काठमाडौं। होटल क्षेत्रमा हालसम्म १८ खर्ब रुपैयाँ लगानी भएको छ। होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले अहिलेको बजार मूल्य अनुसार होटल क्षेत्रमा मात्र १८ खर्ब रुपैयाँ बराबर लगानी भएको जानकारी दिए। होटल संघले सार्वजनिक गरेको ‘नेपाल होटल एयर बुक २०२४’मा उल्लेख गरिए अनुसार सन् २०२३ सम्ममा नेपालको एक वर्षको बजेट बराबर होटल क्षेत्रमा लगानी भइसकेको उल्लेख छ।
हालसम्म १० हजारभन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन्। यो संख्या ठूला, मझौला, स्टाण्डर्ड र पर्यटकीयस्तरका होटलको मात्र हो। योबाहेक साना होटल तथा गेष्ट हाउसहरुको संख्या उल्लेख गरिएको छैन। ती होटलहरुबाट प्रत्यक्ष रुपमा १ लाखभन्दा बढीलाई रोजगारी दिइरहेको बताएको छ। होटेल क्षेत्रले अप्रत्यक्ष रुपमा पनि १ लाख हाराहारी नै रोजगारी सिर्जना गरिरहेको हानका पदाधिकारी बताउँछन्। संघका अध्यक्ष शाहका अनुसार नेपालको कुल ग्राहस्थ्य उत्पादन (जीडीपी)मा होटल क्षेत्रले ८ प्रतिशत योगदान गरिरहेको छ। अहिले नेपाल आउने एक जना पर्यटकले ११ जनालाई रोजगारी दिइरहेका छन्।
३५ लाख कोठा, १० लाख पर्यटक
सञ्चालनमा रहेका होटलको कोठा र बेड संख्यालाई आधार मान्ने हो भने एक वर्षमा ३५ लाखभन्दा बढी पर्यटकलाई राख्न सक्ने क्षमता पुगिसकेको छ। तर, नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा १० लाख १ हजार ८ सय ४४ पर्यटक भित्रिएका थिए। जुन कोठाको आधारमा १ तिहाइ मात्र हो। यसरी हेर्दा २५ लाख पर्यटकलाई अटाउन सक्ने कोठाहरु खाली रहँदै आएको छ।
कोठा भर्न पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्नुपर्छ
अहिलेकै स्थितिअनुसार विदेशी पर्यटकहरु नेपाल आउने हो भने तत्कालै पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा चल्न आवश्यक रहेको एसीई होटल्सका अध्यक्ष योगेन्द्र शाक्यको भनाइ छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक १० लाख पर्यटक आइरहेको सन्दर्भमा ती दुई विमानस्थल चलाउन सके त्यही संख्यामा पर्यटक आउँदा पनि ३० लाख पर्यटक पुग्ने उनले बताए। योसँगै सडकमार्गबाट आउने पर्यटकहरुको तथ्यांक संकलन गरिएको छैन।
भारतीय सीमा हुँदै आउने भारतीय पर्यटकहरु र आन्तरिक पर्यटकलाई आधार मान्दा अहिले रहेको कोठाहरु भरिभराउ हुनसक्ने विश्लेषण शाक्यको छ। यसका लागि सरकारले तदारुकता देखाएर विमानस्थल सञ्चालन गर्न आवश्यक रहेको बताए। विमानस्थलहरु सञ्चालन नहुने र अहिलेकै स्थिति लामो समयसम्म रहे धेरै होटल बन्द हुने स्थितिमा पुग्ने शाक्यको भनाइ छ।