क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
सरकार र मिटरब्याज पीडितबीच फेरि जाँचबुझ आयोग गठन गर्नेसहित सातबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा फागुन २७ र २८ मा भएको वार्तापछि मिटरब्याज पीडितको समस्या समाधानका लागि ३ महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको हो। यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधानार्थ गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिने अवधिमा प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन्। सत्ता समीकरण फेरबदलपछि प्रधानमन्त्री दाहालले पछिल्लो पटक फागुन ३० मा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदको विश्वासको मत प्राप्त गरेका हुन्। प्रतिनिधिसभाको फागुन ३० को बैठकमा उपस्थित २६८ सांसदमध्ये दाहालको पक्षमा १५७ र विपक्षमा ११० मत परेको थियो।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले साढे ५ महिनापछि सरकारलाई प्रतिवेदन बुझाएको छ। जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले चैत १ मा सिंहदरबारमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जाँचबुझ प्रतिवेदन हस्तान्तरण गरेका हुन्। हङकङबाट तस्करी गरेर ल्याइएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे अध्ययन गर्न उक्त आयोग गठन गरिएको थियो। सुरुमा ३ महिना समय दिइएको आयोगको समयसीमा पछि दुईपटक थप गरिएको थियो। सुन तस्करी छानबिन प्रतिवेदन गृहमन्त्रीले चैत २ मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन्। प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले छानबिनले दोषी किटान गरेकालाई कारबाही गर्न निर्देशन दिएको गृहमन्त्री लामिछानेले बताए।
नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि १९ जनाको आवेदन परेको छ। बोर्ड अध्यक्ष सिफारिस समितिले जारी गरेको सूचनाअनुसार अन्तिम दिन फागुन ३० सम्म १९ जनाको आवेदन परेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिले फागुन १६ मा अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनमध्ये समितिले पहिलो चरणमा ५ जना छनोट गर्ने र दोस्रो चरणमा ३ जना छनोट गरी नियुक्तिका लागि सरकारलाई सिफारिस गर्नेछ। समितिले सिफारिस गरेका ३ जनामध्येबाट एक जना सरकारले बोर्ड अध्यक्षमा छनोट गर्नेछ।
कर्जा प्रवाह दुरुपयोग अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थुनामा राखेका १० बैंकर हाजिरी जमानीमा थुनामुक्त भएका छन्। सीआईबीले कर्जा दुरुपयोग आरोपमा तत्कालीन सेञ्चुरी कर्मसियल (प्रभु) बैंकका १० कर्मचारीलाई अदालतबाट तीनपटक म्याद थपेपछि अनुसन्धानका लागि १७ दिन थुनामा राखेर रिहा गरेको हो। सेञ्चुरी बैंकका पूर्वसीईओ, डिसीईओसहित १० कर्मचारीलाई गत फागुन १५ मा सीआईबीले प्रक्राउ गरी अनुसन्धान तथा छानबिनका थुना राखेको थियो। सीआईबीले कर्जा दुरुपयोगबारे अनुसन्धान गर्न बैंकरलाई थुनामा राख्न उच्च अदालत पाटनबाट तीनपल्ट म्याद थपेको थियो। अदालतबाट बैंकरलाई चैत ४ सम्म थुनामा राख्न पाउने म्याद लिए पनि अनुसन्धान लामो चल्ने भएपछि दैनिक हाजिरी जमानीमा थुनामुक्त गरिएको हो।
कोरिया रोजगारीमा नेपाली श्रमिक लक्षित तीन क्षेत्र थपिएका छन्। नेपालीका लागि आकर्षक रोजगार गन्तव्य रहँदै आएको दक्षिण कोरियाले सन् २०२४ देखि ६ वटा क्षेत्रमा नेपाली युवालाई रोजगारीका लागि लैजाने भएको हो। हाल कृषि, उत्पादनमूलक र पानीजहाज निर्माणतर्फ मात्रै नेपाली श्रमिक लगिँदै आएकामा कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्र क्रमशः वन, सेवाक्षेत्र र रुट इन्डस्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने घोषणा गरेको हो। भाषा परीक्षामा पास भएका र फर्किएर आएपछि कोरिया जान पुनः परीक्षा दिएर पास भएकालाई थप अवसर दिन कोरियाले ३ वटा नयाँ क्षेत्रमा श्रमिक लैजाने औपचारिक जानकारी गराएको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले संसारभर चैत १ मा प्रकाशित गरेको ‘गतिरोधको अन्त्यः ध्रुवीकृत विश्वमा सहकार्यको पुनर्कल्पना’ शीर्षकको सन् २०२३/२४ को मानव विकास प्रतिवेदनले मानव विकास सूचकांकमा नेपाल १९३ मध्ये १४६औं स्थानमा रहेको छ। सन् २०२१ मा नेपाल १४९औं स्थानमा थियो। सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकांकमा ०.०१० ले प्रगति गरेको छ। यूएनडीपी प्रतिवेदनले विश्वव्यापी मानव विकास सूचकांक (एचडीआई) मा आएको सुधारलाई आंशिक, अपूर्ण र असमान रहेको देखाएकोे छ। मानव विकास सूचकांकले कुनै पनि देशको प्रतिव्यक्ति कुल राष्ट्रिय आय, शिक्षा र औसत आयु मापन गर्छ। धनी राष्ट्रले विकासको लक्ष्य प्राप्ति गर्दा गरिबमध्ये पनि आधा गरिब राष्ट्र झनै पछि परेको प्रतिवेदनमा उल्लेख छ।
‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)को अनुदानमा बन्न लागेका तीन सबस्टेसन परियोजनाको बोलपत्र खुलेको छ। परियोजना निर्माण गर्न भारत, साउदी, अफगानिस्तान तथा टर्कीका सात कम्पनीले आवेदन दिएकामा ६ वटा प्राविधिक रुपमा सफल भएको एमसीए–नेपालले उल्लेख गरेको छ। प्राविधिक रुपमा सफल भएका कम्पनीमध्ये पाँच भारत र एक साउदीको छ।
अघिल्लो साता २०३०.५५ बिन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) चैत १ बिहीबारको अन्तिम कारोबार दिन २०८०.८७ बिन्दु कायम भएको छ। साताभरमा नेप्से ५०.३२ अंकले वृद्धि भएको छ। सेयर बजारमा यो साता कुल १५ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो साता भने १२ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको थियो।