काठमाडौं। ‘खै के भएको हो? आफूले बेचेको कम्पनीको मूल्य बेचिसकेपछि बढ्छ र किनेको कम्पनीको मूल्य किन्नासाथ घट्दै जान्छ’ रामकृष्ण ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस हो यो। केही दिनअघि ‘धोकेबाज हौ तिमी’ नामक फेसबुक प्रोफाइल भएका व्यक्तिले लेखेका छन्, ‘यो सेयर बजार मेरा लागि होइनजस्तो छ। मैले किन्दा घट्छ, बेचिसकेपछि बढ्छ।’ यी प्रतिनिधि उदाहरण मात्रै हुन्। सामाजिक सञ्जालमा यस्ता टिप्पणी लगानीकर्ताले सामाजिक सञ्जालमा गरिरहन्छन्। जनचेतनाको अभावमा धेरै लगानीकर्ता सामाजिक सञ्जालमा गरिने टिप्पणी र विश्लेषणकै आधारमा सेयर कारोबार गर्दै आएका पनि छन्।
सामाजिक सञ्जालमा हुने चर्चा र विश्लेषणमा विश्वास गरेर सेयर किनबेच गर्ने कतिपय लगानीकर्ता फस्ने गरेका छन्। फेसबुक, ट्विटर, क्लब हाउस, युट्युबजस्ता सामाजिक सञ्जालमा केही व्यक्ति तथा समूह आफ्नो चाहनाअनुसार कुनै कम्पनीको सेयर खरिदबिक्रीमा सक्रिय हुन्छन्। विभिन्न सामाजिक सञ्जालमा सेयर बजारसम्बन्धी अनेकन ग्रूपहरु बनाइएका छन्। यस्ता ग्रूपहरुमा ‘अब बढ्ने पालो यो कम्पनीको, अब यसको मूल्य घट्छ, यस्तो कम्पनीको सेयर बेच्ने समय आयो’ जस्ता चर्चा गरिरहन्छन्। गत बिहीबार सामाजिक सञ्जाल फेसबुकमा यस्तै पोस्ट गरिएको थियो। अनोनिमस नामक व्यक्तिले लेखेका थिए, ‘कोको फस्नुभयो त एचडिएलमा? समय बाँकी रहँदै निस्किनुहोला।’ यी र यस्तै किसिमका टिप्पणीको प्रभावमा लगानीकर्ता पर्ने गरेको लगानीकर्ता नवराज दाहाल बताउँछन्।
कानुनअनुसार सेयर बजारमा लगानीकर्तालाई प्रभाव पार्ने किसिमको कुनै पनि काम गर्न पाइँदैन। धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार सामाजिक सञ्जालमा हुने उक्त किसिमका चर्चा र विश्लेषण पनि धितोपत्रसम्बन्धी कसुर मानिन्छ।
सामाजिक सञ्जालमा सेयर किन्न वा बेच्न सुझाव पनि मागेको पाइन्छ। हरि आचार्यले यस्तै एक पोस्ट गरेका छन्। उनले लेखेका छन्, ‘साथीहरु एक लाखको सेयर आइतबार किन्न भनेको बैंकहरुमा एनआईसी एसिया, नबिल, एआईएमबी र प्रभुमा कुन राम्रो होला? प्रतिफल कसले दिन्छ होला? भनिदिनुहोस्।’ यसरी सुझाव मागिएको पोस्टमा विभिन्न किसिमको सुझाव पनि दिइएको छ। वास्तवमा सामाजिक सञ्जालमा आउने विशलेषण तथा टिप्पणीहरु आधिकारिक हुँदैनन्। त्यसैले सामाजिक सञ्जालमा हुने सेयरसम्बन्धी चर्चा र टिप्पणीमा विश्वास गरिहाल्नु हुँदैन।
सामाजिक सञ्जालको प्रयोग गरी बजार प्रभावित पार्ने किसिमका काम गर्नेलाई नियामकले पनि निरुत्साहित गर्न आवश्यक रहेको लगानीकर्ता बताउँछन्। सामान्य कुराले वा कसैले बजारको विषयमा टिप्पणी गर्दा त्यसको असर बजारमा र लगानीर्तामा पर्ने भएकाले त्यस्तो कुरामा नियामकले ध्यान पुर्याउन आवश्यक भएको स्टक ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष भरत रानाभाट बताउँछन्। ‘बजारलाई प्रभावित गर्ने व्यक्तिले सामाजिक सञ्जाल वा अन्य कुनै किसिमबाट बजारलाई प्रभावित पारी फाइदा लिनु गलत र कानुनविपरीत छ। यस्तो काम कसैले गर्न पाइँदैन,’ रानाभाट भन्छन्, ‘यस्तोबाट बच्न लगानीकर्ताले सही सूचना उपयोग गर्नुपर्छ भने कम्पनीका बारेमा आफैंले अध्ययन गर्न आवश्यक हुन्छ।’
कुनै कम्पनीको सेयर किन्ने बेला वा बेच्ने बेला भयो भनेर सामाजिक सञ्जालमा अफहवा फैलाइने यस्तो काममा ५/७ जनाको समूह नै लागेको लगानीकर्ता दाहाल बताउँछन्। सामाजिक सञ्जालबाट लगानीकर्तालाई उक्साएर त्यसबाट सधैँ फाइदा उठाउने काममा विभिन्न समूह लागिपरेको उनको भनाइ छ। कानुनअनुसार सेयर बजारमा लगानीकर्तालाई प्रभाव पार्ने किसिमको कुनै पनि काम गर्न पाइँदैन। धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार सामाजिक सञ्जालमा हुने उक्त किसिमका चर्चा र विश्लेषण पनि धितोपत्रसम्बन्धी कसुर मानिन्छ।
उक्त ऐनमा कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने, घटाउने वा स्थिर बनाउने काम गर्न नपाउने व्यवस्था छ। यस्तो काम गर्नेलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने तथा १ वर्षसम्म कैद सजाय वा दुवै कारबाही हुने व्यवस्था छ। तर, कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि कम्पनीका विषयमा सकारात्मक तथा नकारात्मक हल्ला फैलाएर आफूले फाइदा लिने ढंगको काम हुँदै आएको छ।