काठमाडौं। विद्युतीय माध्यमको प्रयोग गरेर नेपालबाट दैनिक २४ हजार रुपैयाँ (१५ हजार भारु) सम्म सीधै भारत पठाउन पाइने भएको छ।
भारतीय श्रमिकले नेपालबाट दैनिक १५ हजार र महिनाभरमा १ लाख भारु (१ लाख ६० हजार रुपैयाँ) सम्म नगद पठाउन पाइने भएको हो।
नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत परिपत्र–२०८० संशोधन गर्दै नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलेको बैंक खाताबाट भारतस्थित आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा रकमान्तर गर्न सकिने सुविधा दिएको हो।
विद्युतीय बैंकिङ (इ–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्विक रेस्पोन्स (क्यूआर) कोडमार्फत राष्ट्रिय भुक्तानी स्विच (नेसनल पेमेन्ट स्विच) प्रयोग गरी रकम पठाउन राष्ट्र बैंकले शुक्रबार जारी परिपत्रमार्फत अनुमति दिएको छ।
यस्तै, नेपालबाट निर्यात भएको बस्तु तथा सेवाको भुक्तानी पनि परिवत्र्य मुद्रामा नेपाल पठाउन सक्ने सुविधा दिएको दिएको छ।
त्यति मात्रै होइन, यसअघि नै भारतबाट नेपाली श्रमिकले पनि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकले व्यवस्था गरेको इन्डो–नेपाल रेमिटेन्स फ्यासिलिटी स्किमका अतिरिक्त नेपाली नागरिकले सहजै विद्युतीय बैंकिङ, मोबाइल बैंकिङलगायत सुविधामार्फत सोझै रकम पठाउन पाउँछन्।
भारतले नेपालीको हकमा भने रकमको सीमा तोकेको छैन। नेपाल र भारतबीच अन्तरदेशीय क्रस बोर्डर क्यूआर कोड सेवा सुरु भइसकेको छ।