काठमाडौं। एभरेस्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर डिजिटल भुक्तानी सम्झौता भएको छ।सम्झौतापछि नेपाल र भारतबीच यात्रा गर्ने व्यवसायी, विद्यार्थी, पर्यटकलगायत विभिन्न व्यक्तिले सहज डिजिटल कारोबार गर्न सक्नेछन्।
एमओयू कार्यक्रममा बैंकका सीईओ सुदेश खालिङ र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान सहभागी थिए।
बैंकले रणनीतिक साझेदारीले दुई देशबीचको भुक्तानीलाई थप सहज बनाउने अपेक्षा गरेको छ। बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी ग्राहकले नेपाल र भारतबीचको कारोबर सहज र तत्काल गर्न सक्नेछन्।
सम्झौताले विशेषगरी हजारौं विद्यार्थी, लाखौं पर्यटक, तीर्थयात्री र भारतमा चिकित्सा उपचारका लागि जाने व्यक्तिले विशेष लाभ लिन सक्ने बैंकले जनाएको छ।
बैंकले हाल भारतीय नागरिकबाट क्युआर पेमेन्ट स्वीकृत गर्न थालिसकेको छ। भारतबाट नेपालमा यात्रा गर्दा भारतीय नागरिकले फोनपे, भिम एप, वा गुगल पेप एपजस्ता प्रसिद्ध प्लाटफर्म प्रयोग गरी कारोबार भुक्तानी गर्न सक्छन्।
बैंकले हाल १२८ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटीएम, ३२ राजस्व संकलन केन्द्रबाट बैंकिङ सेवा दिँदै आएको छ।