काठमाडौं। सुन तस्करी प्रकरणमा संलग्न भएपछि माओवादी केन्द्रका उपाध्यक्ष, पूर्वसभामुख एवं पूर्वअर्थमन्त्री कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न प्रहरीले चार दिनको म्याद पाएको छ।
जिल्ला अदालत काठमाडौंले महरामाथि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई चार दिनको समय दिएको हो।
सुन तस्करी प्रकरणबारे छानबिन गर्न महरालाई आज बिहान कपिलवस्तुबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।
यसअघि सुन प्रकरणमा अनुसन्धान गरेको सीआईबीले महरालाई बयान कागज गराएर छाडेको थियो। उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।
इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ। ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।
जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुगेको छ। यसअघि सीआईबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागज मात्रै गराएर छाडेको थियो।
यसअघि सञ्चारमन्त्री हुँदा मोबाइल सेवाको लाइसेन्स वितरणदेखि चिनियाँ व्यापारीसँग सरकार निर्माण गर्न सांसदहरूलाई आफ्नो पक्षमा ल्याउन ५० करोड रकम मागेको अडिओ टेप प्रकरणमा समेत मुछिएका थिए।
६ पटक मन्त्री भएका महराले गृह, अर्थ, परराष्ट्र, सञ्चारजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए। चार पटक सांसद भएका महरा विवादमा मुछिँदै आएका छन्।
साढे चार वर्षअघि महरा प्रतिनिधिसभाको सभामुख रहेका बेला २०७६ असोज १२ मा संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको थियो। सोही आरोपमा उनी पक्राउ परेर थुनिए पनि सत्तारुढ हुनुको लाभमा छाडिएका थिए।