काठमाडौं। रैथाने उत्पादनमा धेरैले फाइदा देख्दैनन्। त्यसमाथि सातै प्रदेशका स्थानीय उत्पादनलाई एउटै बृहत् बजारको आकार दिनु र एकै ठाउँमा देशैभरका मौलिक स्वाद चखाउनु सजिलो पक्कै होइन। सुमन र राधिका दाहालको अथक प्रयासले स्वदेशी वस्तु र स्वादलाई स्थानीय क्षेत्रबाट उठाएर ‘ब्राण्डिङ’ गरिदिएको छ। सातै प्रदेशको स्वदेशी उत्पादनको बजार व्यवस्थापन र प्रवर्द्धनले व्यापारमा एउटा आशलाग्दो जग बसाएको छ दाहाल दम्पतीले। उनीहरुले स्थानीय उत्पादनको व्यापारलाई दुई वर्षभित्रै करोडौँको बनाउन सफल भएका छन्।
थुप्रैलाई रोजगारसमेत दिएका छन्। मनले आँटे देशमै रुपैयाँ फलाउन सकिन्छ भन्ने कुराको सबल उदाहरण हुन् दाहाल दम्पती। काठमाडौँ कपनमा ५ लाख रुपैयाँ लागानीबाट सुरु भएको मौलिक भान्सा तथा मौलिक बजारसहितको व्यापार अहिले १५ करोड रुपैयाँ पुगिसकेको राधिका दाहाल बताउँछिन्। 'व्यवसाय सुरु गर्दा श्रीमान्–श्रीमतीले काम गरेका थियौँ। दुई वर्षमा २५ जनालाई रोजगारी दिन सफल भएका छौँ,' उनले भनिन्, 'मौलिक भान्सा र मौलिक बजारबाहेक हर्बल कस्मेटिक, अदुवा–लसुनको पेस्टसहितको उद्योगको राम्रो बजारीकरण सुरु गरेका थियौँ। त्यसको कमाइले व्यवसाय बढाउन सकेका हौँ।'
सात प्रदेशको स्वाद र उत्पादन
स्वदेशी तथा मौलिक उत्पादनको प्रवर्द्धन तथा बजार व्यवस्थापन गर्न सकिन्छ भन्ने सोच मौलिक बजारका अध्यक्ष सुमन दाहाललाई ५ वर्ष अगाडि नै आएको थियो। सोही परिकल्पनाको आधारमा उनले ‘मौलिक बजार कपन जाऔँ, मौलिक भान्सामा रमाऔँ, सात प्रदेशको परिकार खाऔँ, ७ सय ५३ पालिकाको उत्पादन लैजाऔँ’ भन्ने मुख्य उद्देश्य साथ परियोजनाको खाका कोरे।
दाहालका अनुसार मौलिक बजारमा प्रत्येक ७ सय ५३ पालिकाको नामकरण र एक उत्पादनको ब्राण्डिङ गर्नु यसको उद्देश्य हो। 'अवधारणा अलि अगाडि बनाए पनि कार्यान्वयन भएको २ वर्षमात्रै भएको छ। एक स्थानीय तह एक उत्पादनको ब्राण्डिङ गर्ने अवधारणा राख्यौँ। त्यसका लागि ७ सय ५३ वटा खण्ड बनाएर प्रत्येक स्थानीय तहअनुसारको नामकरण गर्यौँ र पालिकाहरुलाई आह्वान गर्यौँ,' उनले भने, 'एउटा पालिकाबाट एउटा उत्पादन ब्राण्डिङ गरेर हामी बिक्रीवितरण गर्छौं भनेर अगाडि बढ्यौँ। अहिले जम्मा ३ सय ६ पालिकाको सामान यहाँ उपलब्ध छ।'
उनका अनुसार चाँडै सबै पालिकाबाट स्थानीय उत्पादन संकलन गरिनेछ। सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–२ घर भएका सुमन दाहालले आयुर्वेद अध्ययन गरेका हुन् भने मण्डनदेउपुर–५ काभ्रेकी राधिकाले पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं एलएलबी गरेकी छन्। 'श्रीमानले परिकल्पना गर्नुभएको मौलिक वस्तुलाई बजारीकरण गर्ने र मौलिक स्वाद पस्किने सपना मलाई पनि उचित ल्याग्यो र यसमा दुबै दम्पती सक्रिय भयौं,' उनले भनिन्। मौलिक भान्सा र बजारको व्यवस्थापनदेखि बजारीकरणको जिम्मा राधिकाले लिएकी छन्। 'चुनौतीहरु धेरै छन्। त्यो पार गर्दै धेरै यसमा लाग्नुपर्छ,' उनले भनिन्, 'अहिलेको विश्वव्यापी मन्दीको अवस्थामा उत्पादनमा जानुको विकल्प छैन।’
कोशीको किनेमा र झ्याउ, तराईको भक्का, मधेश प्रदेशको बगिया र गहुँको रोटी बागमती प्रदेशको नेवारी खाजा सेट र योमरी, गण्डकी प्रदेशको पोखरेली जेठोबुढो चामलको खिर र सेलरोटी लुम्बिनीको खिचडी र ढिकरी, कर्णालीको मार्सीको खाना र कसार तथा सुदूरपश्चिमबाट माडा र रोटा आदि परिकारहरु विशेष परिकारमा सामेल छ।
मौलिक परिकारमा बगियादेखि भक्कासम्म
मौलिक भान्सामा सात प्रदेशको विशेष परिकार पाक्दै आएको छ। मौलिक खानाको पारखीहरुका लागि उत्तम गन्तव्य हुनसक्छ मौलिक भान्सा। दाहाल भन्छन्, 'हामीले सबै प्रदेशको विशेष चर्चित परिकार पस्कँदै आएका छौँ। कोशीको किनेमा र झ्याउ, तराईको भक्का, मधेश प्रदेशको बगिया र गहुँको रोटी बागमती प्रदेशको नेवारी खाजा सेट र योमरी, गण्डकी प्रदेशको पोखरेली जेठोबुढो चामलको खिर र सेलरोटी लुम्बिनीको खिचडी र ढिकरी, कर्णालीको मार्सीको खाना र कसार तथा सुदूरपश्चिमबाट माडा र रोटा आदि परिकारहरु विशेष परिकारमा सामेल छ। 'ढिँडो, खिर, चाम्रे, पुवादेखि लिएर स्थानीय मौलिक सबै परिकारलाई हामीले पेय र खाजा, खानका रुपमा पस्किँदै आएका छौँ,' बजार व्यवस्थापक राधिका भन्छन्, 'मेरो ठाउँको के उत्पादन आयो भनेर खोज्दै आउनेहरुको भीड बढ्दो छ। आफ्नो गाउँघरको उत्पादन पाएपछि खुशी हुनेहरु पनि उत्तिकै हुनुहुन्छ।'
यसलाई पैसासँग दाँज्न नसकिने उनीहरुको भनाइ छ। मौलिक बजार तथा भान्सा घर परियोजनाअन्तर्गत सङ्ग्रहालयसमेत बनाइएको छ। यसभित्र देशैभर उत्पादन हुने एक सय ४० प्रकारका बीउहरु राखिएका छन्। त्यस्तै परम्परागत सीपमा आधारित विभिन्न वस्तुहरु सङ्ग्रहालयभित्र छन्। मौलिक भान्साघरले प्रत्येक वर्षको माघ महिनामा व्यञ्जन महोत्सवको आयोजना गर्दै आएको अध्यक्ष सुमन बताउँछन्। यसअन्तर्गत यस वर्षको माघ १ गते ८४ व्यञ्जनसहितको मेला आयोजना गरिएको थियो। दाहालका अनुसार, स्वदेशी वस्तुको प्रवर्द्धन र विस्तारका लागि हामीले विभिन्न मेला र आयोजनाहरु गर्दै आएका छौँ। यस वर्षको मेलाको परिकल्पनाअनुसार हप्तामा सातै बार, सात प्रदेश, सात विशेष परिकार, सात पंक्षी, सात स्वाद अनि सात संस्कृति तथा सात पहिरनका साथै सातै दिन सांस्कृतिक साँझको अवधारणा राखेर कार्यक्रमसहितको मेला आयोजना गरिएको थियो। यसवर्षका ५२ हप्तामा साप्ताहिक उत्पादन तथा मेला सञ्चालन भइरहेको छ।
मौलिक उत्पादनहितको परियोजना सात रोपनी जग्गामा सञ्चालित रहेको छ। अध्यक्ष सुमन भद्दछन्, 'बासँघारी रहेको भिरालो जमिनलाई परिस्कृत गरेर अर्गानिक खेतीको सुरुआत गर्यौँ तर पाँच वर्षअघि लिएको जग्गामा लगातार चार वर्ष राम्रो उत्पादन भएन। तैपनि हामी हतास भएनौँ र निरन्तर खेती गरिरह्यौँ। विस्तारै खेती सप्रिँदै गयो र यस वर्ष राम्रै उब्जनी भएको छ।' आयुर्वेदको अध्ययन गरेका दाहाल हर्बल कस्मेटिक्सको प्रोडक्सनहरुसमेत बजारमा ल्याइएको बताउँछन्। यसका साथै अदुवा र लसुनको पेस्ट बनाउने उद्योग सञ्चालनमा ल्याएर सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको उनी बताउँछन्।
प्रशोधनदेखि ब्रण्डिङ र प्याकेजिङसम्म
मौलिक बजारको कम्पाण्डभित्र ५ वटा प्रोजेक्ट सञ्चालनमा रहेको राधिका बताउँछिन्। मौलिक भान्सामा गाउँगाउँको मौलिक उत्पादनलाई बजारीकरण गर्ने गरिएको छ भने प्रसोधन उद्योगसमेत सञ्चालनमा रहेको छ। यसले हाम्रो उत्पादनको प्रशोधन, ब्रण्डिङ र प्याकेजिङसम्मको काम गर्छ। ‘फ्यामिली प्रोडक्सन हाउस’ भनेर नामकरण गरिएको यस उद्योगले सामानलाई बजारीकरण गर्नु अघिको सबै प्रकृया पूरा गर्छ। यसका साथै पाँच रोपनी जग्गामा सञ्चालन गरिएको अर्गानिक कृषि फार्ममा तरकारी, सागसब्जी उत्पादन गर्नुका साथै पशुपन्छी पालन गरिएको राधिका बताउँछिन्। 'व्यापारको दृष्टिकोणले व्यवस्थापन गर्न सक्यौँ भने सजिलो हुने रहेछ,' उनले भनिन्।
मौलिक खानाको स्वाद लिनेहरुले हप्ताका सातै दिन सातै प्रदेशका सांस्कृतिक झाँकी र नृत्यहरुको मजासमेत लिन सक्नेछन्। मौलिक भान्सा घरसँगै बनाइएको सांस्कृतिक हलमा संस्कृतिक कार्यक्रम प्रस्तुत हुने गर्दछ। यहाँ अग्रिम बुकिङ गरेर पनि कार्यक्रमहरु गर्न सकिन्छ। बुकिङ गर्नेले आफ्नै कलाकार ल्याएर पनि कार्यक्रम गर्न सकिने उनको भनाइ छ। बस्न, खानको लागि कटेजहरुको व्यवस्था गरिएको छ।