राष्ट्र बैैंकले बैंकिङ सेवा दिँदा कुनै पनि शुल्क वा कमिसन लिँदैन। तर, नेपाल धितोपत्र बोर्डले किन कमिसन लिन्छ भन्ने कुरा उठेको छ। राष्ट्र बैंकले प्रत्यक्ष रुपमा ग्राहकसँग नजोडिएको भएर त्यस्तो शुल्क वा कमिसन नलिएको होला। धितोपत्र बोर्डका सन्दर्भमा विश्वभरमा, पुँजी बजार विकसित भएको देशमा र बजार राम्रो भएको मुलुकमा पनि एकदमै न्यून शुल्क लिने अभ्यास छ। हामीले पनि यही अभ्यासलाई पछ्याउँदै लिएका हौं। यसर्थ, हामीले मात्रै यहाँ नियमन शुल्क लिएका होइनौं। हामीले लिएको शुल्क एकदमै न्यून हो।
धितोपत्र बजारमा लगानी गरेर जोखिमलाई कसरी घटाउन सकिन्छ र प्रतिफललाई कसरी बढाउन सकिन्छ भन्ने कुरा पनि चलेको छ। धितोपत्र बजारमा लगानी गर्ने भनेको यसमा के–कस्तो जोखिम हुन्छ र त्यो जोखिमलाई कसरी कम गरेर प्रतिफल लिन सकिन्छ भनेर हो। लगानीकर्ताले आफूसँग भएको ज्ञान तथा विश्लेषण गर्ने क्षमतालाई हेरेर मात्रै लगानी गर्नुपर्छ। जोखिमको सही मूल्यांकन गर्न सके मात्रै फाइदा उठाउन सकिन्छ। प्राथमिक बजारमा लगानी गर्दा आईपीओ जारी गरेको कम्पनीलाई रेटिङ कम्पनीले कस्तो रेटिङ दिएको छ भनेर हेर्नुपर्छ। आईपीओ जारी गरेको कम्पनीको व्यवस्थापन कस्तो छ, सञ्चालन सुशासन कस्तो छ, ट्रयाक रेकर्ड कस्तो छ भन्ने कुरा हेर्नुपर्छ। विगतमा त्यसको कार्यसम्पादन कस्तो थियो, उसको प्रस्तुति कस्तो थियो भन्ने पनि हेर्नुपर्दछ।
बैंकिङ क्षेत्र हो भने एनपीए कति छ जस्ता विषय पनि विश्लेषण गर्नुपर्छ। उसले जुन प्रतिफल दिन्छु भनेको कुरा कति वास्तविक छ, त्यसलाई पनि हेर्नुपर्छ। बैंक हो भने बैंकिङ क्षेत्रको जोखिम कस्तो छ, त्यस क्षेत्रको समग्र अवस्था कस्तो छ, कति विश्वासको वातावरण छ जस्ता सूचक हेर्न आवश्यक छ। यस्तै, होटल क्षेत्रको आईपीओ जारी भएको छ भने पर्यटक देशमा कति आएका छन्, कति क्षमतामा होटल चलिरहेका छन्, पर्यटक आवागमन अवस्था कस्तो छ, यी यावत् कुरा हेर्नुपर्दछ। होटल राम्रो क्षमतामा चलेको छ भने त्यसको आईपीओ राम्रो हुन्छ। त्यसकारण बैंकिङ क्षेत्रको आईपीओ राम्रो कि, हाइड्रोको राम्रो कि होटल क्षेत्रको राम्रो भनेर तुलना गरेर तिनको विवरण पत्र राम्रोसँग केलाउनुपर्छ।
आईपीओ जारी गर्ने कम्पनीका विवरणपत्रमा जोखिम उल्लेख गरिएका हुन्छन्। तथापि, त्यसमा उल्लेख गरिएका जोखिम वास्तविक छन् कि छैनन् भन्ने हेर्न आवश्यक छ। यी सबै कुरा हेरेर प्राथमिक बजारमा आईपीओ किन ल्याउनुपर्यो, उक्त कम्पनीको प्रिमियम कायम भएको छ÷छैन, त्यसको प्रिमियम मूल्य सही छ वा छैन भन्ने कुरा पनि कुनै कम्पनीको विषयमा अध्ययन गर्दा महत्त्वपूर्ण हुन्छ।
बुक बिल्डिङबाट आईपीओ जारी गर्ने काम सुरु भएको छ। बुक बिल्डिङमा तोकिएको मूल्य उचित छ वा छैन भन्ने विषय पनि हेर्नुपर्दछ। त्यस्तै, दोस्रो बजारमा सेयर खरिद गर्दा बजारको सबै इन्डेक्स कस्तो अवस्थामा छन् भन्ने कुुरा हेक्का राख्नुपर्छ। नेप्से सूचक एकदमै बढ्दै गएर एक–दुई दिन घटेर फेरि बढ्या भने पनि त्यसलाई बढेको मानिन्छ। २०७८ भदौ २ मा नेप्से ३२०० माथि पुगेको थियो। नेप्से माथिल्लो बिन्दुमा पुगेको समय अझ माथि जान्छ÷जाँदैन भन्ने विषयमा पनि नजर लगाउनुपर्छ।
हाल नेप्से सूचक घटेर २००० तथा २१०० को बीचमा छ। यसर्थ, यस्तो समय विभिन्न विषय हेरेर अगाडि बढ्नुपर्दछ। राष्ट्र बैंकले नियमन गर्दा कानुनी कारबाहीमा परेको छ कि छैन, सेबोन तथा स्टक एक्सचेन्जले कुनै कारबाही गरेको छ वा छैन, भन्ने विषय पनि हेर्नुपर्दछ। यस्तो कुरा हेरेर दोस्रो बजारमा उसको मुल्य एकदम स्थिर रुपमा माथि गइरहेको छ वा अस्थिर खाले छ, त्यसमा विचार गर्नुपर्छ।
अर्कोतर्फ माइक्रो फाइनान्सको कुरा गर्दा यसको पुँजी सानो हुन्छ। त्यसैले इच्छाअनुरुप बढाएर लग्ने अवस्था पनि हुन्छ। यी पनि विचारणीय कुरा हुन्। कमर्सियल बंैकहरुको हकमा त्यसरी बढाउने ठाउँ नहुन सक्छ। दोस्रो बजारमा लगानी गर्दा पनि यस्ता कुरालाई हेर्नुपर्दछ। सेयरमा वास्तवमा सबैले लगानी गर्न सकिन्छ। धितोपत्र बजारमा सानोभन्दा सानो लगानी गर्न सकिन्छ। हजार, दुई हजार, चार हजार धेरै ठूलो लगानी होइन। त्यसकारण २५४ वटा सूचीकृत कम्पनीको पनि गति हेर्नुपर्छ। बजारमा कारोबार कसरी भइरहेको छ, नियमित भएको छ भने सबैले किनेर राखेको आकर्षण भएको पनि हुन्छ। यसलाई किन्यो भने सुरक्षित लगानी हुन्छ। यस्ता कम्पनीबाट प्रतिफल बढी हुन्छ भने लगानी कम हुन्छ।
विद्यार्थीले घरबाट खाजा खान दिएको २–४ हजार मात्र लगानी गरेर पनि यसमा लाभ लिन सकिन्छ। सेयरमा लगानी धेरै उमेर भएपछि होइन, सानोमै थोरै–थोरै गर्ने हो। निर्धक्कसाथ सबै कुराको अध्ययन र विश्लेषण गरेर गर्ने हो। धेरै समय दिनुपर्दैन। दिनमा १–२ घन्टा दिए पनि सेयरमा लगानीका लागि पर्याप्त पुग्छ। यी सबै विषय विचारेर अघि बढ्न सके विद्यार्थीले सेयर बजारबाट राम्रो फाइदा लिन सक्छन्।
(नेपाल राष्ट्र बैंकको ग्लोबल मनी विक–२०२४ मा बोर्डका निमित्त अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक अधिकारीबाट व्यक्त विचार)