हरेक मानिसका आ–आफ्ना सपना हुन्छन्। कति सपना पूरा हुन्छन्, कति अधुरा। आफ्नो सपना र लक्ष्य प्राप्तिका लागि गरिने अथक मिहिनेत र परिश्रमले सफलताको गन्तव्य तय गर्छ। जुन व्यक्ति सफलताको शिखरतर्फ लम्किन चाहन्छ, एक दिन अवश्य उसले चाहेको बाटो कोरिन सक्छ। अथक प्रयत्नबाट सफलताको शिखर चुम्न सकिन्छ भन्ने गतिला उदाहरण हुन्, वसन्त मिश्र। पेसाले पर्यटन व्यवसायी उनी करिब ४ दशकदेखि पर्यटन क्षेत्रमा अनवरत् खटिरहेछन्।
नेपाली पर्यटन व्यवसायमा सुरुआती चरणदेखि लागिपरेकाले मिश्रलाई वाइल्डलाइफ टुरिजमका ‘पायोनियर’ भन्दा फरक पर्दैन। चितवन राष्ट्रिय निकुञ्जभित्र रिसोर्ट सञ्चालन गरेर वाइल्डलाइफमा रमाउन खोज्ने पर्यटक ल्याएर होस् वा राप्ती नदी किनारमा रिसोर्ट खोलेर मिश्र सधैं जंगल पर्यटनसँगै रमाइरहेका छन्।
कल्पनाको संसारमा देखिएको सपनाबाट बाहिर निस्किएर अलग्गै दुनियाँमा प्रभाव छाडेका मिश्रको बाल्यकालको सपना भने भविष्यमा इन्जिनियर बन्ने थियो। समय र परिस्थिति सधैं एउटै रहँदैन। जिन्दगीको गोरेटेमा आइपर्ने अनेकन मोडले पनि मानिसको गन्तव्य तय गर्छ। इन्जिनियर बन्ने सपना बुनेका मिश्रको यात्रा यही परिस्थितिले फरक बनायो। अझ भनौं, मिश्रलाई इन्जिनियरिङको सपनाबाट वाइल्डलाइफ टुरिजममा पुर्यायो। इन्जिनियरिङ सपनाबाट पर्यटन क्षेत्रमा स्थापित बनेका मिश्रको यात्रा निकै रोचक छ।
...
पारिवारिक रुपमा सम्पन्न परिवारमा जन्मिएका मिश्रलाई बाल्यकालमा अभाव समस्या खासै झेल्नुपरेन। आफूले चाहेको अध्ययन गर्न पाए भने भनेकै बेला घुम्न पाए। उच्च शिक्षा अध्ययन सकेर घरमै बसिरहँदा मिश्रका साथीहरू विदेश घुमफिर जाने निधोमा पुगे। त्यो बेला राहदानी बनाउन निकै मुस्किल हुन्थ्यो। यद्यपि, मिश्रले परिवारको सहज साथ पाएका कारण विदेश घुम्न जाने मौका पाए।
चार दशकअघि काठमाडौं, पोखरा र चितवनलाई मात्रै नेपालको मुख्य पर्यटन गन्तव्य मानिन्थ्यो। उबेला नेपालमा अंग्रेजी बोल्नेको संख्या सीमित रहेकाले ट्राभल एजेन्सी खोल्ने र त्यहाँ काम गर्नेहरू सम्पन्न परिवारका मात्रै हुन्थे। मिश्रले पनि अंग्रेजीमा दख्खल राख्ने हुँदा गोर्खा ट्राभल एजेन्सीमा पहिलो पटक जागिरको अवसर पाए। त्यसको दुई वर्षपछि आफ्नै कम्पनी खोल्ने निधो गरे।
अध्ययन सकिएको र कुनै काममा हात नहालेका बेला एक पटक विदेश घुमौं भन्ने साथीहरूको हुटहुटीमा उनले पनि आफ्नो परिवारलाई ‘कन्भिन्स’ गराउन सफल भए। फलस्वरुप उनी युरोप घुम्न निस्किए। बेलायतको लन्डनलाई केन्द्र बनाएर वरपरका देश चहार्दा पढ्दै, काम गर्दै गरेका धेरैसँग उनको जम्काभेट भयो। त्यो बेला उनले बुझे, युवाहरूको सबैभन्दा ठूलो दुस्मनी भनेकै फुर्सदमा बस्नु रहेछ। काम गर्नुपर्ने र सकेसम्म आफ्नै काम गरेको वेश हुने सोच त्यतिबेलै उनमा पलायो।
मिश्रले पहिलो पटक सन् १९७७ मा (२२ वर्षकै उमेरमा) विदेश घुम्ने मौका पाए। विदेश घुमेर आएपछि मिश्रमा आफ्नै केही व्यवसाय सञ्चालन गर्ने हुटहुटी चल्यो। विदेश घुम्दा पर्यटन क्षेत्रमा नेपालमा पनि केही न केही गर्न सकिन्छ र यहाँ अथक सम्भावना छन् भन्ने बुझिसकेका थिए। ‘त्यो बेलाको पर्यटन अहिलेजस्तो फैलिएकोे थिएन। निश्चित क्षेत्रमा मात्र पर्यटकीय गतिविधि हुने र ट्राभल एजेन्सीको लाइसेन्स पाउनसमेत मुस्किल थियो’, विगत सम्झँदै मिश्र भन्छन्, ‘विदेश घुम्दा पर्यटन क्षेत्रको राम्रो सम्भावना देखेकै कारण नेपालमा केही नयाँ गर्ने अठोट लिएर फर्किएँ। यही क्षेत्रमा लाग्ने निक्र्योल गरें।’
त्यसबेला काठमाडौं, पोखरा र चितवनमा भएका होटल औंलामा गन्न सकिने रहेको मिश्र सुनाउँछन्। नेपालको पर्यटन प्रमुख गन्तव्य काठमाडौं, पोखरा र चितवन मात्रै थिए। त्यति मात्र होइन, नेपालीमा अंग्रेजी बोल्नेको संख्या सीमित रहेकाले ट्राभल एजेन्सी खोल्ने र त्यहाँ काम गर्नेहरू सम्पन्न परिवारका मात्र हुन्थे। हुनेखानेका परिवारका सन्तानले मात्रै निजी विद्यालयमा पढ्ने अवसर पाउँथे। जागिरको अवसर पनि उनीहरूले मात्रै पाउँथे। संयोग नै भन्नुपर्छ, मिश्रले पनि अंग्रेजीमा दख्खल राख्ने भएको हुँदा गोर्खा ट्राभल एजेन्सीमा पहिलो पटक जागिरको अवसर पाए। करिब २ वर्ष काम गरेपछि यही क्षेत्र ठीक रहेछ भन्ठानेर आफ्नै कम्पनी खोल्ने निधोमा पुगे।
गोर्खा ट्राभल एजेन्सीमा काम गर्दा केही नयाँ मुलुकमा पुग्ने अवसर उनलाई मिल्यो। यही क्रममा वाइल्ड लाइफ टुरिजममा केही व्यक्तिसँग संगत बढाइसकेका कारण मिश्रले आफ्नै कम्पनी खडा गरी जंगल पर्यटनसम्बन्धी काम गर्ने आँट गरे। त्यतिबेलै मिश्रको हिमचिम चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालित टाइगर टप्स रिसोर्ट सञ्चालकसँग हुन पुग्यो। त्यो बेला नेपालमा सबैभन्दा बढी चर्चित कम्पनीको रुपमा टाइगर टप्स र यती ट्राभल थिए।
आफ्नै कम्पनी खोल्ने निधोमा पुगेका मिश्रलाई फेरि टाइगर टप्सले जागिरको अफर ग¥यो। यसपछि मिश्रले दुई वर्ष त्यहाँ काम गर्ने र त्यसपछि आफ््नै इलम गर्ने अठोट लिए। मिश्रले काम सुरु गरेको १८ महिनामै ट्राभल एजेन्सीमा साझेदारको रुपमा भित्रिने मौका पाए। उनको पहिलो ट्राभल एजेन्सी एडभेन्चर ट्राभल थियो। लाइसेन्स लिन एयरलाइन्स कम्पनीमा काम गरेको कर्मचारी एक जना अनिवार्य गरिएको थियो। एयरलाइन्स निकै कम भएकाले कर्मचारी पनि पाउन हम्मे हुन्थ्यो।
...
हुन त, मिश्रका घरमा बाउबाजेको पालादेखि नै चराचुरुंगी पाल्ने र तराईमा जग्गाजमिन भएका कारण जंगल घुमघामसमेत धेरै गरिसकेका थिए। सोही कारण उनलाई वाइल्ड लाइफसम्बन्धी विशेष चासो हुँदा त्यही क्षेत्रमा केन्द्रित भएर काम गर्र्न सहज भयो।
कम्पनी राम्रै चलिरहेका बेला करिब ८ वर्षपछि साझेदारबीच कुरा नमिलेपछि उनले छाडिदिए र आफ्नै कम्पनी भेन्चर ट्राभल्स खोले। मिश्र ‘ट्राभल एजेन्सी’ मा मात्रै अडिएनन्। ‘वाइल्ड लाइफ टुरिजमसम्बन्धी होटल खोल्न चितवन राष्ट्रिय निकुञ्जले खुलाएको रिसोर्ट लाइसेन्सका लागि आवेदन दिएँ,’ मिश्रले भने, ‘त्यो बेला नारायण सफारी, आइल्यान्ड जंगल सफारी रिसोर्ट र टेप्पल टाइगर रिसोर्टले एकैसाथ निकुञ्जभित्र रिसोर्ट सञ्चालनका लागि अनुमति पाए।’
त्यो बेला अहिलेजस्तो बैंकहरूले सहजै रुपमा ऋण दिने व्यवस्था नभएकाले मिश्रले टेन्ट राखेरै रिसोर्ट सुुरु गरेका थिए। पर्याप्त लगानी नभएकै कारण अरु संरचना नबनाई उनले सुविधासम्पन्न टेन्ट व्यवस्था गरे। काठमाडौंमै जन्मिएको र सम्पन्न परिवारमा हुर्किएका कारण उनलाई काम गर्न र लगानी जुटाउन अरुलाई जति असहज भएन। उनले जंगलभित्रको टाढा अनकन्टार ठाउँमा रिसोर्ट खोले। सहज रुपमा त्यहाँ पुग्न सकिँदैन थियो। ‘त्यो बेला साथीहरूले एकैसाथ धेरै काम गरिरहेका छौ। व्यवस्थापन गर्न नसके गाह्रो पर्न सक्छ भनेर सचेत गराएका थिए’, मिश्र विगत स्मरण गर्छन्। मिश्रले एकैसाथ जंगल रिसोर्ट, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी र ¥याफ्टिङ व्यवसाय सञ्चालनमा ल्याएका थिए।
उनको लगनशीलता देखेरै ठूला होटलले समेत साझेदारका रुपमा काम गर्न सुझाएका थिए। तर, मिश्र पहिला नै साझेदारीमा काम गर्दाको अनुभवलाई लिएर अरुसँग नजोडिने मुडमा थिए। ‘बरु जागिरै खाउँला तर साझेदारमा बिजनेस गर्दिनँ भन्ने अठोट लिएर अगाडि बढें’, मिश्रले भने। मिश्रले १२ वटा टेन्टबाट घना जंगलभित्र जंगल रिसोर्ट सञ्चालन गर्दा कसैले पनि यसले सफलता हात पार्छ भन्ने कल्पना गरेका थिएनन्। तर, अथक मिहिनेतका कारण उनले सफलतालाई चुमे। टेन्टको रिसोर्टलाई लजको रुपमा विस्तार गर्न सके। त्यसबेला दक्षिण एसियामै पहिलो एट्याच बाथरुमयुक्त र चेन्जिङ रुम भएको अफ्रिकाको टेन्टेट क्याम्पको झल्को दिने खाले टेन्ट उनैले पहिलो पटक सञ्चालनमा ल्याएका थिए। सो टेन्ट नेपालीले नै बनाएका थिए। पछि उनको डिजाइन नेपालीले मात्र कपी गरेनन्, भारतीयसमेत हेर्न आए।
जंगलभित्रको त्यो सुविधा र विदेशीको आकर्षण बढ्दै जाँदा नेपाल वाइल्ड लाइफ टुरिजमको पायोनियर हो भन्ने सन्देश विश्वभर फैलिँदै गयो। सँगै टुरिजम(पर्यटन) र निकुञ्जसँगै अगाडि बढ्न सक्छन् भन्ने उदाहरणसमेत विश्वलाई दिन सफल भए। चितवन राष्ट्रिय निकुञ्ज घोषणा हुँदा ६० वटा गैंडा थिए। पछि जगंलभित्र रिसोर्ट चलाएपछि चोरी तंस्करी घट्दै गयो। पहिला जंगलमा हुने काठ तस्करीदेखि गैंडा मार्नेसमेतको काममा त्यहीका स्थानीयलाई अगाडि बढाइने गरेको थियो। गरिबीका कारण स्थानीय पैसाको लोभमा परेर बाध्यतावश काम गरिरहेका थिए। ‘जब निकुञ्जभित्र रिसोर्र्ट सञ्चालन ग¥यौं, रोजगारीका लागि सबैभन्दा पहिलो प्राथमिकतामा स्थानीयलाई दिन थाल्यौं। सोही कारण जंगलप्रतिको मोह र वन बचाउनुपर्छ भन्ने ज्ञान उनीहरूमा बढ्न थाल्यो,’ मिश्रले भने।
पछिल्लो समय पर्यटनबाट सरकारले लाभ लिरहने तर अर्बौं लगानी गरेर लाखौंलाई रोजगारी दिने क्षेत्रलाई उद्योगको मान्यता दिन आनाकानी भइरहेको छ। यसमा पनि निजी क्षेत्रले एकै स्वर बनाएर सरकारसँग कुराकानी गर्न नसकेकै हो। पर्यटनमा निजी क्षेत्रका संघ–संस्था आ–आफ्ना स्वार्थ अनुकूल चलिरहेका छन्।
नेपाल त्यो बेलासम्म वाइल्ड लाइफ टुरिजमका लागि उत्तम गन्तव्य हो भन्ने थिएन। नेपाल सगरमाथा र अन्नपूर्ण हिमालको देश हो भन्ने मात्रै थियो। हिमाल आरोहण गर्न चाहने नेपाल जानू भन्ने सन्देश दिइन्थ्यो। यसले गर्दा सगरमाथा उक्लिने आउनेहरू काठमाडौं र अन्नपूर्ण जानेहरू पोखरा पुग्ने गरेका थिए। ‘चितवन राष्ट्रिय निकुञ्जमा रिसोर्ट सञ्चालनमा आएपछि जंगल सफारीको सुरुआतसँगै वाइल्ड लाइफ टुरिजमका लागि नेपाल उत्तम गन्तव्य रहेको सन्देश सबै ठाउँ पुग्न सफल भएको हो,’ मिश्रले भने। नेपालमा भन्दा पहिला भारतमा पर्यटकीय गतिविधि सुरु भएकाले त्यहाँसम्म पुग्दा नेपालमा पनि जाऔं है भन्नेहरू विस्तारै बढ्न थालेको उनको अनुभव छ। ‘भारतमा अत्यधिक गर्मी हुने भएकाले त्यहाँ सिजनल पर्यटकीय गतिविधि चल्दै आएका थिए। नेपालमा बाह्रैमास घुम्न सकिने गन्तव्य रहेकाले सिजन र अफ सिजन भन्ने नै हुँदैन’, उनले भने।
मिहिनेतले दिलाउँछ सफलता
सफलता पाउन अथक मिहिनेत गर्नुपर्ने मिश्र ठान्छन्। उनीसँग काम सुरुवाती बखत बिहानै ४ बजे विमानस्थल पाहुना लिन आफंै गएको अनुभव छ। ‘कयौं रातहरू अनिदो बसेर काम समापन गरेको छु। अहिले हेर्दा मिश्रले मर्सिडिज बेन्च चढेर हिँडेको छ भन्न सक्छन्। यो गाडी चढ्ने हैसियत बनाउन मैले ठूलो त्याग र तपस्या गरेको छु। अहिले जति मान्छे सफल छन्, उनीहरू निकै मिहिनेती, जेहेनदार र इमानदार भएरै हो,’ मिश्रले सफलताको सूत्र सुनाए।
महँगो शुल्क तिर्नेहरू अफ्रिकातर्फ मोडिए
जतिबेला चितवन राष्ट्रिय निकुञ्जभित्र रिसोर्ट सञ्चालनमा आएको थियो, त्यो बेला वाइल्ड लाइफ टुरिजमका लागि महँगो शुल्क तिरेर रमाउन चाहने पर्यटक अफ्रिका छाडेर नेपाल आउन थाले। जंगलभित्रै बस्ने, खाने र त्यहीँबाट जंगली जीवजन्तुलाई प्रत्यक्ष हेर्न पाउने भएपछि खर्चिला पर्यटक धमाधम नेपाल आउन थाले। तर, जब निकुञ्जले भित्र सञ्चालित होटल तथा रिसोर्टको समयावधि नथप्ने निर्णय ग¥यो, त्यसपछि एकाएक ती पर्यटक अफ्रिकातिर मोडिन थाले। ‘विकल्पको रुपमा नेपालबाहेक पर्यटनका लागि अन्य मुलुक बहुसंख्यक रहेका र यहाँभन्दा राम्रो सुविधा पाइने भएपछि त्यस खाले पर्यटक उता जान थालेसँगै महँगा पर्यटक आउनै छाडे। यसको असर पर्यटन व्यवसायीलाई मात्र हैन, राज्यले समेत ठूलो आम्दानी गुमायो’, उनले भने।
निकुञ्जभित्रको ‘लत’ मार्न किनारमा रिसोर्ट
पहिलो कुरा त, चितवन राष्ट्रिय निकुञ्जले जंगलभित्र सञ्चालनमा रहेका होटल तथा रिसोर्ट बन्द गर्नुपर्ने नै थिएन। यसमा निकुञ्ज मात्र दोषी हो भन्न मिल्दैन। होटल तथा रिसोर्टले पनि प्रतिबद्धताअनुसारको रोयल्टी र शुल्क नियमित तिरेको भए अहिले यो समस्या हुँदैन थियो होला। अब समीक्षा गरेर हुने केही छैन। तर, राज्यको त्यो निर्णयले महँगा पर्यटक गुमाउनुपरेको छ। यसबाट व्यवसायीले मात्र हैन, राज्यले समेत ठूलो आम्दानी र रोजगारीका स्रोत गुमाएको छ। मिश्रले जंगलभित्रको रिसोर्ट बन्द भएपछि तत्कालै राप्ती किनारामा निजी जग्गा लिएर टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट सञ्चालनमा ल्याए। ‘अरु धेरै साथीहरू जंगलभित्रको रिसोर्ट बन्द भएपछि चितवन छाडेर हिँडे,’ उनले भने, ‘मैले जिन्दग नै वाइल्ड लाइफ टुरिजममा बिताएकाले माया मार्न सकिनँ र जंगल नजिकै रिसोर्ट खोलें।’
कन्ट्रोल टुरिजमबाट मास टुरिजममा ‘सिफ्ट’
कुनै समय यस्तो थियो, जहाँ पर्यटक जंगलभित्र लालटिन बालेर बस्थे भने स्वीमिङ पुलसमेत थिएन। तैपनि दैनिक ५ सय डलर तिरेर पर्यटक बस्न आउँथे। उनीहरूलाई स्वादिस्ट, अग्र्यानिक खानासँगै प्रकृतिसँग नजिक्याउँथे। अहिले समय बदलिएको छ। यतिबेला होटल तथा रिसोर्टमा अनिवार्यजस्तै स्पा, स्वीमिङ पुल, जिम र एसी चाहिने भएको छ। पछिल्लो समय वाइल्ड लाइफतिर कम र सुविधायुक्त खोजीमा आउने पर्यटक बढ्न थालेका छन्।
अब कन्ट्रोल टुरिजमबाट मास टुरिजमतर्फ मोडिन थालेका छन्। निकुञ्ज नजिकैको होटल तथा रिसोर्टले समेत वेडिङ डेस्टिनेसन बनाउन थालेका छन्, जुन वाइल्ड लाइफका लागि लाभदायक होइन। वाइल्ड लाइफ टुरिजमको परिभाषा अहिले बदलिँदै गएको छ। यसतर्फ पनि सरकार र सरोकारवाला निकायले सोच्ने बेला भइसकेको छ।
हात्ती चढ्नुहुन्न भन्ने अभियान गलत
पछिल्लो केही वर्षयता हात्ती चढ्नुहुन्न भन्ने अभियान चलाइयो। यसले गर्दा नेपाल घुमघाममा आएका युरोप, अमेरिकालगायत धेरै मुलुकका पर्यटक हात्ती चढ्न छाडे। अभियन्ताको गलत बुझाइको मारमा नेपालको वाइल्ड लाइफ टुरिजम प¥यो। जसले जे भने पनि भारत र अफ्रिकाको वाइल्ड लाइफ टुरिजमभन्दा नेपाल फरक छ। यहाँ हात्ती चढेर झाडीको बीच–बीचमै पुगे पर्यटकलाई जंगली जीवजन्तु देखाउने गरिएको छ। तर, भारत र अफ्रिकन जंगलमा गाइडले वाकेटोकीबाट बोलाएर जंगली जनावर देखाउनुपर्ने बाध्यता छ।
‘हात्ती चढ्नु खराब हैन भनेर पर्यटन व्यवसायीले पनि बहस गर्न नसकेकै हो‘, मिश्रले भने, ‘उसलाई कसरी पालिएको छ भन्ने ठूलो कुरा हो। दुई समय सफारी गर्दा कुनै असर गर्दैन बरु राम्रो गर्छ भन्ने बुझाइको कमीले समस्या देखिँदा कतिपय हात्तीलाई जंगलमा लगेर छाड्ने कामसमेत भयो।’ अहिले हात्तीे किनबेचसमेत बन्द हुँदा ५० प्रतिशत फर्किएर भारतमा लगिइसकेको छ। भारतमा हरेक मन्दिरमा राखेर आम्दानी गरिँदै आएको छ। तर, नेपालमा राम्रो वातावरणमा राखिँदा पनि त्यसबारे बुझाउन नसकेकै कारण अवसरबाट वञ्चित भइरहेको छ।
वाइल्ड लाइफ टुरिजमको महत्त्व बुझ्दैन सरकार
नेपाली पर्यटनमा दुई विचार समूह बोकेका सुरुदेखि नै सक्रिय छन्। ‘एउटा समूहले भन्छ– निकुञ्ज भनेको जंगली जनावरबाहेक अरुले गतिविधि गर्न पाउँदैन। अर्कोले भन्छ–भएको स्रोत–साधनलाई सही सदुपयोग गरेर गतिविधि बढाउनुपर्छ।’ यही विवादका कारण निकुञ्जभित्र जति गतिविधि हुनुपर्ने थियो, त्यो हुन सकेको छैन। जंगल मात्रैका कुरा किन! काठमाडौं उपत्यकालाई नै कुनै समय खुला संग्रहालयको रुपमा प्रचार गरिन्थ्यो। तर, अहिले विस्तारै हराउँदै गएको छ। यसको महत्त्व विस्तारै घट्दै गएको छ। त्यसैले वाइल्ड लाइफ टुरिजमको महत्त्व सरकारले पनि बुझेन र निजी क्षेत्रले पनि बुझाउन सकेको देखिँदैन।
विश्वका कुनै पनि मुलुकमा नभएको प्रकृति नेपालमा रहँदासमेत त्यसलाई सरकारको अस्थिर नीतिकै कारण पूर्ण उपयोग गर्न सकिएको छैन। ‘अब बन्ने पर्यटन नीतिमा यस्ता विषयको स्पष्ट हुन जरुरी छ,’ मिश्रले भने, ‘हामी सरकारले बुझ्न चाहे बुझाउन तयार छौं।’
बेकामे पर्यटन बोर्ड
नेपालको पर्यटन प्रवद्र्धनका लागि स्थापना गरिएको नेपाल पर्यटन बोर्ड अहिले बेकामे भएको उनी बताउँछन्। अहिले राजनीतिक दलहरूले बोर्डलाई गलत बाटोमा लगिरहेको र विश्वमा नेपालको बजार विस्तार गर्ने मुख्य काम हुँदाहुँदै अहिले पूर्वधार निर्माणमा जोड दिँदा उद्देश्य विपरीत चलिरहेको आरोप मिश्रको छ।
निजी क्षेत्र र सरकारबीच पुलको रुपमा काम गर्नुपर्ने बोर्ड राजनीतिक दलका कार्यकर्ताको भर्तीकेन्द्र बनेर तिनको स्वार्थअनुकूल काम गरिरहेको उनको बुझाइ छ। सोही कारण पर्यटन प्रचारमा बोर्ड चुकेको ठान्छन्, उनी। बोर्डले मात्र हैन, अहिले नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणले बाटो बिराउँदा पर्यटन क्षेत्रले ठूलो मूल्य चुकाउनुपरेको छ।
नेभर रिटायर्ड
मिश्रको उमेर ढल्किँदै गए पनि जोश–जाँगर भने अझै तन्नेरी छ। पर्यटन क्षेत्रमा हाम फालेको झन्डै ४७ वर्ष पूरा हुन लागिसकेको छ। उमेरको महत्त्वपूर्ण समय पर्यटनमा बिताएकाले अहिले नै रिटायर्ड भएर घरमै बसौं भन्ने सोच कहिल्यै नआउने उनी सुनाउँछन्।
‘पहिला दैनिक १२ देखि १८ घन्टासम्मको खटाइ हुन्थ्यो भने अहिले अलि कम समय दिइन्छ। अब नेपालको पर्यटन क्षेत्र सुधारका लागि आफूले जाने÷बुझेका विषय सरकारलाई आदान–प्रदान गर्र्नमै समय बिताउने योजना छ’, मिश्र भन्छन्। उनले अहिले पनि विदेशमा हुने पर्यटन गतिविधिका विभिन्न कार्यक्रममा सहभागी भएर अनुभव बाँडिरहेका हुन्छन्।
‘कोरोनाअघिको वार्षिक तालिकामा वर्षको एकपल्ट ट्रेकिङ जाने, एउटा आन्तरिक गन्तव्यमा घुमघाम र दुईदेखि चार वटा मुलुकसम्म घुम्न जाने थियो। अहिले ट्रेकिङ रोकिएको छ। नेपालमा मुख्य गन्तव्य अधिकाशंमा पुगिसकेको छु’, मिश्रले भने, ‘अब कञ्चनजंघा, अपर डोल्पा र मनास्लु मात्र पुग्न बाँकी छ। ती गन्तव्य पनि गइछाड्छु, सगरमाथा बेस क्याममा चारपल्ट हिँडेरै पुगिसकेको छु।’
पर्यटन विकासमा निजी क्षेत्रको विभाजित
पर्यटन क्षेत्र विकासमा सरकारले केही गरेन भनेर विरोध बढिरहे पनि सुधारका लागि निजी क्षेत्रको एकै स्वर हुन नसकेको बताउँछन्, मिश्र। पर्यटन बोर्ड या नेवानिकै सुधारबारेमा निजी क्षेत्रले दिने सुझावमा एकमत हुन नसकेको उको बुझाइ छ। ‘यति मात्र हैन, पछिल्लो समय पर्यटनबाट सरकारले लाभ लिरहने तर अर्बौं लगानी गरेर लाखौंलाई रोजगारी दिने क्षेत्रलाई उद्योगको मान्यता दिन आनाकानी भइरहेको छ। यसमा पनि निजी क्षेत्रले एकै स्वर बनाएर सरकारसँग कुराकानी गर्न नसकेको छैन।’ पर्यटनमा निजी क्षेत्रका संघ–संस्था आ–आफ्ना स्वार्थ अनुकूल चल्दा मुख्य एजेन्डा ओझेल परेको र सरकारी दृष्टिकोण सकारात्मक नभएको मिश्र बताउँछन्।