काठमाडौं। सामान्य थपघटका साथ नियमित कारोबार हुँदै आएको नेपाल टेलिकमको सेयर मूल्यमा माघ २२ मा एकाएक सकारात्मक सर्किट लाग्यो। टेलिकमको वार्षिकोत्सव कार्यक्रम चल्दै गर्दा एकथरी लगानीकर्ता कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लगाउने योजना बुनिरहेका थिए। सोही योजनाअनुरुप कारोबारको अन्तिम केही मिनेटबाँकी रहँदा टेलिकमको सेयर मूल्यमा एकाएक सकारात्मक सर्किट लगाइयो। त्यसपछि १० प्रतिशतको वृद्धि गरियो।
माघ २१ मा ८६५ रुपैयाँ प्रतिकित्तामा कारोबार भएर बन्द भएको टेलिकमको सेयर मूल्य माघ २२ मा पहिलो कारोबार ८७० रुपैयाँमा भएको थियो। दिनभर कारोबार भइरहँदा न्यूनतम मूल्य ८६५ रुपैयाँ १० पैसासम्म झरेको टेलिकमको सेयर मूल्य बन्द हुँदा एकाएक बढाएर प्रतिकित्ता ९५१ रुपैयाँ ५० पैसा पुर्याइयो। यद्यपि, यो वृद्धि एक दिन पनि टिकेन। सर्किटको भोलिपल्ट अर्थात् माघ २३ मा टेलिकमको सेयर मूल्यमा ५.१० प्रतिशतको गिरावट आयो।
वार्षिकोत्सव पारेर माघ २२ मा टेलिकमको सेयर मूल्यमा कारोबार बन्द हुनु अन्तिम केही मिनेटअघि मात्रै योजनाबद्ध र मिलेमतोमा सकारात्मक सर्किट लगाइएको थियो। टेलिकमजस्तै चलखेल गत फागुन तेस्रो साता बिपिडब्लु लघुवित्त वित्तीय संस्था (बिपिडब्लु)को सेयर मूल्यमा पनि भएको देखिन्छ।
लामो समय सामान्य घटबढ भएको र अधिकांश दिन कारोबारसमेत नहुने यो कम्पनीको सेयर मूल्यमा लगातार तीन कारोबारमा सकारात्मक सर्किट लागेको थियो। गत फागुन १५ मा एकाएक १० प्रतिशतको वृद्धि भएर यस कम्पनीको सेयर मूल्य ११५३.९० रुपैयाँ प्रतिकित्तामा बन्द भयो।
यसपछि फागुन १६ मा पनि कम्पनीको सेयर मूल्यमा ९.९९ प्रतिशतको वृद्धि देखियो र प्रतिकित्ता मूल्य १२६९.२० रुपैयाँ प्रतिकित्ता पुग्यो। त्यसको भोलिपल्ट फागुन १७ मा पनि बढेर प्रतिकित्ता यस कम्पनीको सेयर प्रतिकित्ता १३०० रुपैयाँमा बन्द भयो। फागुन २० बाट भने ६.७६ प्रतिशतले घटेर प्रतिकित्ता सेयर मूल्य १२१२.१० रुपैयाँ सीमित भयो।
यो कम्पनीको सेयर पछिल्लो आठ कारोबार दिनदेखि कारोबार भएको छैन। यसको पछिल्लो कारोबार फागुन २३ मा ११४१ रुपैयाँ प्रतिकित्तामा भएको देखिन्छ। यसरी लामो समयदेखि बढ्न नसकेका कम्पनीको सेयर मूल्यमा एकाएक सकरात्मक सर्किट लागेर भोलिपल्टै नकारात्मक बिन्दुतर्फ लम्किने गरेका उदाहरण नौला होइनन्।
सर्वसाधारणको सेयर स्वामित्व कम भएका, नेप्सेमा थोरै कित्ता सेयर सूचीकृत भएका कम्पनीमा यस्तो किसिमको प्रवृत्ति बढी देखिन्छ। विशेषगरी संस्थागत सेयर लगानीकर्ता तथा सेयर हिस्सा बढी भएका लगानीकर्ताले विभिन्न मौका पारेर कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लगाउने गर्छन्।
‘सबैसँग सेयर हिस्सा नभएपछि दिनभरको ५० कित्ता सेयरले सर्किट लगाउने काम हाम्रोमा हुँदै आएको छ। बायर र सेलर मिलेर म्याचिङ गर्दै सेयर मूल्य पम्प गरिन्छ,’ लगानीकर्ता देव गुरागाईं भन्छन्, ‘आमलगानीकर्तामा सकारात्मकता फैलाएर ह्वीम ल्याइयो र माग सिर्जना गरियो भने त्यो टिकाउ हुन्छ। अन्यथा टिकाउ हुँदैन।’
सेयरमा अचानक सर्किट लगाउने काम एक किसिमको चलखेल भएको र केही समयमै यो घटेर आफ्नो आकारमा आइपुग्ने गुरागाईंको भनाइ छ। कतिपय ठूला पुँजी भएका कम्पनीको सेयरमा पनि नियोजित रुपमा लगानीकर्ता मिलेर मूल्य बढाउने गरेको विषय उठ्दै आएको छ। ठूला पुँजी भएका कम्पनीको सेयर मूल्यमा कारोबारको सुरुआती चरण वा मध्यतिर सर्किट लगाउन कठिन हुन्छ।
यसर्थ, ठूलो पुँजी भएका कम्पनीको हकमा कारोबारको अन्तिम समय लगानीकर्ताले योजना बुनेर वा सल्लाह गरेर एकैपटक खरिद–बिक्री म्याचिङ गरी मिलेमतोमा सर्किट लगाइन्छ। यस्तो खेलबाट निश्चित स्वार्थ समूहले फाइदा लिने गर्दछ। यस्तो किसिमको खेल नेपाल टेलिकम वा बिपिडब्लुको हकमा मात्रै भएको होइन। हरेक कारोबार दिनमा यस्तो किसिमको खेल कुनै न कुनै ढंगबाट भएको देखिन्छ।
गत फागुन तेस्रो साता ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि यस्तै चलखेल गरियो। फागुन २० मा नेप्से ११.७८ अंकले घट्दा पनि यस कम्पनीको सेयर मूल्यमा सकराात्मक सर्किट लेबलको वृद्धि भयो। अर्थात्, ग्लोबल आईएमईको सेयर मूल्यमा सो कारोबार दिनको सर्वाधिक अर्थात् ९.७० अंकको वृद्धि भयो।
तर, त्यसको भोलिपल्ट फागुन २१ मा ११७.७० अंक अर्थात् ६ प्रतिशतले नेप्से बढ्दा भने ग्लोबलको बैंकको सेयर मूल्य घट्यो। उक्त दिन कारोबारमा आएका २ सय ३० कम्पनीको सेयर मूल्य बढ्दा २ कम्पनीको मात्रै मूल्य घटेको थियो। यसमा ग्लोबल आईएमई लघुवित्त पनि पर्यो। फागुन २० मा ९.७० प्रतिशतले बढेर ८४० रुपैयाँ प्रतिकित्ता कायम भएको यस कम्पनीको सेयर मूल्य फागुन २१ मा घटेर ८ सय ३९ रुपैयाँमा बन्द भएको थियो।
यस्तै, अपर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा पनि समय–समयमा यस्तै ‘ट्रिक’ अपनाउने गरेको देखिन्छ। २०८० मंसिर २१ मा यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९५ रुपैयाँ थियो। त्यसबाट घटबढ हुँदै पुस २६ मा आइपुग्दा सेयर मूल्य १९७ रुपैयाँ प्रतिकित्ता कायम भयो। यो अवस्थामा कम्पनीको सेयर मूल्यमा पनि वृद्धिको खेल खेलियो।
ठूलो पुँजी भएका कम्पनीको हकमा कारोबारको अन्तिम समय लगानीकर्ताले योजना बुनेर वा सल्लाह गरेर एकैपटक खरिद–बिक्री म्याचिङ गरी मिलेमतोमा सर्किट लगाइन्छ। यस्तो खेलबाट निश्चित स्वार्थ समूहले फाइदा लिने गर्दछ।
गत पुस २९ मा अपर तामाकोसीको सेयर मूल्य प्रतिकित्ता २११ रुपैयाँ भएकामा त्यसपछिको कारोबार अर्थात् माघ २ मा २३२ र माघ ३ मा २४८ रुपैयाँ पुर्याइयो। यसरी तीन दिन लगातार सर्किट लगाइएको यस कम्पनीको सेयर मूल्य त्यहाँबाट पुनः पहिलेकै आकारमा आइपुगेको थियो। लगातार तीन दिन सेयर मूल्य बढे पनि त्यहाँबाट घट्दै आएको कम्पनीको पछिल्लो कारोबार १८० रुपैयाँ प्रतिकित्तामा भइरहेको छ।
यस्तो चलखेलबाट कम्पनीलाई खासै फाइदा नहुने भए पनि केही निश्चित स्वार्थ समूहले फाइदा लिने गर्छन्। लगानीकर्ता छोटेलाल रौनियार यसका अलावा कम्पनीबारे अफवाह फैलाएर सेयर मूल्य केही घटाउने वा बढाउने काम हुने गरेको बताउँछन्।
सामाजिक सञ्जालमा नियोजित रुपमा लगानीकर्तालाई खरिद–बिक्री गर्न उक्साएर वा प्रभावित पारेर यस्तो काम हुने गरेको छ।‘अस्वाभाविक रुपमा माग सिर्जना गरेर तथा कम्पनीबारे अफवाह फैलाएर सेयर मूल्य बढाउने प्रवृत्ति पुरानै हो,’ लगानीकर्ता रौनियार भन्छन्, ‘यसरी सर्किट लागे सर्किट लाग्यो भन्ने ढंगबाट चर्चा हुने भए पनि कम्पनीलाई भने कुनै किसिमको घाटा वा फाइदा हुँदैन।’
कतिपयले आफ्नो नाम चर्चामा ल्याउन पनि सर्किटको खेल खेल्ने गर्छन्। यस्ता लगानीकर्ताले एकआपसमा मिलेर माथिसम्म पुर्याउने र केही समय त्यसलाई कायम गर्ने कामसमेत सेयर बजारमा हुने गरेको छ।
यो किसिमको चलखेल सेयर बजारमा राम्रो मानिँदैन भने दिगो पनि हुँदैन। तथापि, यस्तो किसिमको हतकन्डा अपनाउने काम पहिलादेखि धेरै कम्पनीले गर्दै आएका छन् भने अर्कातर्फ एक किसिमका लगानीकर्ता नै यस्तो धन्दामा लाग्ने गरेका छन्।
बजारमा सेयर मूल्य बढेको वा घटेको ‘भाइब्स’ देखाएर त्यसबाट फाइदा लिने दाउ उनीहरुमा हुने गर्छ। दिनहुँजसो यस्ता प्रवृत्तिले आमलगानीकर्ता मारमा पर्ने गरेका छन् भने निश्चित समूहले मात्रै फाइदा उठाउने गरेको छ।
नेपाल टेलिकम, बिपिडब्लु, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र अपर तामाकोसीको हकमा मात्रै नभएर अन्य कम्पनीका पनि यस्तो चलखेल गरिएका उदाहरण प्रशस्तै छन्। हालै पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा पनि एकाएक सकारात्मक सर्किट लगाइएको थियो।
लामो समयपछि पिपुल्स हाइड्रोको सेयर मूल्यमा चैत ५ मा एकाएक सकारात्मक सर्किट लाग्यो। चैत ५ मा १० प्रतिशतले वृद्धि भएको कम्पनीको सेयर मूल्य चैत ६ मा ६.९१ प्रतिशतको गिरावट आयो। चैत ४ मा ३१८ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको कम्पनीको सेयर मूल्य चैत ५ मा पुग्दा सकारात्मक सर्किट लागेर ३५० रुपैयाँमा कारोबार भयो। तर, चैत ६ मा घटेर सेयर मूल्य ३२६ रुपैयाँ प्रतिकित्तामा सीमित भयो। यसअघि कम्पनीको सेयर मूल्यमा गत फागुन ८ मा सर्किट लेबलको वृद्धि भएको देखिन्छ।
कतिपयले आफ्नो नाम चर्चामा ल्याउन पनि सर्किटको खेल खेल्ने गर्छन्। यस्ता लगानीकर्ताले एकआपसमा मिलेर माथिसम्म पुर्याउने र केही समय त्यसलाई कायम गर्ने कामसमेत सेयर बजारमा हुने गरेको छ।
यस्तै, चलखेल हालै मात्र गोर्खाज फाइनान्समा पनि भएको दखिन्छ। नियमित कारोबारभन्दा बाहिर चैत ५ मा कम्पनीको सेयर मूल्यमा एकाएक सकारात्मक सर्किट लगाइयो। कारोबारमा आएका अधिकांश कम्पनी अर्थात् १४८ कम्पनीको सेयर मूल्य घट्दा पनि गोर्खाजको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको थियो। तर, चैत ६ मा यस कम्पनीको सेयर मूल्य ०.४१ प्रतिशतले घट्यो भने चैत ७ मा फेरि सकारात्मक सर्किट लागेको छ।
चैत ५ मा ८६३.५० रुपैयाँ प्रतिकित्तामा कारोबार भएको कम्पनीको सेयर मूल्य चैत्र ६ मा घटेर ८६० रुपैयाँ बन्द भएको थियो। चैत ७ मा फेरि यस कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लाग्दै ९४६ रुपैयाँ प्रतिकित्तामा पुगेको छ।यी कम्पनीबाहेक पनि यस्तो किसिमको चलखेल जोशी हाइड्रोपावर, बोटलर्स नेपाल (बालाजु)जस्ता कम्पनीमा पनि हुने गरेको देखिन्छ।