काठमाडौं। वैदैशिक रोजगार विभागले फागुनमा मात्रै ६५ हजार ६५८ नेपाली काम खोज्दै बिदेसिएको तथ्यांक सार्वजनिक गरेको छ।
विभागका अनुसार फागुनमा नयाँ तथा पुनः श्रम स्वीकृति लिएर साढे ६५ हजार बढी नेपाली युवायुवती कामको खोजीमा मुग्लान पसेका हुन्।
चालू आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ७१ हजार २१० पुगेको विभागको तथ्यांकमा उल्लेख छ। नेपालबाट प्रत्येक दिन २ हजार नेपाली रोजगारी खोजीमा बिदेसिने गरेका छन्।
फागुनमा बिदेसिनेमध्ये ६ हजार ७६८ महिला रहेको विभागको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष फागुनमा ६१ हजार ८४५ नेपाली रोजगार खोजीमा मुग्लान पसेका थिए।
यो वर्ष रोजगार गन्तव्य युएई बनेको छ। फागुनमा मात्रै १८ हजार ७०७ नेपालीले युएईका लागि श्रम स्वीकृति लिएका छन्।
यस्तै, साउदीमा १३ हजार २६७, कतार ११ हजार ३९० र मलेसियामा ८ हजार ४१७ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ।
युएई पुगेका १९ नेपाली अलपत्र
खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेबु्रअरी २३ तारिखमा वैदेशिक रोजगारी सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए। एकाघरका दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ) धन कमाउने सपनामा ऋण काढेर मेची इन्टरनेसनल ओभर्सिज प्रालि काठमाडौंमार्फत चार महिनाअघि युएई पुगेका हुन्।
प्रतिव्यक्ति एक लाख ९९ हजारका दरले एजेन्टलाई धरौटी रकम बुझाएर युएई पुगेका राई दाजुभाइसहित १९ नेपाली युवा तोकिएको काम र दाम नपाउँदा अहिले अलपत्र परेका छन्।
कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा उनीहरुसँगै सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारीमगर, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही, नवलपरासीका सुनिल श्रेष्ठ, मोरङका करन सरदार, तेह्रथुमका लक्ष्मीप्रसाद दुलाल, दैलेखका मनबहादुर शाही, झापाका मिश्रीलाल दास अलपत्र परेका हुन्।
यस्तै, धादिङका तिलकबहादुर सुनार, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, उदयपुरका मानबहादुर कार्की, गोरखाका आशबहादुर गुरुङ, मोरङका पदम नेपाल, नुवाकोटका लाक्पा तामाङ र कपिलवस्तुका मनोज थारु चार महिनादेखि अलपत्र परेका छन्।
वैदेशिक रोजगारीका नाममा ठगीमा परेका १९ नेपाली युवाले म्यानपावरबाट साँवा–ब्याज फिर्ता हुने गरी उद्धारको पहल गरिदिन सञ्चार माध्यमलाई आग्रह गरेका छन्। सरसफाइ कर्मचारीका काममा लगाउने भन्दै ती युवालाई फरक–फरक मितिमा युनिक स्टार जेनेरल सेक्युरिटी गार्ड सर्भिस र नुर अल अफसा जनरल क्लिनिक सर्भिस कम्पनीमा लगिएको थियो।
सम्झौतापत्रमा उल्लेख भएको कम्पनीमा नलगी अन्यत्र राखेर फरक–फरक काममा लगाउने गरेको उनीहरुले बताएका छन्। अलपत्र १९ नेपाली युवामध्ये १२ जनालाई सार्जा सेफजोनमा गोदामजस्तो घरमा राखेको बताइएको छ। अन्य सात युवा अन्यत्र राखिएका छन्।
म्यानपावर व्यवसायी राजकुमार चौधरी, श्याम विश्वकर्मा, निराजन पाण्डे, सन्दीप वाग्ले, शम्भुदास ताती र कुमार तामाङलाई एक लाख ३५ हजारदेखि दुई लाख २० हजार तिरेर युएई पुगेको उनीहरु बताउँछन्।