काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री कृष्णबहादुर महरा पक्राउ परेका छन्।प्रतिनिधिसभाका पूर्वसभामुखसमेत रहेका महरालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो। उनलाई काठमाडौं काठमाडौं ल्याएर बयानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालय लगिएको छ।
सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्धा चलाउन सिफारिस गरेकाे थियाे। सोहीअनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।
यसअघि महरासँग आयोगले बयानसमेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।
इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ। ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।
जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुगेको छ। यसअघि सीआईबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागज मात्रै गराएर छाडेको थियो।
यसअघि सञ्चारमन्त्री हुँदा मोबाइल सेवाको लाइसेन्स वितरणदेखि चिनियाँ व्यापारीसँग सरकार निर्माण गर्न सांसदहरूलाई आफ्नो पक्षमा ल्याउन ५० करोड रकम मागेको अडिओ टेप प्रकरणमा समेत मुछिएका थिए।
६ पटक मन्त्री भएका महराले गृह, अर्थ, परराष्ट्र, सञ्चारजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए। चार पटक सांसद भएका महरा विवादमा मुछिँदै आएका छन्।
साढे चार वर्षअघि महरा प्रतिनिधिसभाको सभामुख रहेका बेला २०७६ असोज १२ मा संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको थियो। सोही आरोपमा उनी पक्राउ परेर थुनिए पनि सत्तारुढ हुनुको लाभमा छाडिएका थिए।