएर पत्रकारलाई यो कुरा भनिरहँदा नेपाल र विश्वभरका युवाले, नेपालका रोजगारदाताले, करदातालाई जाने सन्देशप्रति पनि राज्यले ख्याल गर्नुपर्ने हो। उद्यमी राजनीतिक स्टन्टबाट परै हुन्छन् भन्ने कुरा बुझ्नुपर्छ। मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु छैन। जग्गा प्रकरणमा मेरो कुनै संलग्नता छैन।’
नवलपरासी पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद भएकाले सोही भूमिका रहेर काम गरिरहने उनले प्रस्ट पारे।
सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमिता प्रकरणमा अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ मा पक्राउ गरेको थियो। अदालतको आदेशपछि अरुण रिहा भइसकेका छन्।
काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले छानबिन गरिरहेको छ। उद्यमी चौधरीसँग बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिनाबारे सोधपुछ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले पुष्टि गरे।