काठमाडौं। पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले फेवाताल किनारस्थित बाराहीघाटमा आयोजित कार्यक्रमबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन्। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने पोखरालाई हालसम्म अघोषित रुपमा पर्यटकीय राजधानीको रुपमा लिँदै आइएको थियो।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले राजधानी घोषणाका लागि संघ सरकारको निर्णय कुर्दासम्म ढिलो हुने देखेर प्रदेश र महानगर मिलेर घोषणा गरिएको बताए। २०७८ कात्तिक २९ गते नै तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पर्यटकीय राजधानी घोषणाका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो।
संघ सरकारले ढिलाइ गरेसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको प्रदेश सरकारले पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक प्रक्रिया अगाडी बढाएको थियो। गत मंसिरमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा सरोकारवाला संघसंस्थाका प्रतिनिधि, पर्यटनविज्ञ सहितको ११ सदस्यीय समिति गठन गरिएको थियो। समितिले आवश्यक सुझावसहित प्रदेश सरकारलाई राजधानी घोषणा गर्न उपयुक्त देखिएको उल्लेख गरेपछि प्रदेश सरकार पर्यटकी राजधानी गर्न तम्सिएको हो।
राजधानी घोषणा भए पनि आवश्यक पूर्वधार तयार नभएको भन्दै आलोचना सुरु भएको छ। निर्माण सम्पन्न भएर पनि हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको भन्दै त्यसतर्फ ध्यान दिन आवश्यक रहेको सरोकारवाला निकायहरुको भनाइ छ। योसँगै काठमाडौैंबाट पोखरा आउने सडक निर्माणको काम ढिलाई भइरहेको र घण्टौंसम्म जाममा पर्ने पीडा रहेका बेला प्रदेश सरकारले हतारोमा घोषणा गरेको टिप्पणीसमेत भइरहेका छन्।
यता निजी क्षेत्रले भने प्रदेश सरकारको निर्णयलाई स्वागत गरेका छन्। बाराही ग्रूपका अध्यक्ष हरिप्रसाद पौडेलले राजधानी घोषणा भएपछि आवश्यक पूर्वधार निर्माणमा सरकारको ध्यान दिने अपेक्षा लिएको बताए। ‘पर्यटन भनेकै प्रचारले चल्ने हो’, अध्यक्ष पौडेलले भने ‘यसले सकरात्मक रुपमा लिनुपर्छ र पूर्वधार सञ्चालनका लागि दबाब दिनु पनि पर्छ।’ राजधानी भएपछि केही नयाँ भयो होला भन्ने आशले पनि धेरै पर्यटकहरु आउने र सरकारलाई पनि काम गर्नका लागि दबाब सिर्जना हुने विश्वास उनको छ।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका पूर्वअध्यक्ष एवंम पोखरा पर्यटन परिषद्का सचिव हरि भुजेलले राजधानी घोषणा भएपछि निर्माण सम्पन्न भएका पूर्वधार सञ्चालनमा सरकारलाई दबाब हुने विश्वास व्यक्त गरे।
अहिले विश्वका प्रख्यात सेलिब्रेटीहरु काठमाडौंसम्म आएर पनि पोखरा आउन नसकेको स्थितिमा पर्यटकीय राजधानी नै घोषणा भएपछि उनीहरुलाई पनि ल्याउने वातावरण सिर्जना हुने उनको दाबी छ। केही वर्ष अघिसम्म नेपाल आउने ५० देखि ६० प्रतिशत पर्यटकहरु पोखरामा आउने गरेकोमा अहिले त्यो संख्या ३० देखि ३५ प्रतिशतमा सीमित भएको बताउँदै यसले सकरात्मक सन्देश प्रवाह हुने उनले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि संघ सरकारले चीन र भारतसँग आवश्यक समन्वय गर्न नसकेकै कारण ढिलाई भइरहेको बताउँदै यसमा गम्भीर भएर लाग्नुपर्ने बेला आएको उनको भनाइ छ।
२४सै घण्टा खुल्ला
राजधानी घोषणा भएसँगै पोखरा २४सै घण्टा खुल्ने भएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले पोखरालाई २४सै घण्टा खुल्ला गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको बताए। समितिले किराना, खाना, खाजा, पान पसललगायतलाई राति १ बजेसम्म र डान्सबार, दोहोरी, पप, डिस्कोलगायतलाई २४सै घन्टा खुलाउने निर्णय गरेको उनले जानकारी दिए।