काठमाडौं। मेड इन नेपाल नारासहित आगामी चैत अन्तिम साता ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ।
ललितपुरस्थित जावलाखेल फुटबल मैदानमा चैत २२ देखि २६ सम्म आयोजना हुने इन्टरनेसनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजक पक्षले जनाएको छ।
ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने इन्टरनेसनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, चीनलगायत देशमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवासम्बन्धी इन्टरनेसनल ट्रेड एक्स्पोमा राखिने बताइएको छ।
ललितपुर महानगर सह–आयोजक, नेपाल चेम्बर अफ कमर्सको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने इन्टरनेसनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायत सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ।
पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीको सहभागिता रहनेछ। मेलाको सहयोगी संस्थाका रुपमा लक्ष्मी सनराइज बैंक र नेपाल हस्तकला महासंघ रहेका छन्।
एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुका अतिरिक्त दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेला फलदायी हुने अपेक्षा रहेको ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताए।
सार्क मुलुकमा निर्मित सामग्रीले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीले अन्य मुलुकमा प्रभाव जमाएको भन्दै अध्यक्ष शाक्यले मेलामार्फत सहभागी देशका उत्पादन प्रवर्द्घनमा सघाउ पुग्ने अपेक्षा शाक्यले गरे।
यस्तो मेलाले सहभागी मुलुकका व्यवसायीलाई सामिप्यमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको इन्ट्रोडक्सन ट्रेड सोका म्यानेजिङ डाइरेक्टर सुमन महर्जनले बताए।
मेलाको आकर्षणका रुपमा विभिन्न देशका स्वादका खाना फुड स्टल, साना केटाकेटीका लागि गेमिङ जोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमका साथै जावलाखेल फुटबल खेल मैदान परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने एक्स्पोका संयोजक सुनील विष्टले जानकारी दिए।
मेलामा व्यापार प्रवर्द्नका लागि अझै पनि केही स्टल बाँकी रहेको भन्दै आयोजक पक्षले नेपाल, भारत, पाकिस्तान र बंगलादेशको कुम्भ मेलामा आफ्नो ब्रान्ड प्रवर्द्न र व्यापार गर्न चाहने फर्म तथा कम्पनीलाई पनि आह्वान गरेको छ।