ओभरसियरको अध्ययन पूरा गरी व्यावसायिक जीवनको सुरुआत गरेका देवबहादुर कार्कीले धेरै सफलता–असफलतालाई अँगालिसकेका छन्। हरेक मानिसमा आफ्नो अध्ययन पूरा भएपछि एक स्तरको कमाइ हुने जागिर खानुपर्छ भन्ने मान्यता हुन्छ। अझ भनौं, सकेसम्म सरकारी जागिर वा राम्रो संस्थामा काम गर्ने मनोकांक्षा हुन्छ। तर, समग्र यो अवस्थाका एक अपवाद हुन्, कार्की।
दोलखा जिल्ला तामाकोशी गाउँपालिका २ झुले घर भएका कार्कीले जिरी प्राविधिक शिक्षालयबाट ओभरसियर अध्ययन गरेका थिए। उनी हाल क्याफे व्यवसायमा सक्रिय छन्। विगत डेढ वर्षदेखि होइचिन क्याफे कार्कीको मिहिनेत र लगनशीताले चम्किरहेको छ। कार्कीले सुरुआती चरणमा करिब २५ लाखको लगानीमा काठमाडौंको मित्रपार्कमा होइचिन क्याफे सञ्चालनको थालनी गरेका थिए। कार्कीको होइचिन क्याफेमा मुखै रसाउने चिया, कफी, दजनौं खाजा तथा खानालगायत परिकार पाइन्छन्।
ग्राहकसँगको सुमधुर बोलचाल र आकर्षक खानाको स्वादले होइचिन क्याफे धेरैको रोजाइमा पर्दै गएको छ। कार्की हरेक दिन बिहान ७ देखि राती ९ बजेसम्म क्याफेमा खटिएर काम गर्छन्। कार्कीले अन्य चार जना युवालाई रोजगारी पनि दिएका छन्। होइचिन क्याफेमा बिहानदेखि बेलुकीसम्म ग्राहकको भीड लागिरहेको हुन्छ।
कृषिमा अथक प्रयास तर असफल
देवबहादुर कार्की क्याफेमा लगानी गरेर सीधै सफलता प्राप्त गरेका व्यक्ति होइनन्। क्याफे सञ्चालनअघि पनि उनले धेरै क्षेत्रमा व्यावसायिक प्रयत्न गरेका थिए। २०६२ मा एसएलसी सक्काएका कार्कीले सुरुमा जागिरको सपना बुनेरै दोलखाको जिरी प्राविधिक शिक्षालयबाट सब–ओभरसियर अध्ययन गरे।
२९ महिने तालिम लिएपछि उनले ६ महिना आउटरिच प्रोग्राम बनेर एक संस्थामा काम गरे। त्यहाँ काम गर्दागर्दै उनको आकर्षण कृषि पेसातर्फ बढ्यो। यसअघि उक्त संस्थाको जागिर छाडेर उनी व्यावसायिक कृषि पेसामा आबद्ध भए। हामीले खाने हरेक कुरा कृषिबाट आउने भएकाले कृषिमा क्रान्ति गर्नुपर्छ र कृषि सामग्रीमा आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच कार्कीमा थियो।
यही सोचका साथ कार्कीले २०६७ बाट अनार, कागती, गोलभेडा, आलु, लसुन, प्याज खेतीका साथै कुखुरापालन पनि गरे। तर, बजारीकरणका लागि उत्पादित सामग्री बोकेर चरीकोटसम्म पुर्याउनुपर्ने बाध्यताले उनलाई कठिन बनायो। ‘त्यो बेलामा बेमौसमी गोलभेडा खेती गरेको थिए। वर्षात् लागेपछि बाटो बन्द हुँदा बजारसम्म सामग्री पुर्याउन नै नसकिने अवस्था बन्यो,’ कार्की सुनाउँछन्, ‘पहिरोले बाटो बन्द भएपछि गोलभेडा बोटमै कुहिएर सकिन्थ्यो।’
एकल लगानीमा व्यवसाय सुरु गरेका कार्कीले कृषिमा आइपर्ने समस्या, घाटा सबै आफैंले बेहोर्थे। अथक प्रयास गर्दा पनि बजार, पूर्वाधारलगायत समस्याले सोचेअनुरुप व्यवसाय अघि नबढेपछि उनमा निरासा उत्पन्न भयो। एकातर्फ कुखुरामा लाग्दै गएको घाटा र अर्कोतर्फ उत्पादित कृषि सामग्रीले बजार नपाउँदाको अनुभव आज पनि कार्कीलाई नमिठो लाग्छ।
लटरम्म फलाएका अनारमा किरा लागेपछि जिल्ला कृषि कार्यालयदेखि अनेकन ठाउँमा उनी पुगे। तर, उक्त समस्याको समाधान उनले कतैबाट पनि पाएनन्। लामो समयपछिको यो अवस्थाले अन्ततः कार्कीलाई कृषि पेसाबाट विमुख गरायो। यसपछि २०७० मा कृषि व्यवसाय छाडेर उनी ७ महिना सहरी विकास तथा भवन डिभिजन कार्यलय पाल्पामा रहेर ओभरसियरको रुपमा काम गरे।
‘विवाह गरेपछि १६–१७ हजार रुपैयाँको तलबले घरपरिवार चलाउन अपुग भयो,’ कार्की भन्छन्, ‘यसपछि एउटा जग्गा लिएर घर बनाए र त्यो घरमा किराना पसल सुरु गरें।’ किराना पसल सुरु गरेको ५८ दिनमा भूकम्प गयो र घर, पसलमा क्षति पुग्यो। ६ लाखमा बनाएको घर र ४ लाख लगानीको पसल गरी करिब १० लाख रुपैयाँको क्षति भयो।
एकातर्फ कृषि पेसातर्फको घाटा र अर्कोतर्फ घर–पसलमा पुगेको क्षतिले कार्कीको अवस्था निकै दयनीय भयो। यो अवस्थाबाट विक्षिप्त रहेका कार्कीको मनमा पुनः जागिर नै ठीक हो भन्ने लाग्यो र फेरि जागिरमा फर्कने निर्णय गरे। सिन्धुपाल्चोकमा सेवक नेपाल नामक संस्थाबाट पुनः उनको जागिरे जीवन सुरु भयो। ३५ हजार रुपैयाँमा मासिक तलबमा कार्कीले करिब ६ वर्ष काम गरे।
ठेकेदारी क्षेत्रमा पनि असफल
आफ्नो ६ वर्षे जागिर सकिने अवधिमा उनले ठेकेदारको काम थाले। यसबाट राम्रो हुन्छ भन्ने सोचले जागिर खाएको २–३ महिना अवधि बाँकी रहँदै अन्यसँग मिलेर एउटा योजना अघि बढाए। समूहमा काम गर्नुपर्छ भन्ने हिसाबले ५ जनाको सहकार्यमा उनीहरुले कामको थालनी गरे।
उनीहरुले खावाँ लहरे पानीको २ वटा र तामाकोसी मिल्तीको एक गरी ३ वटा ठेक्का लिएर काम गरे। पाँच जनाको समूह भएका कारण उनीहरुबीच मनमुटाव भयो र काम गर्न कठिनाइ भयो। ३ वटा ठेक्का सक्न २ वर्ष समय लाग्यो। त्यो समय सरकारी निकायको काम एकदमै झन्झटिलो भएको महसुस कार्कीले गरे।
हरेक काममा, पाइला–पाइलामा घुस दिनुपर्ने, धेरै समय खर्चिनुपर्ने अवस्थाबाट उनीहरु आजित भए। काम गरिसक्दा पनि भुक्तानी नदिने प्रवृत्तीले ३ वटा ठेक्काबाट ५ जनालाई ५ लाख ८५ हजारका दरले घाटा लाग्यो। पाँच जनाको समूह छुट्टिएर दुई जनामा सीमित भयो। तथापि, उनीहरुले ओमबुद्ध फर्मको कामको जिम्मा लिए। काम गर्दा पनि फर्मले पैसा नदिएपछि फेरि उनीहरु समस्यामा फसे।
त्यसपछि दोलखाकै झुलेमा १ करोड ५ लाखको काम कार्की एक्लैले सुरु गरे। यसमा पनि काम सकेको एक वर्षपछि पैसा भुक्तानी भयो। यो अवस्थाबाट उनलाई ठेकेदारी पेसा पनि ठीक लागेन र आफ्नै व्यवसाय सञ्चालन गर्ने योजना बुनेर परिवारसहित काठमाडौं हानिए।
क्याफेबाट मासिक डेढ लाखसम्मको आम्दानी
काठमाडौं पसेपछि पनि कार्की तीन महिना कामविहीन अवस्थामा बसे। यसबीचमा बीचमा पठाओ चलाउनेका काम पनि गरे। पठाओबाट दिनमा ४ हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो। त्यही क्रममा एउटा सानो दुर्घटना भयो। तर, प्रहरीमा जानकारी गराउँदा प्रहरीले झुटो रिपोर्ट बनाएर त्यहाँ पनि सताउने काम भएको कार्की गुनासो गर्छन्।
यसपछि क्याफे सञ्चाल गर्ने सोच बनाएर कफी बनाउने मेसिन खरिद गर्दा १५ दिनको निःशुल्क तालिम अवसर प्राप्त गरे। ‘दोलखाको झुलेमा व्यवसाय सञ्चालन गर्दा यातायात र बजारीकरण अभावले सफल हुन सकिनँ,’ कार्की भन्छन्, ‘तर, त्यसपछि काठमाडौं प्रवेश गरेर क्याफे व्यवसाय सुरु गरेको हुँ। अहिले विस्तारै सफलता मिल्दै गएको छ।’
कार्की आफूलाई सहज हुने र सन्तुष्टि मिल्ने पेसामा लागेर आवश्यक्ता पूरा गर्नुपर्ने धारणा राख्छन्। ‘मलाई पनि जागिरका अफर थुप्रै आए। तर, एउटा संस्थामा काम गर्दागर्दै पुनः अर्कोमा छाडेर जानुपर्ने र अरुको आदेशमा काम गर्नुपर्ने अवस्था कहिल्यै मन परेन,’ कार्की भन्छन्, ‘यही सोचका कारण आफैं लगानी गरेर आफ्नै व्यवसायको थालेको हुँ।’
कार्की सामान्य लगानी गरेर केही मिहिनेत गर्न नसके नेपालमै प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्। रोजगारका लागि बाहिर जाँदा खर्चिने ठूलोे रकम यहीँ लगानी गरे सफल हुन सकिने उनको दृढ आत्मविश्वास छ। कफीका विषयमा राम्रो ज्ञान नहुँदासमेत कफीसप खोलेका कार्की हाल मासिक एक देखि डेढ लाखसम्मको आम्दानी होइचिन क्याफेबाट हुने गरेको सुनाउँछन्।कार्की परिवारसँगै व्यवसाय चलाउँदा झनै सन्तुष्ट सुनिन्छन्।