काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ देखि राजधानीमा आयोजना हुने भएको छ। स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७औं संकरण यसपटक अगामी वैशाख २६ देखि ३० सम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको हो।
कोरोनापछि विश्वभर आएको आर्थिक मन्दीको प्रभावबाट प्रभावित नेपाली उद्योगको वर्तमान अवस्था झल्काउनु र तिनको व्यापार प्रवर्द्घन गर्न सहयोग पुर्याउने उद्देश्यले ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ नारासहित मेला आयोजना गरिने भएको हो।
मुलुकभरका झन्डै ६ लाख बढी लघु, घरेलु तथा साना उद्योग र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रदर्शनीले प्रतिविम्बित गर्ने महासंघ अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए।
प्रदर्शनीले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत सबैखाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजीजस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने बताइएको छ।
प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ।
प्रदर्शनीमा २५० वटा स्टल रहने र दुई लाख बढी अवलोकनकर्ताले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ भने ७ करोड बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको अध्यक्ष सिंहले बताए।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने प्रदर्शनीको सह–आयोजकको रुपमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय– लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, काठमाडौं महानगर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रलगायत विभिन्न सरकारी निकाय तथा विभिन्न उद्योग, बैंक तथा व्यावसायिक संघसंस्थासँगको सहकार्यमा मेला सञ्चालन गरिन लागेको महासंघले जनाएको छ।