नोटको प्रयोग घट्दै गएकाले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतीय भुक्तानी गर्न तयार हुनैपर्छ। बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबार पनि कम हुँदै गएकाले सहकारीहरुले प्रविधि पछ्याउनैपर्छ। सहकारीमा समस्या आएको विषय बेग्लै भयो। त्यसलाई नियामक निकायले तुरुन्तै हेर्नुपर्छ। गलत गर्नेलाई कारबाही गर्नैपर्छ।
जसले नोट बोक्छ, उसले सँगै जोखिम पनि बोक्ने भन्दै प्रविधिमा जोडिन आवश्यक भइसकेको छ। अब एटीएम मेसिनको अस्तित्व सकियो। अब नोटको प्रयोग नै हुँदैन। नोट बोकेका छौं भने जोखिम बोकेका छौं। अहिले बैंक ब्रान्चलेस भइसके। सहकारीमा पनि अब सेवा केन्द्र आवश्यक छ कि छैन बुझ्नुपर्छ। सहकारीको कारोबार डिजिटल हुन सक्यो भने पारदर्शिता कायम भई क्रमशः समस्या समाधान हुने दिशातिर अगाडि बढ्छ।
सहकारी वित्तीय कारोबार मात्रै नभई सामाजिक पुँजी निर्माण र सहकार्य भएको हुँदा कारोबार भौतिक रूपमा नभए पनि सदस्य भने भौतिक रुपमा उपस्थित हुनुपर्छ। केन्द्रीय बैंकबाट डिजिटल करेन्सी निकाल्ने कुरा आइरहेको छ। राष्ट्र बैंकले छिटो डिजिटल करेन्सी ल्याउनुपर्छ। भुक्तानी गर्नप¥यो भने राष्ट्र बैंकको वेबसाइटमा गएर कारोबार गर्नुपर्छ। डिजिटल करेन्सी कारोबारका लागि आफू सक्षम हुनुपर्छ। नभए हराएर जानुको विकल्प रहन्छ। त्यसकारण सहकारी सूचना प्रविधिमा अगाडि बढ्नुपर्छ।
सहकारी क्षेत्रले सदस्यलाई सूचना प्रविधिमा पनि अगाडि बढाउनुपर्छ। अब स्मार्ट सहकारीतर्फ अगाडि बढ्नुपर्छ। कारोबार स्मार्ट हुनुपर्छ। सबैको आफ्नै मोबाइल एप हुनुपर्छ। यो काम गर्न सकेनन् भने सहकारीको अस्तित्व नै नामेट हुन्छ। बहुउद्देश्यीय सहकारीको काम छैन। एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न मिल्दैन।
सामाजिक सञ्जाल उपयोग गरेर सदस्यलाई सहकारीको गतिविधिका जानकारी दिने वातावरण बनाउन आवश्यक छ। साधारणसभाको सूचनामा कार्यालयको ढोकामा टाँस्ने र घरमा पत्र पठाउने प्रचलनको अन्त्य हुनुपर्छ। कतिपय सहकारीको साधारणसभा सकिएपछि सदस्यकहाँ सदस्यले नै सूचना पाउने गरेका छन्। समाजमा इन्टरकनेक्ट हुन प्रविधिमा जान आवश्यक छ।
सन् २०३० सम्मको सहकारी कस्तो हुने, कस्ता प्रविधि प्रयोग गर्ने र सदस्यलाई सेवा दिने भनेर सोच्ने बेला आइसकेको छ। उत्पादन, वितरण र उपभोक्ता क्षेत्रमा काम गर्ने सहकारीबाहेकका सहकारीलाई क्षेत्रगत र उद्देश्य केन्द्रित बनाउन जरुरी छ। सदस्यको हितमा काम नगर्ने सहकारीको भविष्य छैन। नाफामुखी, सदस्य र समुदाय केन्द्रित नरहेका सहकारीको काम छैन। सामाजिक पुँजी निर्माण गरी सदस्य केन्द्रित संस्था समाजमा आवश्यक छ।
(पूर्वअर्थमन्त्रीसमेत रहेका डा. खतिवडाबाट राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित पहिलो डिजिटल कन्क्लेभमा व्यक्त विचार)