काठमाडौं।आगामी चैत मसान्तको वित्तीय विवरणमा सबै बैंक तथा वित्तीय संस्थाहरूले जोखिम व्यवस्थापन (प्रोभिजन)पछिको निष्कृय कर्जा विवरण सार्वजनिक गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंकहरूले प्रोभिजनपछिको ‘नेट एनपिएल’लाई पनि अपरिस्कृत वित्तीय विवरणमा राखेर सरोकारवालालाई सूचित गर्नुपर्ने व्यवस्था गरेको हो।
नियामक निकायले बैंकका मूल्यांकन विधि थप गर्दै वाणिज्य निष्कृय कर्जा विषयमा नेपालका बैंकहरू सहज अवस्थामै रहेको तथ्यांक सार्वजनिक गरिसकेको छ। बैंक तथा वित्तीय संस्थाले उठाउन नसकेको कर्जामा नियामकीय प्रावधानअनुसार प्रोभिजन गरेपछिको खुद निष्कृय कर्जा औसत १.१३ प्रतिशत मात्रै रहेको तथ्यांक राष्ट्र बैंकले बैंकहरूको प्रमुख वित्तीय सूचकको रिपोर्ट सार्वजनिक गरेको हो।
चालू वर्षको दोस्रो त्रैमासमा प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा बैंकहरूको एनपिएल औसत ३.६० प्रतिशत थियो। तर, राष्ट्र बैंकले बैंकहरूमा ग्रस एनपिएल र नेट एनपिएललाई नै प्रमुख वित्तीय सूचक मानेर वाणिज्य बैंकहरूको पुस मसान्तसम्मको प्रमुख वित्तीय सूचकको तथ्यांक सार्वजनिक गरेको छ।
नेट एनपिएल नै बैंकहरूमा रहेको वास्तविक निष्कृय कर्जा तथ्यांक हुँदा यस्तो तथ्यांक सार्वजनिक गरिनुपर्ने आवश्यकता देखेर गरिएको राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए।
‘बैंकहरूले वित्तीय विवरण प्रकाशित गर्दा एनपिएल भनेर राख्ने तथ्यांक भनेको प्रोभिजनअघिको हो, जुन धेरै हुन्छ,’ सह–प्रवक्ता पोखरेलले भने, ‘तर, बैंकहरूमा रहेको वास्तविक एनपिएल भनेको प्रोभिजनपछिको नेट एनपिएल नै हो। अहिलेसम्म बैंकहरूले नेट एनपिएलको तथ्यांक राष्ट्र बैंकमा मात्रै रिपोटिङ गर्ने गरेका थिए। अब त्रैमासिक वित्तीय विवरणमा पनि राखेर सार्वजनिक गर्नेछन्।’
यस्तो नेट एनपिएल राखेर हालसम्म नबिल बैंकले मात्रै वित्तीय विवरण सार्वजनिक गरिरहेको थियो। तर, अब राष्ट्र बैंक सुपरिवेक्षण विभागमा गरिने रिपोर्टिङकै आधारमा त्रैमासिक वित्तीय विवरणमा समेत नेट एनपिएल राखेर सार्वजनिक गर्नेछन्।
राष्ट्र बैंकले बैंकहरूद्वारा प्रवाहित कर्जाको साँवा ब्याज निर्धारित समयमा उठाउन नसके त्यस्तो कर्जालाई वर्गिकरण गरेर प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ। नेपाल फाइनान्सियल रिपोर्टिङ सिस्टम (एनएफआरएस) मा रहेर बैंकहरूले कर्जाको वर्गीकरणको आधारमा प्रोभिजन गर्नुपर्ने कर्जालाई कुल एनपिएलमा राखेर वित्तीय विवरण प्रकाशित गर्नुपर्छ।
सोही कुल एनपिएल मूल्यांकनको आधारमा बैंक तथा वित्तीय संस्थाको अवस्था राम्रो वा खस्किँदो भन्ने मूल्यांकन गर्ने गरिएको छ। तर, राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थाको वास्तविक एनपिएन कुल नभए जोखिम व्यवस्थापनपछिको मात्रै रहेको भन्दै सोहीअनुसारको तथ्यांक सार्वजनिक गरेको हो।
राष्ट्र बैंकले प्रवाहित कर्जालाई असल १.२५ प्रतिशत, वाच लिस्ट ५ प्रतिशत, शंकास्पद २५ प्रतिशत, कमसल ५० प्रतिशत र खराब कर्जामा शतप्रतिशत प्रोभिजन गर्नुपर्ने गरी ५ वर्गमा राखेको छ।
ग्रस एनपिएलभन्दा नेट एनपिएल बढी वा घटीको तथ्यांकले बैंकहरूको वित्तीय स्वास्थ्य वा उक्त बैंकको खराब कर्जा व्यवस्थाको अवस्था थाहा हुने सह–प्रवक्ता पोखरेलको भनाइ छ। ‘प्रोभिजन गरिसकेपछि जोखिममा रहेको कर्जा वा खराब कर्जा कति भन्ने वास्तविक तथ्यांक थाहा हुन्छ। नेट एनपिएल महत्त्वपूर्ण इन्डिकेटर हो, जुन अहिलेसम्म राखेका थिएनौं। यसले बैंकहरूको वास्तविक अवस्था देखिन्छ,’ उनले भने।
नेट एनपिएल भनेको बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जामध्ये कुल १ हजार बराबरको कर्जा एनपिएल भए त्यसमा ६ सय प्रोभिजन हुँदा बाँकी ४ सय रुपैयाँ मात्रै नेट एनपिएल हो।
वाणिज्य बैंकहरूमा ग्रस एनपिएल सबैभन्दा धेरै कुमारी बैंकमा ४.९७ प्रतिशत र सबैभन्दा थोरै एभरेष्ट बैंकमा ०.७७ प्रतिशत छ। तर, यस्तो कर्जामा प्रोभिजन गरेपछि रहेको नेट एनपिएल भने सबैभन्दा धेरै सिटिजन्स बैंकमा १.९१ प्रतिशत र सबैभन्दा थोरै नेपाल एसबिआई बैंकमा ०.१४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
एनएफआएसको ढाँचामा बैंकहरूले वित्तीय विवरण प्रकाशित गर्दा कुल (ग्रस) एनपिएल राख्नुपर्ने उल्लेख छ। तर, राष्ट्र बैंकमा वित्तीय विवरण पठाउनुपर्दा नेट र ग्रस दुवै एनपिएलको तथ्यांक राखेर रिपोर्टिङ गर्नुपर्छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नेट एनपिएल र ग्रस एनपिएलमा २.५० प्रतिशत बिन्दुको फरक परेको देखिन्छ।
राष्ट्र बैंकले प्रवाहित कर्जालाई असल १.२५ प्रतिशत, वाच लिस्ट ५ प्रतिशत, शंकास्पद २५ प्रतिशत, कमसल ५० प्रतिशत र खराब कर्जामा शतप्रतिशत प्रोभिजन गर्नुपर्ने गरी ५ वर्गमा राखेको छ। कर्जा प्रवाह भएर ३ महिनासम्म असल कर्जाको वर्गीकरणमा परेको कर्जा त्यसपछि पनि साँवा ब्याज भुक्तानी नभए एनपिएलमा गणना हुन्छ।