काठमाडौं। सांसद एव कांग्रेस महामन्त्री गगन थापाले सुन प्रकरणमा मुछिएका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकामा सरकारलाई धन्यवाद दिएका छन्।
आजको संसद् बैठक सुरु हुनेबित्तिकै सभामुख देवराज घिमिरेसँग समय मागेर बोलेका थापाले सुन तस्करीसँगै सहकारी, लघुवित्तलगायत सबै घटनामा संलग्नलाई पक्राउ गर्नुपर्ने बताए।
केही समयअघि एमाले प्रतिपक्षी बेन्च बस्दा सदनमा उठाएको विषय अहिले सान्दर्भिक लागेको उनले स्मरण गरे। एमालेले सुन तस्करीलगायत घोटालामा संलग्न ठूला पार्टीका नेताहरुमाथि छानबिन गर्न संसदीय छानबिन आयोग गठन हुनुपर्नेमा माग गरेको थियो।
एमालेले सोही माग अगाडि सारेर तीन महिना बढी संसद् अवरोध गरे पनि पछि छानबिन समिति गठनमा सरकार सहमत भएपछि अवरोध खुलाएको थियो। सांसद थापाले एमालेले उतिबेला गरेको माग अहिलेको सन्दर्भमा सामयिक लागेको बताए।
‘प्रहरीको नियमित अनुसन्धानबाट राजनीतिक दलका ठूला नेतामाथिको छानबिन सही टुंगोमा पुग्न सक्दैन। शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षी एमालेको आशंका सही सावित भयो,’ थापाले भने।
सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको र मुद्दा चलाउन सिफारिस भएका पूर्वसभामुख एवं पूर्वअर्थमन्त्रीसमेत रहेका महरालाई पक्राउ गरेकामा उनले सरकारलाई धन्यवाद दिए।
‘आयोगले प्रतिवेदन बुझाएको छ। भर्खर हामीले समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ। सरकारलाई धन्यवाद छ। यसमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ।’