माघ २३ मा कैलालीको लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कार्यालयबाट घर फर्किने क्रममा ४–५ जना युवाको समूहले कालो मोसो दलेको थियो। माघ २९ मा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाललाई कार्यालय प्रवेश गर्दा गेटमै नीलो मसी छ्यापिएको थियो। फागुन ४ मा दुग्ध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक सञ्जीव झालाई कार्यकक्षमै कालो मोसो दलेको भिडियो सार्वजनिक भयो। फागुन ६ मा सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई पनि कार्यकक्ष मै कालोमोसो दलेको भिडियो बाहिरियो। पछिल्लो पटक फागुन २५ गते राती सवा २ बजेतिर दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीको निवासमा ढुंगामुढा र आगजनी भएको छ। यद्यपि अधिकृत सकुशल छन्। क्रमबद्ध रुपमा आक्रमण बढिरहँदा राष्ट्रसेवक कर्मचारी मनोबल गिर्दै गएको बताउँछन्। यस विषयमा नेपाल प्रहरीले के गर्दै छ ? हाल नेपाल प्रहरीमा केन्द्रीय सह–प्रवक्ताका रुपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की छन्। गुल्मीमा जन्मिएका कार्कीले प्रहरी निरिक्षक (इन्स्पेक्टर) दर्जाबाट जागिर सुरु गरेका हुन्। एसएसपी कार्कीसँग पछिल्लो समय सरकारी कर्मचारीमाथि आक्रमण बढ्नुमा प्रहरीको भूमिका, आक्रमण कारण र कारबाही विषयमा केन्द्रित रहेर क्यापिटल नेपालका शर्मिला न्यौपाने सोधेका ५ प्रश्नः
कार्यालय हिँड्दै गरेका निजामती कर्मचारीलाई कालो मोसो दलिएको छ। निवासमा सुतिरहेका बेला मध्यराती आक्रमण प्रयास भएको छ। प्रहरीको भूमिका प्रभावकारी नहुँदा यस्ता घटना भएका हुन्?
कुनै पनि राष्ट्रसेवक कर्मचारी वा सामान्य नागरिकमाथि आक्रमण हुनु सभ्य समाजका लागि राम्रो सन्देश होइन। आक्रमण गर्नु र आक्रमणको सिकार हुनु दुःखद कुरा हो। कसैले गल्ती गर्दा कानुनले तोकेको निकायमा उजुरी गर्नु र राज्यको उपस्थिति गराएर कारबाही गराउनु सभ्य मानिसले छनोट गर्ने उपयुक्त बाटो हो। तर, नेपालमा राष्ट्रसेवक कर्मचारीसहित अन्य मानिसमाथि कालो मोसो दलिएकोदेखि आक्रमणसम्मका घटना भइरहेका छन्।
चालू आर्थिक वर्षको तथ्यांक हेर्दा १५ वटा त्यस्ता घटना प्रहरीसमक्ष आएका छन्। यीमध्ये १ तिहाइ अर्थात् ५ वटा घटना कर्मचारीप्रति लक्षित भएको देखिन्छ। बाँकी १० वटा आक्रमण अन्य व्यक्तिमाथि भएको देखिन्छ। हाम्रो तथ्यांकले सुतिरहेका बेला आक्रमण भएको देखाउँदैन। प्रहरीको भूमिकाको कुरा गर्ने हो भने १५ मध्ये ९ वटा घटनामा कारबाही भइसकेको छ। घटना घटे वा घट्ने सम्भावना भएमा नहिच्किचाई प्रहरीलाई जानकारी गराएर आवश्यक सुरक्षा व्यवस्था माग गर्न हाम्रो अनुरोध भइरहेको हुन्छ।
सबैका घरघरमा प्रहरी उपस्थित हुन सक्दैन तर सुरक्षाको खतरा भएका ठाउँमा स्वाभाविक उपस्थिति हुन्छ। प्रहरी सबैको सुरक्षामा दत्तचित्त भएर लागिरहेको छ। प्रहरीले सबै कुरा आफैंले बुझेर आइदियोस् भन्नु गलत हुन्छ। सबैले पूर्वसतर्कता अपनाएर काम गर्ने हो भने धेरै समस्या कम हुन्छन् र प्रहरीलाई पनि सजिलो हुन्छ। यद्यपि आपराधिक मानसिकता भएका र आक्रमणकारीको मनोबल बढ्न नदिन हामी सबैको सामूहिक प्रयत्न आवश्यक छ। जस्तै, सर्वसाधारणले सूचना दिएर, कानुन कार्यान्वयन क्षेत्रका कर्मचारीले आ–आफ्नो भूमिकामा रहेर काम गर्नुपर्छ। कानुन कार्यान्वयन भएको देखेपछि आक्रमण पनि स्वतः घट्दै जान्छन्।
कर्मचारीमाथि भौतिक आक्रमण भइरहदा प्रहरी अनुसन्धानले के– कस्ता कारण पहिल्याएको छ?
हाम्रो अनुसन्धानले धेरै कारणले आक्रमण हुने देखाउँछ। एक ठाउँमा राष्ट्र् र राष्ट्रियताको कुरा हुँदा कार्यक्रम स्थलमै आक्रमण भएको देखिन्छ। साथै, दूधको मूल्य नबढाएको, कर्मचारी भएर गलत तरिकाले धर्म प्रचार गरेको वा दायित्व बाहिरका काममा बढी सक्रिय हुँदा आक्रमण गरेको पाइन्छ।
त्यस्तै, साना कर्मचारीको वृत्तिविकास रोकिएको, तत्काल कदम चाल्नुपर्नेमा उदास भएको, केही आक्रमणमा भ्रष्टाचार गरेको, म्याद सकिएका औषधी बिक्री वितरण गरेकोजस्ता कारण र आरोपमा कर्मचारीमाथि आक्रमण हुने देखिन्छ। प्रहरी अनुसन्धानले पनि कर्मचारीले आफ्नो दायित्व पूरा गर्न नसकेको, गैरदायित्वतर्फ सक्रिय भएको, आफ्नो भूमिका निर्वाह नगरेको, म्याद गुज्रिएका वस्तु बिक्री वितरण भएको अवस्थामा कर्मचारीमाथि आक्रमण हुने गरेको भन्न सकिन्छ।
आक्रमण हुँदै छ भन्ने प्रहरीलाई थाहा नभए पनि घटना घटेपछि कारबाही प्रक्रिया सुस्त देखिन्छ किन?
माथि भनिएका घटनामा तत्कालै प्रहरी गएको छ। पीडितलाई उद्धार पनि गरेको छ। घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएको छ। सामान्यतया आक्रमण हुने विषयमा पूर्वजानकारी हुँदैन। तर, जहाँ, जसलाई आक्रमण हुन्छ, त्यहाँ केही सम्भावनाका विषयमा थाहा हुन सक्छ। आफ्ना कार्यालयका गतिविधि, आफूले गर्नुपर्ने, कानुनद्वारा प्राप्त दायित्व पूर्ण रुपले सही तरिकाले वहन गरे आक्रमणको सिकार हुनु नपर्ने हो। तर, कतिपय अवस्थामा जिम्मेवारी पूरा नगरेका, दायित्व विमुख भएका जनगुनासो आएपछि बीच–बीचमा यस्ता घटना घटेका हुन् भने त्यसतर्फ कर्मचारी स्वयं र सम्बन्धित कार्यालयले पूर्वसतर्कता, अनुगमन एवं निरीक्षण गर्दा यी समस्या न्यूनीकरण हुन्छन्। यसमा प्रहरी मात्रै सक्रिय भएर हुँदैन।
कार्यालय पोसाक लगाएर बाहिर हिँड्दा कति बेला आक्रमण हुन्छ भन्ने त्रास कर्मचारीमा देखिन्छ। मनोबल यति धेरै गिर्नुमा उनीहरु दोषी कि प्रहरीको कमजोर भूमिका?
प्रहरी सक्रिय भएरै चालू वर्ष मात्रै घटेका करिब ७० प्रतिशत घटनामा संलग्न व्यक्तिलाई कारबाही गरिसकेको छ। कर्मचारीको सेवा प्रवाह, नागरिकप्रतिको उत्तरदायित्व/जिम्मेवारी, प्रजातान्त्रिक संस्कारमा गरिनुपर्ने व्यवहार र राज्यकोष सञ्चालन एवं वितरणमा रहने कर्मचारीले आफूलाई राम्रो सेवा प्रवाह नगरेको महसुस नागरिकले गर्दा अप्रिय घटना हुन सक्छन्। आफ्नो कार्य सम्पादनमा तोकिएको दायित्वलाई सेवाभावले काम गर्ने कर्मचारीमाथि त्यस्तो नहुनु पर्ने हो।
आक्रमण भइहाले प्रहरीले कारबाही गर्छ। कर्मचारीले कार्यालय वा बाटो कत्तै पनि डराउनु पर्दैन। नागरिकले राम्रो काम गर्नेलाई माया गर्छन्। आफूले राम्रो काम गर्न नसकेपछि कसैले केही गर्छ कि भन्ने चिन्ता भएको व्यक्तिले सुधार गर्नेतर्फ लाग्नुपर्छ। यसो गर्दा कर्मचारीलाई हेर्ने दृष्टिकोण स्वाभाविक रुपले राम्रो हुन्छ भन्ने चेतना सबैमा हुन जरुरी हुन्छ।
आक्रमणकारी संगठन, राजनीतिक दलमा आबद्धताको पक्ष र घटनामा कानुनी कारबाही, मेलमिलाप वा माफी माग्ने कस्ता प्रक्रिया हुन्छन् ?
आक्रमणकारी सबै राजनीतिक पार्टीगत रुपमा लागेका छैनन्। कानुनअनुसारको सेवा प्राप्त नगरेपछि सेवाग्राही नै आक्रमणमा उत्रिएको पाइन्छ। आक्रमण गर्नेमा कालो बजारी मारमा परेका व्यक्ति, राष्ट्रिय रुपमा दर्ता भएका पार्टी कार्यकर्ता, पार्टीगत रुपमा दर्ता हुन नसकेका तर आफ्ना गतिविधि सक्रिय बनाएका संगठन छन्। विशेषगरी कर्मचारीको कार्य सम्पादन चित्त नबुझेर आक्रमणमा उत्रिनेहरु बढी छन्।
कारबाहीका सन्दर्भमा कस्तो प्रकृतिको आक्रमण भएको छ, त्यही कानुनअनुसार प्रक्रिया अघि बढाउँछौं। जस्तै, कालो मोसो दलेको छ भने अभद्र व्यवहारको कानुन आकर्षित हुन्छ। कुटपिट, अंगभंग पारेको छ भने त्यसको कानुन हुन्छ र सांघातिक आक्रमण हुँदा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुन्छ। आक्रमणको अवस्था हेरेर कारबाही निर्धारण हुन्छ।
केही घटनामा पीडित व्यक्ति स्वयंले मेलमिलापको इच्छा गरेको पाइन्छ। तर, प्रहरीले जुन कसुर गरेको छ, त्यसको आधारमा मुद्दा दर्ता गरेर कारबाही गर्छ।
पछिल्लो समय घटेका घटना अपरिचितबाट भएको छ भने परिचय खुलाएर मुद्दा दर्ता भएका छन्। १५ वटा घटनामध्ये ९ वटामा कानुनी कारबाही भइसकेको विषयले स्वाभाविक रुपमा कसुरको मात्राअनुसार काम भएको चित्रण गर्छ।
अन्त्यमा मेरो सुझावः राष्ट्रसेवक कर्मचारी भइसकेपछि राष्ट्र र नागरिकको सेवामा समर्पित भएर काम गर्नुपर्छ। त्यही काम गर्नैका लागि ‘सपथ’ खाएर जागिरमा लागेको मान्छे हो। जिम्मेवारी पूरा नगर्दा स्वाभाविक रुपमा प्रश्न उठ्छ त्यसैले प्रश्न उठाउने ठाउँ दिनु हुँदैन भन्ने चेतना हरेक कर्मचारीमा हुनुपर्छ। यसो गर्न सके नागरिकको मन जित्न र विकास समृद्धिको सहयात्री बन्न सकिन्छ। प्रहरीले सबै गर्छ भन्नुभन्दा प्रहरीको सहयोग लिनेतर्फ ध्यान पुर्याउनुपर्छ।