काठमाडौं। डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा औपचारिक रुपमै फुट आएको छ। पार्टीका दोस्रा अध्यक्ष महिन्द्र राय यादव समूहले सत्तारुढ नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति सार्वजनिक भएसँगै नेसपा औपचारिक रुपमा फुटेको हो।
बाबुरामले जनता समाजवादी पार्टीबाट छुट्टिएर नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका थिए। समाजवादी मोर्चा गठनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग रिसाएका बाबुरामलाई मनाउन नसकेपछि नेसपालाई फुटाइएको हो।
महिन्द्रा रायले नेसपा माओवादीसँग एकता गर्ने सहमति गरेका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अध्यक्षतामा बसेको एकता संयोजन समिति बैठकले नेसपासँग औपचारिक रुपमा एकता गर्ने निर्णयमा सही धस्काएको हो।
शनिबार बालुवाटारमा बसेको एकता संयोजन समिति बैठकले नेकपा माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक मनहरि तिमिल्सिनाले बताए।
बाबुरामबिनै नेसपालाई नेकपा माओवादी केन्द्रमा भित्र्याउने बालुवाटार बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ सहभागी थिए।
यस्तै, नेसपा फुटाउने अध्यक्ष यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए।
पार्टी एकता गर्ने र एकीकृत पार्टीको नामको विषयमा आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णयसमेत बैठकले गरेको छ।
पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ। कार्यदलमा माओवादी केन्द्रबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष श्रेष्ठ र महासचिव यादव छन्।