काठमाडौं। उडान बन्द भएको एक दशकपछि बीबी एयरवेजले पुनः जहाज किन्ने अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बीबीलाई तीन थान एयरबस ए ३२० जहाज खरिद अनुमति दिएको हो।
प्राधिकरणले बिबीलाई फागुन २३ मा निर्णय गर्दै नो अब्जेक्सन सर्टिफिकेट(एनओसी) दिएको जनाएको छ।प्राधिकरणले एओसी दिनुअघि विभिन्न पाँच वटा प्रक्रिया पूरा गर्छ। सोहीअनुसार तीन चरणको प्रक्रिया पूरा गरेपछि प्राधिकरणले जहाज ल्याउन पाउने गरी बीबी एयरवेजलाई एनओसी दिएको हो।
बीबीले पाँचवटा जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने योजनाअनुरुप लाइसेन्स नवीकरण गर्दै एओसीका लागि प्राधिकरणमा निवेदन दिएको थियो। बिबीले कुल लागत २ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेर जहाज किन्ने तयारी गरेको छ।
बीबी एयरवेजका सुरेशमान सिहंले ६ महिनाभित्रै जहाज नेपाल ल्याउने गरी आन्तरिक तयारी गरेको बताए। ‘जहाज खरिदको अन्तिम चरणमा छौं,’ सिंहले भने, ‘हाम्रा नियमित उडान पहिलो चरणमा दोहा, दिल्ली र मलेसिया हुनेछन्।’
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट अध्यक्ष रहेको यो कम्पनी २०६८ मा स्थापना भएको हो।
बीबीले २०६९ भदौ २८ गते काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एक थान बोइङ ७५७–२०० सिरिजको जहाज भाडामा लिएर उडान गरे पनि कात्तिकमै बन्द गरेको थियो।
बीबीले २०७४ मा नेपाल एयरलाइन्सको पुरानो बोइङ जहाज किनेर उडान गर्ने योजना बनाएको थियो। तर, त्यो जहाजबाट पनि बीबीले उडान गर्न सकेन।