काठमाडौं। छोटो समयमै गतिलो आम्दानी हुने भएपछि हिमाल आरोहणका लागि आवश्यक सम्पर्क अधिकृत बन्न कर्मचारीबीच हानाथाप सुरु भएको छ। हिमाल आरोहणको सिजन सुरु भएसँगै पर्यटन विभागलाई आफ्ना व्यक्तिलाई सम्पर्क अधिकृतको रुपमा पठाउन मन्त्रालयका उच्चपदस्त कर्मचारीहरुले दबाब दिन थालेका हुन्।
खासगरी अप्रिल र मे (चैत र वैशाख) महिनामा सबैभन्दा बढी हिमाल आरोहण हुने गरेको छ। आरोहणमा जाने प्रत्येक ग्रूपले अनिवार्य रुपमा एक जना सरकारी कर्मचारीलाई सम्पर्क अधिकृतको रुपमा लैजानुपर्छ। ती सम्पर्क अधिकृत पर्यटन विभागले छनोट गरेर पठाउने गरेको छ।
विभागका एक उच्च अधिकारीका अनुसार विभिन्न मन्त्रालय, विभाग र मातहतका कार्यालयहरुबाट आफ्ना व्यक्तिहरुलाई सम्पर्क अधिकृतको रुपमा पठाउन सिफारिस आइरहेको छ।
विभागका एक उच्च अधिकारीका अनुसार विभिन्न मन्त्रालय, विभाग र मातहतका कार्यालयहरुबाट आफ्ना व्यक्तिहरुलाई सम्पर्क अधिकृतको रुपमा पठाउन सिफारिस आइरहेको छ। ‘विभिन्न व्यक्तिहरुले म फलानो निकट हुँ भन्दै सिफारिस लिएर आउने गरेका छन्,’ ती अधिकारीले भने।
सम्पर्क अधिकृतको रुपमा वार्षिक रुपमा १ सयदेखि ११० जनासम्म कर्मचारीहरु जाने गरेका छन्। विभागका निर्देशक राकेश गुरुङले सबै सरकारी कार्यालयहरुमा सम्पर्क अधिकृतको रुपमा नामावली पठाउन फागुन १८ गते नै पत्रचार गरिसकेको जानकारी दिए।
सिफारिसका आधार बनाएर पत्रचार गरिएको निर्देशक गुरुङको भनाइ छ। विभागले पठाएको पत्रमा सम्पर्क अधिकृत सिफारिस गर्दा मन्त्रालय वा केन्द्रीय निकायले आफ्नो र मातहत कार्यरत कर्मचारीहरुमध्ये प्राथमिकताक्रम निर्धारण गरी १ वर्षका लागि १०० भन्दा बढी दरबन्दी भएका निकायमा २ जना मुख्य र १ जना वैकल्पिक, १०० भन्दा कम कर्मचारी दरबन्दी भएको निकायमा १ मुख्य र १ वैकल्पिक कर्मचारीको नाम पठाउनुपर्ने छ।
केन्द्रीय निकाय वा मातहतमा स्वीकृत दरबन्दीमा कम्तीमा ६ महिनादेखि कार्यरत रहेको हुनुपर्ने, दुर्गम क्षेत्रमा विगत ६ महिनादेखि काम गरेको र यसअघि सम्पर्क अधिकृतमा खटिन मौका नपाएकाले सम्पर्क अधिकृत हुन पाउँछन्। त्यस्तै वैदेशिक अध्ययन वा विदेशस्थित कुटनीतिक नियोग वा कार्यालयहरुमा काम गरी फर्केको कम्तीमा २ वर्ष पूरा भएको साथै विगत ६ महिनादेखि वैदेशिक भ्रमणमा मनोनयनमा नपरेको हुनुपर्ने सम्पर्क अधिकृत हुन पाउने मापदण्ड छ।
२ महिनामा २ लाखसम्म कमाइ
सम्पर्क अधिकृतहरुले हिमाल अनुसार पैसा पाउँछन्। उनीहरुले हिमाल अनुसार ४५ देखि ६५ दिनसम्मको यात्रा हुने गरेको छ। त्यसमध्ये सगरमाथा हिमाल आरोहण दलसँग जाने र अन्य हिमाल आरोहणमा जाने दलमा आम्दानी फरक हुन्छ। सगरमाथा क्षेत्रमा जाने कर्मचारीहरुले २ लाख रुपैयाँसम्म पाउछन्। अन्य हिमालमा जानेहरुले १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म पैसा पाउँछन्। ती कर्मचारीहरुलाई सम्बन्धीत एजेन्सीले नै सो रकम दिनुपर्छ। योबाहेक काठमाडौंदेखि बेसक्याम र बेसक्यामबाट काठमाडौंसम्म आउँदाको खर्च, खाना, खाजा र कपडाहरु समेत सम्बन्धीत एजेन्सीले नै बेहोरिदिनुपर्छ।
खासगरी त्यो रकम हिमालमा जाँदा लाग्ने कपडाहरुसहित आवश्यक सामाग्री खरिदका लागि दिने गरिए पनि कर्मचारीहरुले एजेन्सीहरुलाई नै सामान किन्न लगाउँछन् र आफ्नो रकम खर्च गर्दैनन्। त्योबाहेक ग्रूप हेरेर सफलता हात पार्नेहरुले त अझ धेरै रकम समेत दिने गरेको व्यवसायी बताउँछन्।
नेपाल पर्वतारोहण संघका पूर्वमहासचिव कुलबहादुर गुरुङले सम्पर्क अधिकृतहरुलाई ग्रूपले अविभावकको रुपमा लिने गरेको बताउँछन्। ‘उनीहरुले यति नै रकम भनेर माग्ने गरेका छैनन् र कतै उल्लेख पनि छैन,’ पूर्वमहासचिव गुरुङले भने ‘न्यूनतम १ लाख ५० हजारदेखि २ लाखसम्म एजेन्सीले दिने गरेका छन्।’ उनकाब अनुसार एउटा टिममा अधिकतम १५ जना आरोहीहरु हुने गरेका छन्।
मंगलबारसम्म तीन टिमले लिए अनुमति
पर्यटन विभागका अनुसार मंगलबारसम्म तीन ग्रूपले मात्र हिमाल आरोहणका लागि अनुमति लिएका छन्। सगरमाथा हिमालका लागि सुरु नभइसकेको विभागले बताएको छ। गत वर्ष सगरमाथा आरोहणका लागि हालसम्मकै उच्च संख्या ४७८ जनाले अनुमति लिएका थिए। त्योबापत सरकारले ७६ करोड आम्दानी गरेको थियो। यो वर्ष पनि गत वर्षकै हाराहारीमा हुने अनुमान गरिएको विभागका निर्देशक राकेश गुरुङले बताए।