काठमाडौं। साउन २ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भई बाहिरिएको अवैध ६० किलो सुन तस्करीका मुख्य आरोपी दाबा छिरिङसँग सम्बन्ध पुष्टि भएपछि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश बुटवलस्थित सुप्रिम सहकारीको १ अर्ब बचत हिनामिनामा समेत संलग्न भएको उजुरी प्रहरीमा परेको छ।
शुक्रबार बेलुकी ६० केजी सुन तस्करी प्रकरणमा संलग्नता पुष्टि भएपछि पक्राउ परेका दीपेशलाई सहकारी घोटालामा संलग्नताबारे बयान लिन प्रहरीले रुपन्देहीको बुटवल लगेको छ।
दीपेश बुटवलस्थित सुप्रिम सहकारीका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा जोडिएका छन्। केही महिनाअघि सुप्रिम सहकारीमा अध्यक्ष जिबी राई र कोषाध्यक्ष रहेका दीपेश पुनले सर्वसाधारणको १ अर्ब बढी बचत रकम हिनामिना गरेको उजुरी प्रहरीमा परेको थियो।
शुक्रबार दिउँसो काठमाडौंमा पक्राउ परेका पुनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न शुक्रबार राती नै बुद्ध एयरको जहाजबाट बुटवल लगिएको हो।
सहकारीको सवा १ अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवल प्रहरीले सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ। यद्यपि सहकारीको रकम हिनामिना मुखिया जिबी राई भने फरार छन्।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोपमा पुनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनलाई बुटवल लगिएको बताइन्छ।
दीपेशविरुद्ध सहकारी पीडितले दिएको उजुरीका आधारमा अनुसन्धान गर्न काठमाडौंबाट बुटवल ल्याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए।
यसअघि बिहीबार गृहमन्त्री रवि लामिछानेलाई बुझाइएको अवैध सुनको तस्करी नियन्त्रण जाँचबुझ आयोगले पनि पुनको संलग्न किटान गर्दै कारबाही सिफारिस गरेसँगै पक्राउ परेका थिए। आयोगले बुझाएको प्रतिवेदन गृहमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए।
प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका पुनलाई पक्राउ गरेको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले शुक्रबार नै जानकारी दिएका थिए।
सुन तस्करी जाँचबुझ गरिरहेको सीआईबीले सत्ता निकट भएकै कारण फितलो अनुसन्धान गरी उनलाई उन्मुक्ति दिएको आयोग प्रतिवेदनले औंल्याएको छ।