काठमाडौं। नेपाल उद्योग परिसंघ(सीएनआई) अन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ आयोजना गरिने भएको छ।
चितवनमा चैत १७ र १८ मा हुने सम्मेलन कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भरतपुर महानगर, चितवन उद्योग संघसँगको सहकार्यमा आयोजना गर्न लागिएको हो।
कृषिको रुपान्तरणकारी भविष्यः कृषिमा आधारित व्यवसायमा नवप्रवर्द्धन, दिगोपन र उद्यमशीलता नारासहित आयोजना हुने कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवर्द्धन गर्नु रहेको छ।
सम्मेलनमा कृषिमा नवप्रवर्द्धन, दिगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्व, कृषि यान्त्रिकीकरण, नेपालको माटो सुहाउँदो कृषि विकास, दिगो कृषि विकासका लागि कृषक महिला सवाल, कृषिमा महिला संलग्नताको सम्मान र उद्यमशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा छलफल हुने परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले बताए।
उत्पादनमूलक एवं सेवामूलक उद्योगको प्रतिनिधिमूलक संस्था परिसंघले महिला नेतृत्व फोरममार्फत महिला उद्यमीको सशक्तीकरण तथा प्रवर्द्धनमा काम गर्दै आएको छ।
फोरमले समावेशी, सशक्तीकरण प्राथमिकता राख्दै कृषिमा महिलालाई प्रोत्साहन, तिनका समस्या तथा समाधानका उपाय, कृषि अर्थतन्त्रमा महिलाको योगदानको कदर गरिनुपर्ने आवश्यकता बोधसहित सम्मेलन महिला उद्यमशीलता र कृषिमा केन्द्रित गरेको हो।
सम्मेलनपछि कृषिका विद्यमान समस्या, चुनौती तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकलाई अगाडि बढाउन लिइनुपर्ने नीतिगत व्यवस्थाका विषयमा सरकारलाई सुझाव पेस गरिने महिला नेतृत्व फोरम सभापति छाया शर्माले जानकारी दिइन्।
सम्मेलनअन्तर्गत चितवन भरतपुरस्थित प्रदर्शनी केन्द्रमा महिला कृषि उद्यमीका उत्पादन तथा कृषिसँग सम्बन्धित प्रविधि प्रदर्शनी गरिनेछ। सम्मेलन उद्घाटन कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले गर्ने कार्यक्रम छ।
सम्मेलनका सहयोगी संस्थामा यूएसएड, हेफर, एफएओ, मुक्तिनाथ कृषि कम्पनी, नबिल बैंक, ग्लोबल आइएमई बैंक, एग्रो नेपाल, शिखर इन्स्योेरेन्स रहेका छन्। परिसंघको महिला नेतृत्व फोरमले गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन गरेको थियो।