काठमाडौँ । धितोपत्र व्यवसायी(ब्रोकर) कम्पनीहरु पनि अब मर्जरमा जाने भएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संंस्थाहरु, मर्चेन्ट कम्पनी र बीमालगायतका कम्पनीहरु मर्जरमा जाने व्यवस्था गरेसँगै ब्रोकर कम्पनीहरुलाई पनि मर्जरमा जान बाटो खुल्ला गर्ने तयारी गरेको हो ।
नेपाल धितो पत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता), नियमावली २०६४ संशोधनका लागि अर्थमन्त्रालय पठाएको छ ।
सो प्रस्तावित नियमावलीमा एउटा ब्रोकरसँग अर्को ब्रोकर गाभ्ने÷गाभिने वा प्राप्ति गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, उनीहरुले धितोपत्र व्यवसायीले संस्थागत जोखिम व्यवस्थापनका लागि जगेडा कोष पनि खडा गर्नुपर्नेछ ।
व्यवसायीले डिलर र लगानी परामर्श सेवा दिन सक्ने व्यवस्था गरिएको छ । तर गत असोजमा बोर्डले अर्थमन्त्रालय पठाएको सो नियमावली अझै संशोधन भएको छैन । अहिले नियमावलीमाथि दफावार छलफल भइरहेको छ ।
मर्जरमा गएर कम्पनीहरु बलियो हुने कारण ब्रोकर कम्पनीहरुले पनि चाहेमा मर्जरमा जान सक्ने गरी नेपाल धितोपत्र बोर्डले बाटो खोलिदिएको बोर्डका प्रवक्ता निरज गिरीले बताए । ब्रोकरको संख्या बढी भयो भनेर फोर्स मर्जरको नीति भने अघि नसारेको उनको भनाई छ ।
हाल ५० ब्रोकर कम्पनीहरु संचालनमा छन् । त्यसैमाथि १९ वटा वाणिज्य बैंकलाई पनि शेयर कारोबार गर्न लाइसेन्स दिने विषयमा अर्थ समितिमा छलफल भइरहेको छ । ब्रोकर मर्जरको नीति ल्याउनु राम्रो रहेका अनलाईन सेक्युरिटिजका संचालक अनन्त पौडेलको भर्ना छ ।
‘ब्रोकरमा मर्जरको नीति ल्याए राम्रो हुन्छ,’ उनले भने । तर, पहिले भटाभट लाइसेन्स दिने अनि पछि मर्जर गराउने सरकारको नीतिमा स्वार्थ लुकेको उनको धारणा छ । ५० ब्रोकर कम्पनीलाई चलाउन गाह्रो भइरहेका बेला पुनः १९ वाणिज्य बैंकलाई लाइसेन्स दिनु उपयुक्त नभएको उनी बताउछन् ।