काठमाडौं। वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा १३५ वटा आयोजना समावेश गराउन प्रस्ताव गरिएको छ। ‘लगानी बोर्ड नेपाल’को कार्यालयमा सरकारी निकाय र निजी क्षेत्रले प्रस्ताव पेस गरेका हुन्। २०८१ वैशाख १६ र १७ मा हुने लगानी सम्मेलनमा निजी क्षेत्रले ७ र सरकारी निकायबाट १२८ वटा गरी १३५ वटा आयोजना प्रस्ताव भएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताए।
प्रवक्ता उपाध्यायका अनुसार नीजि क्षेत्रले केवलबार निर्माणलाई प्राथमिकता दिएका छन्। सिक्लेस अन्नपूर्ण केवलकार, जालपादेवी केवलकार, भरतपुर आइल्याण्ड रिसोर्ट, मध्यकालीगण्डकी हाइड्रो इलेक्ट्रिक, चिल्ताङ कालिगण्डकी हाइड्रो इलेक्ट्रिक छन्। त्यस्तै आइएमइ सिमेन्ट प्रोजेक्ट र काठमाडौं टेक्निकल स्कुल निर्माणका लागि नीजि क्षेत्रले प्रस्ताव पठाएका हुन्।
सहरी मन्त्रालयबाट १० वटा आयोजना प्रस्ताव
वैशाखमा हुने तेस्रो लगानी सम्मेलनका लागि सहरी विकास मन्त्रालयबाट १० वटा आयोजना प्रस्ताव गरिएको मन्त्रालयका सूचना अधिकारी सुरेश वाग्लेले बताए। उनका अनुसार भवन, बबरमहलमा प्लाजा बनाउने, काठमाडौं उपत्यका भित्रका नयाँ सहर निर्माण गर्ने, त्यस्तै तेह्रथुम जिल्लामा लागिगुराँस पार्क बनाउने प्रस्ताव सहरीले पठाएको छ।
‘प्रस्ताव गरेका सबै आयोजना लागनी बोर्डले ‘सोकेश’ नगर्न सक्छ तर, ३ वटाको विस्तृत विवरण मागेकाले तिनीहरुको सम्भावना बढी हुने हाम्रो बुझाइ हो’ सूचना अधिकारी वाग्लेले भने।
भौतिक मन्त्रालयबाट ११ वटा आयोजना प्रस्ताव
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि महत्त्वपूर्ण र रुपान्तरणकारी आयोजना लगानी सम्मेलनमा प्रस्ताव गरेको छ। मन्त्रालयका सहसचिव भिमार्जुन अधिकारीका अनुसार सवारीसाधनको चाप भएका सडकमा सुरुङ निर्माणलाई बढी प्राथमिकता दिएर प्रस्ताव पठाइएको छ।
दाउन्ने, मुग्लिनबाट चितवन पुग्ने सडक, धरान, बबई–छिन्चुलगायत स्थानमा सुरुङ निर्माणका लागि लगानी जुटाउने प्रस्ताव भौतिक मन्त्रालयले पठाएको हो। त्यस्तै काठमाडौं उपत्यकामा ‘अर्बन रेल’का लागि पनि प्रस्ताव गरिएको सहसचिव अधिकारीको भनाइ छ। ‘हामीले लगानी गर्नुपर्ने ठाउँहरु यहाँ छन् भनेर प्रस्ताव गरेका छौं बोर्डले अन्तिम निर्णय गर्छ,’ उनले भने।
ऊर्जा मन्त्रालयबाट ३९ आयोजना प्रस्ताव
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले लगानी सम्मेलनमा ३९ आयोजना समावेश गर्न बोर्डमा प्रस्ताव पठाएको छ। यद्यपि सबै आयोजनामा तत्काल लगानी अवश्यक नभएको मन्त्रालयका सूचना अधिकारी राजु महर्जन बताउँछन्। ‘३९ आयोजनामध्ये १० वटालाई पूर्णरुपमा लगानी खोजी हुन्छ, २५ वटाका लागि साझोदारीमा लगानी खोज्ने हाम्रो योजना हो,’ सूचना अधिकारी महर्जन भन्छन्, ‘बाँकी ४ वटा आयोजना भने हामीसँग यस्ता परियोजना छन् भनेर सूचना दिनका लागि प्रस्ताव पठाएको हो।’
खानेपानीका ४ आयोजना
खानेपानी मन्त्रालयले ४ वटा खानेपानी आयोजना निर्माणका लागि प्रस्ताव गरेको छ। मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) प्रभात श्रेष्ठका अनुसार सिस्नेरी, ठोस्ने खोला, कन्के देउराली र महादेवखोला खानेपानी आयोजना निर्माणका लागि प्रस्ताव गरिएको छ। त्यस्तै उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले १६ वटा आयोजनाका लागि लगानी जुटाउन प्रस्ताव पठाएको छ। रुकुमपूर्वको भूमे गाउँपालिकामा यही वर्ष भेटिएको फलाम खानी उत्खनन् सहितका १६ परियोजनामा लगानी जुटाउन प्रस्ताव पठाएको उद्योग मन्त्रालयले जनाएको छ।
लगानी बोर्डले भने चैत तेस्रो सातासम्म सम्मेलनमा सोकेश गर्ने आयोजनाको अन्तिम नाम टुंगो लगाउने बोर्डका सहप्रवक्ता रमेश अधिकारी बताउँछन्। पछिल्लो समय सत्ता साझेदार गठबन्धनमा भएको परिवर्तनका कारण लगानी सम्मेलन सर्ने सम्भावना पनि छ।
तर, सहप्रवक्ता अधिकारी गठबन्धन परिवर्तन भए पनि सरकार परिवर्तन नभएकाले लगानी सम्मेलनलाई असर नहुने बताउँछन्। ‘हामीलाई नियमित काम गर्न भनिएको छ, सम्मेलन परिवर्तनको कुरा आएको छैन’ उनले भने।