काठामाडौं। एक दशक अघिसम्म भक्तपुरको ‘घ्याम्पे’ डाँडा सुख्खा चौर थियो। मानिसको आउजाउ हुँदैन थियो। जंगली जनावरको राज थियो। तर, एक दशकमै घ्याम्पे डाँडाको अवस्थामा कायापलट आएको छ। हिजोका दिनमा जंगली जनावर खेल्ने र उफ्रने ठाउँ आज दिनहुँ पर्यटकले भरिभराउ हुन्छ। पछिल्लो समय उपत्यकाबाट घुम्न चाहने मानिसको रोजाइको प्रमुख गन्तव्य बनेको छ ‘घ्यााम्पे डाँडा’।
घ्याम्पे डाँडा सँधैजसो आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन्छ। यहाँ दजर्नौं साना–ठुला होटल व्यवसायहरु सञ्चालनमा छन्। सयौंले रोजगारी पाएका छन् भने धेरैको आर्थिक उपार्जनको माध्यम पनि बनेको छ। दशक अघिसम्म सुनसान जंगलको रुपमा मात्रै रहेको घ्याम्पे डाँडा आजको स्थितिमा आईपुग्नुको कहाँनी पनि अलग छ। वि. सं. २०७० सालमा घ्याम्पे डाँडामा पाइलटबाबा आश्रम (सोमनाथ मन्दिर) स्थापना भयो। सो मन्दिर गुरु महायोगी सोमनाथ गिरीको नामबाट उनका भक्तजनहरुले बनाएका थिए। कुल १ करोड २५ लाख रुपैयाँमा लागतमा बनेको यो मन्दिरको उद्घाटन २०७० साल फागुन १५ शिवरात्रीको दिन भएको थियो। मन्दिर स्थापनापछि घ्याम्पे डाँडामा मानिसको चहलपहल बढ्दै गयो। ‘पहिला यहाँ चौर मात्रै थियो। रुखो जमिन र चिहान थियो। चिहान डाँडामा पानीको सुविधा नभएकाले स्थानिय मिलेर एउटा घ्याम्पो स्थापना गरियो,’ स्थानीय सुवास तामाङले भन्छन्, ‘पहिला मलामीहरुले पानी पिउनका लागि सानो घ्याम्पो बनाएर त्यसमा पानी जम्मा गरेर खाने गरेकोले सो ठाउँको नाम पछि गएर घ्याम्पे डाँडा रह्यो।’ तामाङका अनुसार उनी सानो हुँदा सो ठाउँको नाम घ्याम्पे डाँडा थिएन। त्यसलाई गुन्डु डाँडा भनेर चिनिन्थ्यो।
नगरपालिकाले करिब २५ लाख बजेटमा निर्माण गरेको यो घ्याम्पो सो ठाउँको ऐतिहासिक पहिचानसँग पनि जोडिएको छ। सुरुसुरुमा सो ठाउँमा घ्याम्पोमा पानी राखिन्थ्यो। मलामीहरुले सो ठाउँमा राखेको पानी पिउने गर्दथे। पछि गएर त्यहाँ पानी राख्न छोडियो।
यस्तै, अशोक तामाङ घ्याम्पे डाँडामा विगत १० वर्षदेखि भएका हरेक क्रियाकलापका प्रत्येक्षीदर्शी हुन्। हिजोको त्यो सुख्खा डाँडामा आजका दिनमा भएको परिवर्तन र चहलपहल देखेर उनी आफैं चकित छन्। ‘पहिला यहाँको डाँडामा चिहान थियो। जंगल र घारी थियो। त्यहाँको बाटो हुँदै डिँड्न हामीलाई डर लाथ्यो,’ विगत सम्झदै तामाङ भन्छन्, ‘आज पाइला–पाइलामा होटल, रिसोर्ट छन्। पाइलटबाबा आश्रम बनेपछि यो ठाउँ कायापलट भएको छ। मानिस भित्रने र चहलहल हुनेक्रम बढ्दो छ।’
२२ फिट उचाईंको घ्याम्पो
घ्याम्पे डाँडामा २२ फिट उचाईंको घ्याम्पो स्थापना गरिएको छ। पर्यटकीय स्थलका रुपमा विकास गर्न दुई वर्ष अगाडि सूर्यविनायक नगरपालिकाले यो घ्याम्पो स्थापना गरेको हो। नगरपालिकाले करिब २५ लाख बजेटमा निर्माण गरेको यो घ्याम्पो सो ठाउँको ऐतिहासिक पहिचानसँग पनि जोडिएको छ। सुरुसुरुमा सो ठाउँमा घ्याम्पोमा पानी राखिन्थ्यो। मलामीहरुले सो ठाउँमा राखेको पानी पिउने गर्दथे। पछि गएर त्यहाँ पानी राख्न छोडियो। यसपछि, हरेकपटक त्यहाँ आउने मानिसले घ्याम्पोबारे सोधिखोजी गर्न थाले। सोही विषयलाई मध्येनजर गरी नगरपालिकाले घ्याम्पो स्थापना गरिएको हो। २० लाख रुपैयाँ नगरपालिकाको बजेट र ५ लाख रुपैयाँ बराबरको स्थानीय श्रमदानबाट निर्माण भएको यस घ्याम्पोको उद्घाटन २०७८ फागनु २७ गते भएको थियो।
एकदिने पदयात्राको उपयुक्त गन्तव्य
घ्याम्पे डाँडा पुरातात्विकरुपमा जति महत्वूर्ण छ, त्यतिनै पदयात्राका लागि उपयुक्त मानिन्छ। पदयात्राका लागि उपयुक्त भएका कारण नै एक दिने पैदलयात्रा गर्न चाहने मानिस यहाँ पुगिरहन्छन्। युवामाझमा पनि पैदलयात्रा गर्ने प्रचलन बढ्दो छ। काठमाडौं उपत्यकाको नजिक भएका कारण विशेषगरी सार्वजनिक बिदा तथा शनिबार लगायतका दिनमा यहाँ मानिसको घुँइचो लाग्छ।
त्यहाँका सुन्दर, शान्त र रमणीय स्थलले नेपाली मात्रै नभएर विदेशी पर्यटकको पनि मन लोभ्याएको छ। यसलै गर्दा विदेशी पर्यटक पनि त्यहाँ पुग्ने गर्छन्। आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेकै कारण त्यहाँ रहेका दर्जनौं होटल तथा रिसोर्टहरु चलेका छन्। नेपालीले रोजगारी पाएका छन्। सवारी साधन हुइँकाउनेका लागि भन्दा पनि पदयात्रामा रमाउनेका लागि घ्याम्पे डाँडा एक अविस्मरणीय स्थान बनेको छ।
पिकनिक ‘स्पट’ र आयस्रोतको बाटो
मानिस घुम्न, पदयात्रा गर्नका लागि मात्रै घ्याम्पे डाँडा पुग्दैनन्। वनभोजका लागि पनि वर्षेनी सयौंको संख्यामा पुग्छन्। मंसिर पुसदेखि माघ तथा फागुनको सुरुवातसम्म वनभोजमा बजाइएका गितहरुले डाँडानै गुञ्जिने गर्छ। यस्तो समयमा आफूहरुको व्यापार व्यवसायले थप उचाईं लिने स्थानीय ठुलिमाया तामाङ बताउँछिन्।
ठुलिमायाँको घ्याम्पे डाँडामा किराना पसल छ। उनले बिगत ५ बर्ष देखि पाइलटबाबा आश्रम बाहिर किराना सामानको स्टल राख्दै आइरहेकि छिन्। आफूबसेको पाँच वर्षमै पनि घ्याम्पे डाँडाका कारण त्यहाँका स्थानीयको मुहार फेरीएको ठुलिमायाँ सुनाउछिन्। पर्यटक जानेक्रम बढेकाले त्यहाँको सडक बाटो कालोपत्रे बनाएर सरकारले पनि प्राथमिकतामा राखेको छ।
‘पहिले बाटो राम्रो थिएन, खाल्डाखुल्डी थियो। सडक ग्राबेल भएपछि गाडीहरु चल्न थाले र थप चहलपहल हुन थाल्यो,’ ठुलिमायाँ भन्छिन्, ‘यसपछि ठाउँ–ठाउँमा सुविधा सम्पन्न घरहरु बन्न थाले। होटल, रिसोर्ट लगायतका व्यवासायहरु सञ्चालन हुन थाले।’
ठुलिमायाले पानी, चाउचाउ, कोल्र्ड ड्रिङ्स, बदाम, केरा, सुन्तला जस्ता खुद्रा सामाग्रीहरु आफ्नो पसलमा राखेकी छिन्। उनले पानीपुरी, चटपटे तथा चीया पनि बनाएर बिक्री गर्छिन्। यसरी ठुलिमायाले मासिक रुपमा करिब ३० हजार रुपयाँसम्मको व्यापार गर्छिन्। शनिबार र सार्वजनिक दिनमा मानिस धेरै जाने भएकलो त्यस्ता दिनमा उनको व्यापार धेरै हुन्छ।
यसो त, ठुलिमायाँ एक प्रतिनिधि पात्र मात्रै हुन्। यसरी अस्थायी टहरा तथा स्टल राखेर जिविकोपार्जन गर्नेको संख्या धेरै छ। ठुलिमाया जस्ता धेरै महिला तथा पुरुषहरुले यहि माध्यमबाट आम्दानी गरेर जीवन गुजारा गरेका छन्। समग्रमा भन्दा घ्याम्पे डाँडाले त्यहाँको आर्थिक अवस्थालाई चलयमान बनाएको छ। अशोक तामाङ, सुवास तामाङ पनि ठुलिमायाँको जस्तै व्यापार गरेर जीवन चलाइरहेका छन्।
अझ पर्यटक तान्दै ‘रानीकोट जिपलाइन’
भक्तपुरको घ्याम्पे डाँडामा रानीकोट जिपलाइन सञ्चालनमा छ। रानीकोट जिपलाइनको मज्जा लिन आन्तरिक तथा बाह्य पर्यटक पुग्छन्। रानीकोट जिपलाइनमा लामो र छोटो गरी दुईवटा जिपलाइन संचालनमा छन्। लामो जिप लाइनको लम्बाइ १.२ किलोमिटर र छोटो जिपलाइनको ४५० मिटर लम्बाइ रहेको छ। यस जिपलाइनको उचाइ ३५० मिटरका रहेको छ। कम्पनीका अनुुसार छोटो दूरीको प्रतिव्यक्ति टिकट १५०० रुपैयाँ र लामो दूरीको ३५०० रुपैयाँ सम्म टिकट रहेको छ। कम्पनीले सुपर म्यान लाइ, स्यानोपी,स्काइ साइक्लिङ, सुपरम्यान लाइ, पनि संञ्चालनमा ल्याएको छ। यसले गर्दा पनि घ्याम्पे डाँडाको पर्यटक आवागमनलाई थप बढाएको छ।
सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिले निर्माण गरेको जिपलाइन तत्कालीन सांसद महेश बस्नेतले शिलान्यास गरेका थिए। घ्याम्पेडाँडा रानीकोटगढी हावाघरबाट भएर जिपलाइन पाइलटबाबा आश्रम पछाडिको नयाँ गाउँसम्म जोडिएको छ। यसबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्दै यात्रा अनुभव बटुल्न सकिन्छ।
पर्यटकिय केन्द्र घोषणा गर्ने नगरपालिकाको योजना
सुर्यविनायक नगरपालिकास्थित घ्याम्पे डाँडामा तामाङ जातिको बसोबास बढी छ। घ्याम्पे डाँडाबाट काठमाडौंको दृश्यावलोकनसमेत गर्न सकिन्छ। यस ठाउँलाई पर्यटनको हिसाबले अगाडि बढाउने योजनामा स्थानीय सरकार छ। पाइलटबाबा आश्रम, ठुलो घ्याम्पो, वरीपरी देखिने जंगल, रमणिय दृश्यजस्ता कुराहरुले सो स्थानको पर्यटन विकासमा थप मद्दत पुग्ने अपेक्षामा स्थानीय छन्। सुर्यविनायकबाट पाँच किलोमिटरको दुरिमा पाइलटबाबा र साढे पाँच किलोमिटरको दुरिमा घ्याम्पे डाँडा पर्छ। यी दुबै ठाउँमा थप पर्यटक आकर्षण गरेर फाइदा लिने सोचमा स्थानीय सरकार तथा प्रतिनिधि छन्। यस ठाउँलाई पर्यटकीय केन्द्र घोषणा गरी अघि बढाउने योजना भएको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ का अध्यक्ष तथा नगरपालिका प्रवक्ता रवीन्द्र सापकोटा बताउँछन्। ‘घ्याम्पे डाँडा पर्यटकिय क्षेत्र भएकाले त्यसलाई पर्यटकीय रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ। पूर्वाधारको हिसाबमा सडकको पहँुच राम्रो भइसकेको छ,’ सापकोटा भन्छन्, ‘पर्यटकीय घ्याम्पो निमार्ण, निजि क्षेत्रबाट जिपलाइन, नयाँ–नयाँ व्यवस्थीत होटलहरु बनेका छन्। यी सबै कुराहरुलाई हेर्दा घ्याम्पे डाँडा काठमाडौं भरिकै उच्च कोटीको पर्यटकको रुपमा विकास भइरहेको छ।’
आगामी दिनमा घ्याम्पे डाँडालाई पर्यटकीय क्षेत्र घोषणा गरी नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा चिनाउन गुगल म्यापमा राख्ने तयारी रहेका पनि सापकोटाले जानकारी दिए।
२०७४ देखि २०८० सम्म आइपुग्दा सो ठाउँमा गरिएको र भएको विकासमा आकाश जमिनको फरक भएको वडाअध्यक्ष सापकोटा बताउँछन्। आगामी दिनमा घ्याम्पे डाँडालाई पर्यटकीय क्षेत्र घोषणा गरी नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा चिनाउन गुगल म्यापमा राख्ने तयारी रहेका पनि सापकोटाले जानकारी दिए। सो ठाउँलाई अझै प्रचारप्रसार गर्ने र पर्यटक भित्र्याउने सोच नगरपालिकाको छ।
पाइलटबाबाको प्रवेशद्वारमै ‘गणेश मन्दिर’
घ्याम्पेडाँडाको सुन्दरता यतिमा मात्रै सिमित छैन। घ्याम्पेडाँडा प्रवेश गर्नका लागि सुर्यविनायकमा रहेको गणेश मन्दिर हुँदै जानुपर्छ। सूर्यविनायक धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्राकृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिन्छ। सुर्यविनायक चोकबाट दाहिने तीर प्रवेश गर्नेवित्तिकै केहि दुरिमा नै सूर्यविनायकको गणेश मन्दिर भेटिन्छ। यहाँ हरेक मंगलबार र माघ महिनामा ठुलो घुइचोका साथ भक्तजनहरु यस गणेश मन्दिरको दशनार्थ आउने गरेको पाइन्छ।
सूर्यविनायक गणेश मन्दिर लिच्छवि कालमा शिखर शैलीमा निर्माण भएको हो। यहाँ पुग्ने कतिपय मानिस सोमनाथ मन्दिरसम्म पुगेर फर्कनेक्रममा पनि घ्याम्पेडाँडा पुग्छन्। यस्तै, यहि क्षेत्रमा डोलेश्वर महादेव मन्दिर पनि छ। भक्तपुर जिल्लाको दक्षिणपूर्वी कुनोमा अवस्थित सिपाडोल गाउँमा डोलेश्वर महादेव मन्दिर छ। यसलाई केदारनाथको शिर पनि भनिन्छ। सूर्यविनायक गणेशमन्दिरको बायाँतिरबाट डोलेश्वर मन्दिर पुगिन्छ। यसरी, घ्याम्पे डाँडाका केही दूरीमा पनि यस्ता किसिमका थुप्रै धार्मिक तथा पर्यटकिय संयोजनका केन्द्रहरु रहेको पाउन सकिन्छ। (क्यापिटल बिजनेस म्यागजिनको फागुन अंकबाट)