हुम्ला। हुम्ला सदरमुकाम सीमकोटमा दैनिक दिन ११ घन्टा बढी विद्युत् भार कटौती हुँदा एसइई तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसईई परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरु मारमा परेका हुन्।
विद्यार्थीले साँझको समय पढ्न नपाएको गुनासो गरेका छन्। एसईई दिने विद्यार्थीलाई मात्रै नभएर अन्यलाई पनि घरमा गृहकार्य तथा लेखपढ गर्न समस्या भएको छ। चैत १५ देखि एसईई परीक्षा सुरु हुँदै छ। विद्यार्थीलाई रातीको समय पढ्न समस्या भएको छ।
ट्युसनको भरमा एसईईको तयारी गरिरहेका विद्यार्थी दैनिक ११ घन् विद्युत् भार कटौतीबाट निरास छन्। ‘दैनिक ११ घन्टा विद्युत् भार कटौती हुन्छ, पढ्नै नपाएपछि कसरी पास हुनू?’, खार्पुनाथ गाउँपालिका–३ स्थित हुम्ला मावि रायाका विद्यार्थी रेलबहादुर बुढाले गुनासो गरे।
गाउँबाट सदरमुकाम आएर एसईईको तयारी गरिरहे पनि रातीको समयमा पढाइमा बाधा पुगेको उनको भनाइ छ।दैनिक ११ घन्टा विद्युत् भार कटौतीले विद्यार्थी मात्र होइन, अन्यलाई पनि सास्ती भएको छ।
जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा सदरमुकामस्थित व्यापार–व्यवसाय पनि प्रभावित बनेको छ। कुन समय कतिबेला र कति पटक विद्युत् भार कटौती हुन्छ भन्ने समय तालिका नभएका कारण पनि सेवाग्राही बढी समस्यामा छन्।
विद्युत् भार कटौतीपछि सीमकोटमा दाउरा माग बढेको छ। एक भारी दाउराको सीमकोटमा १ हजार तिर्नुपर्ने अवस्था छ।
नेपाल विद्युत् प्राधिकरण हुम्लाका निमित्त प्रमुख सुशील थारुले प्राधिकरणले ‘लोडसेडिङ’को तालिका नबनाएको स्वीकारे। तालिका बनाउँदा सेवाग्राहीलाई थप असर पर्ने उनको भनाइ छ।
हिल्दुस्थित साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत घटबढ भइरहने भएकाले विद्युत् उत्पादन पनि कहिले कम कहिले बढी भइरहने कारणले विद्युत् भार कटौतीको तालिका बनाउन समस्या भएको निमित्त प्रमुख थारुले बताए।–रासस