काठमाडौं। अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा आगामी वैशाखमा हुने तय भएको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठक बसेको छ। लगानी सम्मेलन निर्देशक समिति संयोजकमा अर्थमन्त्री रहने व्यवस्था छ।
बैठकले निर्देशक समितिको अघिल्लो बैठकका निर्देशन कार्यान्वयन अवस्थाबारे जानकारी लिनुका साथै लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन सचिवालयलाई निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ।
बैठकमा अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षालगायत क्षेत्रमा निजी लगानी आकर्षण गर्ने सन्दर्भमा लगानी सम्मेलनलाई फलदायी बनाउन सरोकारवालाको महत्त्वपूर्ण भूमिका रहने बताए।
स्वदेशी एवं विदेशी निजी क्षेत्र, गैरआवासीय नेपालीलगायतबाट लगानी आकर्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको लगानी सम्मेलनमा अधिकतम बीटुबी (व्यावसायिक साझेदारी) का परियोजनामा लगानी जुटाउन बैठकमा उपस्थित निजी क्षेत्रका प्रतिनिधिलाई आह्वान गरे। निजी क्षेत्रका तीन छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्स लगानी सम्मेलनको सह–आयोजक हुन्।
बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्मेलन आयोजना गर्न गठित निर्देशक समिति तथा कार्यान्वयन समितिको निर्देशनबमोजिम सचिवालय तथा परियोजना छनोटसम्बन्धी प्राविधिक समिति र कानुन सुधार समितिका तर्फबाट भएका कार्य सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए।
बैठकमा मन्त्री, योजना आयोग उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर, निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षलगायत उपस्थित थिए।