काठमाडौं। फागुन २० गते आइतबार १९६०.३० बिन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) चैत १ गते बिहीबार २०८०.८७ को बिन्दुमा रोकियो। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको गठबन्धन छाडेर नेकपा एमाले रोज्ने चर्चासँगै नेप्सेमा तीव्र उतारचढाव देखियो। पछिल्लो ८ कारोबार दिनमा ५ दिन बढेर र ३ दिन घट्दा पनि सूचकमा १२० अंकको वृद्धि देखियो। पछिल्लो साता १२ अर्ब ४८ करोडको सेयर किनबेच हुँदा गत साता ४ दिनमा १५ अर्ब ५४ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ। यसले सेयर बजारप्रति लगानीकर्ताहरुको आकर्षण र लगाव बढेको देखाउँछ।
पुन अर्थ मन्त्रालयमा आएसँगै फागुन २७ मा पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डसहित नेप्से र सिडिएस एण्ड क्लियरिङसँग सेयर बजार सुधारका उपायसहित सुझाव ७ दिनभित्र पेस गर्न निर्देशन दिएपछि लगानीकर्ता थप सकारात्मक बनेका छन्।
गठबन्धन परिवर्तनपछिका ६ कारोबारमा ४ दिन नेप्से १०३ अंकले बढेकोमा पछिल्लो २ दिनमा ३० अंक घट्यो। दुई कारोबार दिनमा आएको सामान्य गिरावटलाई लगानीकर्ताहरु ‘करेक्सन’ ठान्छन्। ‘केही दिनअघि नेप्सेमा एक्कासी ठूलो अंकको वृद्धि भयो र अर्को दिन त्यसैगरी करेक्सन भयो। त्यस्तै अर्थमन्त्री वर्षमान पुन आएपछि निरन्तर बढेको नेप्सेमा दुई दिन गिरावट देखियो,’ नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘वृद्धिपछिको करेक्सनले नै बजारलाई सकारात्मक ऊर्जा प्रदान गर्ने हो। त्यसैले अहिले बजार उकालो लाग्ने आधार बनिरहेको छ र आगामी दिनमा सकारात्मक परिणाम मिल्ने छ।’
पुन अर्थ मन्त्रालयमा आएसँगै फागुन २७ मा पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डसहित नेप्से र सिडिएस एण्ड क्लियरिङसँग सेयर बजार सुधारका उपायसहित सुझाव ७ दिनभित्र पेस गर्न निर्देशन दिएपछि लगानीकर्ता थप सकारात्मक बनेका छन्। अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एवम् त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाको रायसमेत लिई कार्ययोजना पेस गर्न अर्थ मन्त्रालयले बोर्डसहितका निकायलाई निर्देशन दिएको छ। बोर्डसहितका निकायले लगानीकर्ताको संघसंगठनदेखि निजी क्षेत्रको संघसंगठन र सरोकारवालासँग राय लिइरहेको छ।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल अर्थमन्त्रीले पुँजी बजारप्रति देखाएको चासो र सुधार गर्ने प्रतिबद्धताले लगानीकर्ताको आत्मबल बढेको बताउँछिन्। ‘अर्थमन्त्रीको सुरुवाती अग्रसरताले पुँजी बजार सुधारका लागि राम्रै काम अघि बढ्छ भन्ने आशा गर्न सकिन्छ,’ पोखरेल भन्छिन्, ‘विगतमा सरकारले बेवास्ता गरेको क्षेत्रमा वर्तमान अर्थमन्त्रीले सुरुमै चासो राखेका कारण लगानीकर्ताको आत्मबल बढेको छ र सेयर बजारमा सकारात्मक परिणाम नै ल्याउने देखिन्छ।’
६० लाख बढी सर्वसाधारण संलग्न रहेको पुँजी बजार सुधारका लागि अर्थमन्त्री पुनको सुरुवाती प्रयासलाई लगानीकर्ताहरुले रुचाएका छन्। तर, आगामी दिनमा कस्तो भूमिका निर्वाह हुन्छ भन्नेमा आशंका पालेका छन् किनभने मन्त्रीहरुले सुरुमा आशा देखाउने र व्यवहारमा कठोर बन्ने विगतको अनुभव हो। लगानीकर्ताको माग सम्बोधन गर्न विगतका अर्थमन्त्रीहरुले खासै रुची नगरेका कारण यसपटक पनि पर्ख र हेरको अवस्थामा रहने देखिन्छ। त्यसैले अर्थमन्त्री थप कदम चाल्नुअघि बजार सूचकमा ठूलो परिवर्तन आउने सम्भावना कम छ। लगानीकर्ताले यो साता बजार सूचक न्यूनतम बिन्दुतर्फ अग्रसर हुँदा २००० बिन्दु र अधिकतमतर्फ अग्रसर हुँदा २२०० हाराहारी पुग्ने अनुमान गरेका छन्। तर, सरकारले पुँजी बजारका विषयमा ठोस कुनै सकारात्मक निर्णय बाहिर ल्याएको खण्डमा बजार २२०० बाट माथि लाग्ने सम्भावना पनि छ। लगानीकर्ताहरु अर्थमन्त्री पुनले लामो समयदेखि अर्थ मन्त्रालयमा अड्किएको धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कमिसन घटाउने निर्णय गरुन् भन्ने चाहेका छन्।
सरकारले विभिन्न क्षेत्रलाई दिनुपर्ने रकम छिटो भुक्तानी गरेमा त्यसले सेयर बजारलाई थप चलायमान बनाउने हुँदा बजार उकालो लाग्ने आँकलन गर्न सकिन्छ।
उता, चैतका लागि वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीको औषत ब्याजदर ०.५ प्रतिशत बिन्दुले घटाएका छन्। चैतमा एनआइसी एसिया बैंकले ब्याजदर केही बढाए पनि अन्य १७ बैंकको निक्षेपको ब्याजदर घट्दा २ बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन्। निक्षेपको ब्याजदर निरन्तर घटे पनि ऋण ब्याजदर खासै नघटेको भन्दै निजी क्षेत्र र लगानीकर्ताहरुले खबरदारी गरिरहेकै छन्। अर्थतन्त्रका बाह्य सूचकहरु बलियो र राम्रो अवस्थामा रहे पनि आन्तरिक गतिविधि चलायमान नहुँदा वित्तीय प्रणालीमा ऋण माग हुन सकेको छैन। जसको असर सेयर बजारमा पनि परेको अनुमान गरिएको छ। सरकारले विभिन्न क्षेत्रलाई दिनुपर्ने रकम छिटो भुक्तानी गरेमा त्यसले सेयर बजारलाई थप चलायमान बनाउने हुँदा बजार उकालो लाग्ने आँकलन गर्न सकिन्छ।
त्यसो त सेयर बजार निरन्तर उकालो मात्रै लाग्दैन। बीचबीचमा सुधारिँदै अघि बढेको बजार दिगो हुन्छ र माथिल्लो बिन्दुतर्फ अग्रसर हुन्छ। तर, सामान्य मूल्य अभिवृद्धि हुनेवित्तिकै एकथरी लगानीकर्ताहरुले नाफा ‘बुक’ गर्ने र त्यसले बिक्री चाप बढाउँदा बजार करेक्सनतर्फ जाने गर्दछ। ‘बजारको अवस्था हेरेर सेयर किन्ने र केही नाफा आउनासाथ बेचिहाल्ने प्रवृति टे«डरहरुको निरन्तरको प्रक्रिया हो। घटेको बजारबाट माथि उठ्दै गर्दा टे«डर झन् बढी हाबी हुन्छन्,’ लगानीकर्ता नवराज दाहाल भन्छन्, ‘यसले बजारलाई दबाबमा राख्छ। तर, बजार लामो समय तल्लो बिन्दुमा रुमलिएकाले अब अगाडि बढ्ने सम्भावना नै बढी देखिन्छ।’