काठमाडौं। सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२७ अंकले बढेर २०७३.५३ को बिन्दुमा बन्द भएको हो।
लगातार तीन कारोबार घटेपछि बजार आज उकालो लागेको हो। अघिल्लो कारोबार दिन आइतबार भने नेप्से १०.६२ अंकले घटेर २०७०.२५ को बिन्दुमा बन्द भएको थियो।
यस्तै, गएको बिहीबार नेप्से २७.८४ अंकले घटेर २०८०.८७ को बिन्दुमा बन्द हुँदा बुधबार २.४८ अंकले घटेर २१०८.७२ को बिन्दुमा बन्द भएको थियो।
अघिल्लो कारोबार दिनको तुलनामा सोमबार कारोबार रकममा भने गिरावट आएको छ। सोमबार कुल २ अर्ब ८८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। अघिल्लो दिन आइतबार भने कुल ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस्तै, गत बिहीबार भने सेयर बजारमा कुल ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये १ सय ४८ कम्पनीको सेयर मूल्य बढ्दा ८५ कम्पनीको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर छ।
आज गोर्खाज फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, पिपुल्स पावर लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा ९.९९ प्रतिशतको वृद्धि भएको छ।
सोमबार मानुसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यस कम्पनीको सेयर मल्य ५.१५ प्रतिशतले घटेको छ।