काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद् बैठकमा सांसदले उठाएका विभिन्ना प्रश्नको उत्तर दिइरहेका छन्।
आजको प्रतिनिधिसभा कार्यसूचीमा राखिएको सांसद–प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा दाहालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी कांग्रेसले मागिरहेको राजीनामाबारे प्रस्टीकरण दिँदै सफेद रहेको दाबी गरेका हुन्।
उनले भने, ‘हालसम्मको अनुसन्धानले रविजी सहकारी सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको देखिन्छ। अदालतमा विचाराधीन मुद्दामा पनि कहीँकतै जोडिएको देखिएन। अतः उहाँले राजीनामा दिने कुरा पनि हुँदैन र बदमासी पनि गर्नुभएको छैन।’
प्रधानमन्त्रीले सूर्यदर्शन बचत तथा सहकारी संस्थाका १ हजार बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै २०८० साउन २२ मा दिएको जाहेरीमा रविको नाम कतै उल्लेख नगरिएको दाबी गरे।
अनुसन्धानका क्रममा रविको नाममा प्रवाह भएको ऋण फरछ्योट भइसकेको जानकारी आफूले पाएकाले सहकारी ठगीमा संलग्न हुनै नसक्ने उनले बताए।
‘मूल उजुरी परेको ६ महिनापछि माघ १६ मा कास्की जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिइएको थियो। जाहेरीमा लामिछानेसमेत १८ व्यक्ति तथा कम्पनीलाई विपक्षी बनाइएको थियो। मूल उजुरीपछि थप प्रमाण भेटिएमा पुरक जाहेरी दिई अनुसन्धान गर्न सकिने प्रावधान हुन्छ। तर, उक्त जाहेरीमा उहाँ सहकारी हिनामिनामा संलग्न भएको कुनै पनि आधार प्रमाण पेस गरिएको छैन। एक पटक अनुसन्धान सकिएर अदालतमा मुद्दा दायर भइसकेको मुद्दामा यस्तो आधार प्रमाण बिनाको जाहेरी पुनः दर्ता गर्न आवश्यक हुँदैन। त्यसैले प्रहरीले कानुनबमोजिम नै उक्त जाहेरी छुट्टै दर्ता गर्नसमेत उपयुक्त ठानेन’, प्रधानमन्त्रीले लामिछानेको बचाउमा भने।
प्रधानमन्त्रीले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग कुनै पनि सम्झौता नगर्ने बताए। सांसदले सोधेका प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिए जोकसैलाई नछाडिने दाबी गरे।
आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायत काण्डको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसलाई अझै प्रभावकारी बनाइने बताए। कांग्रेसले गृहमन्त्री लामिछानेको नैतिकतामाथि प्रश्न उठाउँदै राजीनामा माग्दै आएको छ।
भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम चालिरहेको प्रधानमन्त्रीले कुनै पनि मन्त्रीबाट बदमासी भए तुरुन्तै कारबाही गर्ने उनको भनाइ थियो।