काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुम्पिएका छन्।
आज बिहान बालुवाटार पुगेर जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन गृहमन्त्रीले प्रधानमन्त्रीलाई उपलब्ध गराएका हुन्। आयोगले बिहीबार प्रतिवेदन बुझाएलगत्तै गृहमन्त्रीले सुन तस्करीमा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीसँग भेट गरेका हुन्।
प्रधानमन्त्रीसँग भेट गरेलगत्तै उनले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई तस्करीमा संलग्नलाई पक्राउ कसरी गर्ने भन्नेबारे विमर्श गरेको बुझिएको छ। सुरुमा भन्सार विभागले छानबिन गरिरहेको ६० केजी सुन तस्करी प्रकरणलाई निष्कर्षमा लैजान सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई सुम्पिएको थियो।
तर, सीआईबीले सुन तस्करी प्रकरणमा संदिग्ध सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरु क्रमशः कृष्णबहादुर महरा, हालका अर्थमन्त्री वर्षमान पुन, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलगायतसँग बयान नलिई प्रतिवेदन तयार पारेपछि त्यसको विश्वसनीयतालाई लिएर प्रश्न उब्जिरहेका छन्।
पूर्वउपराष्ट्रपतिको सचिवालय नै सुन तस्करी प्रकरणमा संलग्न भएका समाचार विभिन्न सञ्चार माध्यममा आइरहे पनि सत्तारुढ हुनुको नाताले नेकपा माओवादी केन्द्रका नेताहरुमाथि छानबिन नगरिएको बताइन्छ। यद्यपि महराका छोरा राहुललाई सीआईबीले सुन तस्करी प्रकरणबारे सामान्य सोधपुछ गरेर केही महिनाअघि छाडेको थियो।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले करिब ५ महिनाको छानबिनपछि गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।
हङकङबाट तस्करी गरेर ल्याइएको ६० किलो र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याइएको सुनबारे आयोगले छानबिन गरेको थियो। विद्युतीय चुरोट (भेप) र सवारीसाधनका ब्रेक–सु लगायतमा लुकाएर ल्याएको सुनसम्बन्धी छानबिन गरी संलग्नमाथि कारबाही सिफारिस गर्न सरकारले गत असोज १४ मा पूर्वन्यायाधीश आचार्य अध्यक्षताको ४ सदस्यीय आयोग गठन गरेको थियो। आयोगले आज गृहमन्त्री लामिछानेलाई प्रतिवेदन सुम्पिएको हो।
गृहमन्त्रीले आयोगले आफूलाई बुझाएको प्रतिवेदन प्रधानमन्त्री दाहाललाई बालुवाटार निवास पुगेर बुझाएका हुन्।प्रधानमन्त्रीले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्न आफूलाई निर्देशन दिएको गृहमन्त्री लामिछानेले प्रतिवेदन बुझाएपछि पत्रकारलाई जानकारी दिए।
सुन तस्करीमा आयोगले किटान गरेका व्यक्तिलाई कारबाही गर्न कसैको दबाब र प्रभावमा नपरी अघि बढ्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको भनाइ छ।
‘सुन तस्करी नियन्त्रण गर्न र तस्करीमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय संयन्त्र परिचालनका लागि प्रधानमन्त्रीले गृहमन्त्रीलाई निर्देश गरेको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।
प्रधानमन्त्रीले यसअघि पनि बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरणजस्तै सुन तस्करी प्रकरणमा संलग्नलाई पनि बेरोकतोक कारबाही गर्न गृहमन्त्रीलाई निर्देशन दिएको उनले जानकारी दिए।
आयोगले सुन तस्करीमा संलग्नताको आरोपमा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ। इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ।