काठमाडौं। सन् २००५ देखि नेपालमा दुईपांग्रे सवारी साधनको पहिलो एसेम्बल प्लान्ट सञ्चालनमा आयो। अन्नपूर्ण लिफान प्रालीले ‘अन्ना लिफान’ मोटरसाइकल एसेम्बल गर्न थाले पनि यो धेरै समय चल्न सकेन। त्यसपछि गोल्छा ग्रूपको हुलास कम्पनीले नेपालमै मुस्ताङ गाडी एसेम्बल गर्न थाल्यो। २०६९ सालदेखि सरकारले यूरो ३ मापदण्ड लागू गरेपछि यो गाडीको एसेम्बल पनि बन्द भयो।
पछिल्लो समय गोल्छा अर्गनाईजेसनले २०७४ पुसदेखि बजाज मोटरसाइकल एसेम्बल थालेर कम्पनी यो काममा सफल भएको छ।
अहिले गोल्छा अर्गनाइजेसनले बजाजका १८ वटा मोडलका मोटरसाइकल एसेम्बल गरिरहेको छ। गोल्छालाई पछ्याउँदै अहिले नेपालमा अन्य ब्राण्ड पनि एसेम्बल गर्न लालाहित भए।
हाल बजाज, टिभिएस, रोयल इन्फिल्ड, यामाहा, सुजुकी, होण्डा, सिएक्स मोटरसाइकलले नेपालमै एसेम्बल सुरु गरिसके भने दुगड समूहले अप्रिलिया र चौधरी ग्रुपले हिरोको एसेम्बल प्लान्ट बनाउने तयारी गरिरहेका छन्। बजाजदेखि होण्डासम्म हेर्दा ६ वर्षभित्र नेपालमा एसेम्बल उद्योगले निकै फड्को मारेको देख्न सकिन्छ। यो छोटो समयमा आयातकर्ताहरु एसेम्बल उद्योगमा निकै आकर्षित भएका छन्।
सरकारले सहुलियत दिएपछि नै व्यवसायी एसेम्बल प्लान्ट बनाउन तम्सिए पनि तत्कालीन अर्थमन्त्री जनार्दन शार्माका पालामा यसले झन मलजल पाएको देखिन्छ।
सरकारले सहुलियत दिएपछि नै व्यवसायी एसेम्बल प्लान्ट बनाउन तम्सिए पनि तत्कालीन अर्थमन्त्री जनार्दन शार्माका पालामा यसले झन मलजल पाएको देखिन्छ। अर्थमन्त्री शर्माले २०७८ भदौमा बजेट प्रतिस्थापन विधेयकमार्फत नेपालमै एसेम्बल गरी सवारीसाधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३ र ८७.११ अन्तर्गत पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगद्वारा उत्पादित साधन बिक्री गर्दा लाग्ने अन्तःशुल्क महसुलमा ५० प्रतिशत छूट दिने व्यवस्था गरेका थिए।
एसेम्बल प्लान्टका लागि सरकारले लिएको नीतिका कारण आर्यातकर्ता कम्पनी एसेम्बल प्लान्ट बनाउन अग्रसर भएको सुजुकीको दुईपांग्रे सवारीसाधनका लागि नेपालको आधिकारिक वितरक भिजी अटोमोबाइल्सका महाप्रबन्धक धिरज भट्टराईले बताए। ‘मोटरसाइकलको पार्ट्स ल्याउँदा अन्तशुःल्कमा ५० प्रतिशत छूट छ। त्यही हेरेर नेपालमा एसेम्बल उद्योग सुरु भयो। अब नेपालमा एसेम्बल भएका र आयात गरिएको मोटरसाइकलको मार्जिन फरक भयो। त्यसकारण प्रतिस्पर्धा गर्न पनि अरु ब्राण्डले प्लान्ट राख्न बाध्य हुनुपर्यो,’ उनले भने।
सरकारले मेक इन नेपाललाई प्रवर्द्धन गरेको कारण आयातकर्ता कम्पनी आफैं प्लान्ट बनाउन बाध्य भएको होण्डाका लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङका वरिष्ठ महाप्रबन्धक सोहन श्रेष्ठले बताए। ‘केही समयअघि सवारी साधनको आयातमै प्रतिबन्ध लगाइएको थियो। भोलिको दिनमा फेरि पनि प्रतिबन्ध नलाग्ला भन्न सकिँदैन। त्यसकारण नेपालमै उत्पादन गर्ने उद्देश्यले एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएका हौं,’ उनले भने।
नेपालमा एसेम्बल गरे पनि पाँच वर्षको अवधिमा त्यस्ता उद्योगले १० प्रतिशत स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने प्रावधान छ। तर नेपालमा भएका एसेम्बल प्लान्टले त्यसका लागि केही पनि तयारी गरेका छैनन्। सरकारी नीति दिर्घकालीन नभएका कारण अन्य उद्योगमा लगानी गर्न समस्या परेको श्रेष्ठ बताउँछन्। ‘अन्तःशुल्कमा ५० प्रतिशत छूटको व्यवस्था बजेटले ल्याएको हो। यो त अर्को बजेटमा परिर्वतन पनि हुनसक्छ। यस्ता नीति औद्योगिक ऐनमार्फत आउनुपर्छ। १०/१५ वर्षका लागि हुने दिर्घकालीन औद्योगिक ऐन बन्यो भने लगानीकर्ताले टायर, लुब्रिकेन्ट लगायतमा पनि लगानी गर्छन्,’ उनले भने।
सवारी निर्माता कम्पनीहरुले गुणस्तरमा ध्यान दिने भएकाले पनि स्वदेशी वस्तु प्रयोग गर्न कठिन भएको उनको भनाइ छ। ‘सवारी साधनमा चाहिने फ्याब्रिक, लेग गार्ड, लुब्रिकेन्ट, प्लास्टिकका पार्ट्स लगायत वस्तु नेपालमै बनाउन त सकिएला तर त्यसमा गुणस्तरमा सम्झौता गर्न सक्दैनौं। लगानी पनि अधिक हुन्छ। त्यो लगानी उठ्ने वातावरण बनाउन सरकारले दिर्घकालीन औद्योगिक नीति बनाउनुपर्छ,’ श्रेष्ठले भने।
उसै पनि नेपालमा एसेम्बल भएको मोटरसाइकलमा गुणस्तर कम भएको भन्ने आरोप लाग्दै आएको छ। यो कुरामा सत्यता नभएको सुजुकीका भट्टराईको दाबी छ। ‘मोटरसाइकल एसेम्बल भनेको सबै सामान बाहिरबाट आउने र यहाँ फिट गर्ने मात्र हो। फिट गर्दा गुणस्तर घट्ने भन्ने हुँदैन,’ उनले भने।
अन्तःशुल्कमा सरकारले दिएको सहुलितयको कारण नै व्यवसायीहरुले प्लान्टमा लगानी गरेको गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा बताउँछन्। सरकारले एसेम्बल प्लान्ट सुरु भएको ५ वर्षपछि सवारी साधनमा प्रयोग हुने वस्तुको १० प्रतिशत नेपाली उत्पादन हुनुपर्ने भने पनि त्यो लागू गर्न नसकिएको गोल्छाको भनाइ छ। ‘हामीले सरकारी नीतिअनुसार नै प्लानिङमा काम गरिरहेका थियौं। पछिल्लो समय देखिएको अप्रत्याशित आर्थिक मन्दीका कारण हामीले त्यो पूरा गर्न सकेनौं। अहिले पनि हामीले सकेसम्म नेपाली उत्पादन प्रयोग गर्न खोजिरहेका छौं। तर यति प्रतिशत भनेर भन्नलायक नेपाली उत्पादन प्रयोग गर्न सकेका छैनौं,’ गोल्छाले भने।
अवस्था राम्रो भए एसेम्बल मात्र नभई उत्पादन नै गर्न सकिने उनको भनाइ छ। ‘अहिले त एसेम्बल मात्र भएको छ। बजार राम्रो भए १०० प्रतिशत नेपाली उत्पादन चाहीँ भन्न सकिँदैन तर धेरैजसो पार्ट्स नेपालमै उत्पादन गरेर मोटरसाइकल बनाउन सकिन्छ,’ उनले भने।