काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंक तथा वित्तीय संस्थालाई नियामक निकायले डुब्न नदिने बताएका छन्। सोमबार ‘ग्लोबल मनी वीक २०२४’ को अवसरमा आयोजित कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्था डुब्न नदिने बताएका हुन्। ‘हाम्रा बैंक तथा वित्तीय संस्थाहरु सेभ, साउन्ड छन् र डुब्दैनन्,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुले के गरिरहेका छन् राष्ट्र बैंकले दैनिक रुपमा नियमन तथा सुपरिवेक्षण गरिरहेको छ।’
बैंक तथा वित्तीय संस्थामा समस्या आउने सम्भावना मात्रै देखे पनि राष्ट्र बैंकले त्यसबारे सम्बन्धित संस्थालाई सचेत गराइरहेको उनले बताए। ‘स–सानो समस्या देखे पनि तपाइहरु यो गर्नुस् यहाँ कमजोरी छ भनेर भन्ने गर्छौं र पारदर्शी रुपमा हेर्नसक्ने हुँदा यी बैंक तथा वित्तीय संस्थाहरु कुनै पनि डुब्ने अवस्थामा छैनन्,’ उनले भने, कुनै पनि हल्लाको पछि लाग्नुपर्ने वा त्यस्ता हल्लालाई पत्याउनुपर्ने कुनै पनि आंकडा, तथ्यांकले देखाउँदैन।’
बैंक डुब्नु भनेको बचतकर्ताको पैसा फिर्ता दिननसक्ने अवस्थामा पुग्नु हो तर नेपालको बैंक तथा वित्तीय संस्थासँग अहिले पर्याप्त निक्षेपकर्ताको पैसा फिर्ता गर्न सक्ने गरी तरलता रहेको उनको भनाइ थियो। ‘बैंक तथा वित्तीय संस्थालाई निक्षेपकर्ताको पैसा फिर्ता दिन समस्या नहोस् भनेर नै कुल निक्षेपको न्यूनतम २० प्रतिशत तरल रुपमा अनिवार्य नगद मौज्दात राख्न लगाइएको छ,’ उनले भने, ‘अहिले बैंकहरुसँग २७ प्रतिशत तरलता बोकेर बसेका छन्।’
कार्यक्रममा वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले नेपालका निजी क्षेत्रका बैंकहरु अहिले इतिहासकै उत्कृष्ट अवस्थामा रहेको बताए। ‘बैंक डुब्दैछ भन्ने हल्ला तथ्यहीन र आधारविहीन कुरा हो। नेपालको निजी क्षेत्रको बैंकिङ इतिहास करिब ४० वर्ष भयो।’ केसीले भने, ‘अहिलेको बैंकिङ अवस्था, पर्फमेन्सलाई हेर्ने हो भने यो वर्षको बैंकिङ इतिहासकै सबैभन्दा राम्रो अवस्थामा छ।’ नेपालको बैंकिङसँग १०/१५ वर्षयताकै सबैभन्दा धेरै तरलता अर्थात कर्जा दिनसक्ने पैसा रहेको उनको भनाइ थियो। तरलतासँगै बैंकका अन्य इन्डिकेटरहरु पनि पोजेटिभ जोनमा रहेको उनले बताए। नेपालका बैंकिङ क्षेत्र अन्य क्षेत्रको तुलनामा शतप्रतिशत पारदर्शी भएको हुँदा यो क्षेत्रका कुनै पनि संस्थाहरु डुब्ने अवस्थामा नरहेको केसीको भनाइ छ।